१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिकसँग अपेक्षा छैन, छन् गुनासा मात्रै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:३२:oo

इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा हुने उपनिर्वाचन नजिकएपछि दलका उम्मेदवार चुनावी प्रचारको अन्तिम कसरतमा छन्। यसबीचमा उम्मेदवार निर्वाचन क्षेत्रका नागरिकको घर–घरमा पुगिसकेका छन्।

चुनावी मैदानमा रहेका १९ उम्मेदवारमध्ये केही उम्मेदवारले त जनताको घर नै देखेनन्। तर, जनताका घर–घर पुगेका उम्मेदवारले भने विकासे आश्वासनको भारी पुर्‍याए। सधैँको निर्वाचनमा जनताले उम्मेदवारसँग आफ्ना अपेक्षाहरू राख्थे। 
उनीहरूले निर्वाचनलाई आफ्ना कुरा राख्ने अवसरका रूपमा लिन्थे। तर, यसपटक मतदातालाई उम्मेदवारसँग खासै अपेक्षा छैन। उनीहरूले आफ्ना अपेक्षा राखेका छैनन्। 

तर, विगतमा नगरेका कामको गुनासो उम्मेदवारसँग गरिरहेका छन्। ‘०४८ देखि सधैँ भोट हाल्दै आएको छु। त्यतिवेला देखि नै भोट माग्न आएकाले विकासले कायापलट गरौँला जस्तै गर्थे, तर जितेर गएपछि गाउँमा अनुहार पनि देखाउँदैनन्,’ माङ्सेबुङ– ३ लारुम्बाका ८५ वर्षीय मानवीर लिम्बूले भने, ‘यसपटक पनि पहिलाको जस्तै कुरा लिएर नेताहरू भोट माग्न आएका छन्। अब त काम गर्छन् भन्ने विश्वास नै छैन।’

चुलाचुली– ३ का दिनेश फियाकले तीन दशकभन्दा लामो समयदेखि मतदान गर्दै आएका छन् । सधैँ उम्मेदवारले चुनावमा चुलाचुलीवासीलाई सुखी बनाउने प्रतिबद्धता गर्छन्। प्रशासनिक कामका लागि इलाम पुगेर आउने एक दिन लाग्छ। गाउँमै प्रशासनिक केन्द्र ल्याउने, खानेपानी ल्याउनेलगायतका एजेन्डा प्रत्येक निर्वाचनमा उम्मेदवारका उठाउँछन्। तर, यो एजेन्डा कहिल्यै पूरा हुँदैन। ‘पहिला त उम्मेदवार भेट्नेबित्तिकै हाम्रा आवश्यकताहरू राख्थ्यौँ। अहिले त नेता आउँदा उनीहरूका कुरा सुन्न पनि वाक्क लाग्छ,’ दिनेशले भने, ‘गुनासो धेरै छन्। अब अपेक्षा गरेर मात्र के गर्नु कहिल्यै पूरा हुँदैन।’

माङ्सेबुङ– ६ की शर्मिला राईलाई यसपटक उम्मेदवारका कुरा सुन्ने खासै मन छैन। सधैँ प्रतिबद्धता गर्ने, तर कहिल्यै पूरा नहुने उनको गुनासो छ। ‘यसरी उम्मेदवारका कुरा सुनेको धेरै वर्ष भयो। तर, उनीहरूले गरेका कुरा कहिल्यै पूरा गरेनन्। हामीसँग गुनासा छ भनेर भन्न पनि मन छैन। गुनासो राखेर के गर्ने ?,’ उनले भनिन्, ‘भोट हाल्ने अधिकार हाम्रो हो। मत नै नहाल्ने भन्ने छैन । तर, हामीलाई कोहीसँग अब विश्वास भने छैन।’

केही दिनअघि इलाम सदरमुकाम इलाम बजारमा दैनिकजसो विभिन्न दलको आमसभा भए। त्यही आमसभा भएको नजिकै मकै बेच्दै थिइन् इलाम नगरपालिका­­ ­–९ की ८५ वर्षीय कुन्तादेवी चौहान। आफ्नै उत्पादन बेच्न आएकी उनलाई नेताका भाषणप्रति खासै चासो थिएन। उनी आफ्नो उत्पादन बेच्न व्यस्त थिइन्। 

‘सबै नेताले एउटै कुरा गर्छन्। यी कुरा पूरा हुने भए मैले बुढेसकालमा यसरी बजारमा सामान बेच्न बस्नुपर्ने थिए। यस्ता कुरा त मैले भोट हाल्न थालेदेखि सुनेकी हो,’ उनले भनिन्, ‘यसपटक पनि पहिलाको जस्तै भन्दै भोट मागिरहेका छन्। सधैँ भन्ने एउटै कुरा त हो नि ! भोट त दिन्छौँ। तर, उनीहरूको कुरा विश्वास गर्न लायकका छैनन्।’

इलाम बजारमै कुन्तादेवीसँगै केरा बच्दै गरेकी इलाम नगरपालिका– ­८ की ६९ वर्षीया राधिका राउतलाई चुनाव जितेर नेता गाउँ नफर्किएको गुनासो छ। ‘बोलेका कुरा त खासै पूरा गर्दैनन्। चुनाव जितेर गएपछि नेताहरू गाउँसम्म आउँदैनन्। यसपटक त भोट माग्नेका कुरा खासै सुनेका छैनौँ,’ उनले भनिन्, ‘भोट त हामीले पाएको अधिकार हो। भोट जसरी हाल्छौँ। तर, मन खुसी छैन।’

 

ad
ad