१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले गुमायो इमर्जिङ एसिया कप खेल्ने अवसर

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१३:oo

एसिया कपमा विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको नेपालले इमर्जिङ कपमा भारत र पाकिस्तानका ‘ए’ टिमसँग खेल्ने अवसर पनि गुमायो 

हङकङसँग चार विकेटले पराजित हुँदा नेपाली राष्ट्रिय पुरुष टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएको छ । शनिबार भएको प्लेअफ खेलमा नेपाल हङकङसँग बलिङ र ब्याटिङमा चुक्यो । शुक्रबार एसिसी प्रिमियर कपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्ससँग ६ विकेटले पराजित हुँदै साबिक विजेता नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो । नेपाल भोलिपल्टै इमर्जिङ एसिया कप खेल्ने अवसरबाट पनि टाढा रह्यो । एसिया कपमा विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्ने अवसर गुमाएको नेपालले इमर्जिङ कपमा भारत र पाकिस्तानका ‘ए’ टिमसँग खेल्ने अवसर पनि गुमायो । कप्तान रोहितकुमार पौडेलले प्रतियोगिता भर ब्याटिङ नचल्दा लगातार हार व्यहोरेको बताए । ‘हामीले पछिल्लो एक वर्ष निकै राम्रो ब्याटिङ गरेका थियौँ । तर, पछिल्लो दुई खेलसहित यो प्रतियोगितामै राम्रो ब्याटिङ हुन सकेन ।’

इमर्जिङ कपमा फाइनलमा स्थान बनाएका युएई र ओमानसँगै हङकङले पनि स्थान बनाएको छ । शीर्ष तीन राष्ट्रले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग खेल्नेछन् । प्रिमियर कपको तेस्रो स्थानको खेलमा नेपालविरुद्ध हङकङका अंशु रथले सानदार प्रदर्शन गरे । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा हङकङ सफल भएको हो । अन्तिम ओभर लिएर आएका ललितनारायण राजवंशीलाई पहिलो बलमै नास्रुल रानाले चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा हङकङले समान दुई रन जोड्दै जित दिलाएका हुन् । ओमानको अल अमेरात मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाउँदै एक सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन बनाएको हो । समूह चरणको खेलमा नेपालले हङकङलाई आठ विकेटले हराएको थियो । 

नेपालको सम्मानजनक स्कोर
आठौँ नम्बर क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले २९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन बनाएपछि नेपालले हङकङविरुद्ध सम्मानजनक स्कोर बनाएको थियो । टस जितेर ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब रह्यो । ओपनर कुशल भुर्तेल दुई बल खेली शून्यमै पेभिलियन फर्किएका थिए । उनी लगातार दोस्रो खेलमा डकआउट भएका हुन् । आसिफ सेख पाँच रन बनाएर आउट भएका हुन् । करण केसी आउट हुँदा १६.२ ओभरमा नेपाल ९८–८ को स्थितिमा थियो । क्रिजमा रहेका दीपेन्द्रले नेपालको इनिङ्स उकासेका हुन् । सन्दीप जोराले २३ बलमा २२ रन, कप्तान रोहित पौडेलले १९ बलमा २१ रन, र सोमपाल कामीले ११ बलमा ५ रन, कुशल मल्लले १४ बलमा १३ रन जोडेका हुन् । गुल्सन झा ६ रन बनाएर आउट भए । नेपालको इनिङ्समा दीपेन्द्र र ललितले २२ बलमा अविजित ४१ रनको सर्वाधिक साझेदारी गरेका थिए । हङकङका लागि आयुष शुक्लाले सर्वाधिक तीन विकेट लिए । उनले तीन ओभरमा मात्र १७ रन खर्चिएका थिए । त्यस्तै, अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले समान एक विकेट लिएका थिए । 

अंशुमन रथको अर्धशतक 
हङकङको जितमा ओपनर अंशुमन रथले अविजित ६५ रन बनाएका हुन् । उनी ५० बलमा चार चौका र दुई छक्कासहित अविजित रहे । उनले नै नेपाली बलरलाई दबाबमा राख्दै जित दिलाउन महŒवपूर्ण भूमिका खेलेका हुन् । हङकङलाई अन्तिम दुई ओभरमा जितका लागि १६ रन आवश्यक थियो । जसमा अंशुमन र राना सफल भएका हुन् । दुवै ओभरमा हङकङले समान आठ रन जोडेको थियो । राना आठ बलमा ११ रनसहित अविजित रहे । 

त्यस्तै, बाबर हायतले २५ बलमा दुई छक्कासहित २६ रन बनाएका हुन् । अंशुमन र बाबरले तेस्रो विकेटका लागि ४४ बलमा ४५ रनको साझेदारी गरेका थिए । एइजाज खानले १० बलमा १२ रनको योगदान गरेका थिए । 

नेपालका लागि सोमपाल कामीले चार ओभरमा ३३ रन दिँदै तीन विकेट लिए । सोमपालले १.३ ओभरमा यासिम मुर्तजालाई नौ रन बनाउँदा सन्दीप जोराबाट क्याच गराउँदै दबाब सिर्जना गरेका थिए । तर, त्यसपछि अंशुमनले सम्हालिएको प्रदर्शन गरेका हुन् । नेपालका लागि दीपेन्द्रले चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका हुन् । करण केसी, ललित, गुल्सन र अभिनाश बोहरा विकेटविहीन रहे । 

 

ad
ad