१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ४ मंगलबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीले सुरक्षा अंगको चेन अफ कमान्ड ब्रेक गरे : सांसद केसी

सय दिनको उपलब्धि दैनिक कामको फेहरिस्त मात्रै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १४:५९:oo

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो आशाअनुरूप काम गर्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा केसीले गृहमन्त्रीको सय दिनको उपलब्धिमा दैनिक भइरहने कामका  फेहरिस्तबाहेक केही नरहेको बताएका हुन्।

उनले भने, ‘मैले गृह मन्त्रालयको सय दिनको उपलब्धि २९ पेजको सबै पढेँ । दैनिक नगरी नहुने कामकारबाहीको फेहरिस्त छ। तर, नयाँ ढंगले जुन उत्साह र  प्रतिबद्धताका साथ, जुन जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको टिम प्रवेश गरेको थियो, मैले सय दिनको कार्यक्रममा कुनै पनि कुरा पाइनँ।’

सय दिनमा १७–१८ पटक गरी ३४ सयभन्दा बढी प्रहरीको सरुवा भएको तथा ६६ सिडिओ र सहायक  सिडिओ परिवर्तन भएको उल्लेख गर्दै सांसद केसीले भने, ‘उहाँमाथि विश्वास गरेरभन्दा हामीले गर्न नसकेको जुन काम  हो त्यो अब टुट्छ, जो नयाँ आए पनि अब पद्धति बसाल्छन् भने त्यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने दृष्टिकोण राख्ने मान्छे हुँ म । तिम्रा पालोमा पनि त्यस्तै थियो भनेर हुँदैन।’

आफूले आशाका साथ गृहमन्त्रीको सय दिनको कामलाई धैर्यतापूर्वक हेरे पनि गृहमन्त्रीले आशाविपरीत सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने कामहरू गरेको उनको आरोप छ।

‘सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जब कि प्रहरी नियमावलीमा विशेष परिस्थिति र काममा खोट देखिए परिवर्तन गर्न सकिन्छ, नत्र एक वर्षसम्म परिवर्तन गर्न हुन्न भन्ने छ,’ केसीले भने, ‘अहिले सरुवाआतंक मात्र होइन, प्रहरीभित्र चेन अफ कमान्डलाई लाचार र निरीह बनाउने खालको जुन काम गरिएको छ, त्यो गृहमन्त्रीजीबाट आशा गरिएको काम होइन।’