१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अर्धचेत अवस्थामा मोहम्मद अरबी खाँकी पत्नी साबिया खाँ ।
२o८१ बैशाख १७ सोमबार o८:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दुई सातादेखि शोकमै छ अरबी खाँको परिवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१४:oo

दुई साता बित्दासमेत प्रहरीले नेपालगन्ज उपमहानगरपालिका– २१, बिर्ताका मोहम्मद अरबी खाँको हत्यारा पत्ता लगाउन नसकेपछि पीडित परिवारमा झन् पीडा थपिएको छ । हत्या भएको १६ दिन बित्दासमेत खाँको हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न नसकेपछि पीडित परिवारले प्रहरीको अनुसन्धानमाथि नै आशंका गरेका छन् । 

१८ चैत राति बिर्ताका २२ वर्षीय मोहम्मद अरबी खाँको घाँटी रेटेर हत्या भएको थियो । उनको शव १९ चैत बिहान घरदेखि एक किलोमिटर पूर्व इँटाभट्टानजिक फेला परेको थियो । घाँटी र पेटमा गम्भीर चोट लागेको अवस्थामा फेला परेका खाँको साथमा रहेको मोबाइल सेटसमेत गायब भएकाले सुनियोजित तरिकाले उनको हत्या गरिएको प्रहरीले आशंका गरेको छ । ‘प्रहरीले अनुसन्धान गरिरहेका छौँ भन्छ, तर १६ दिन बित्दासमेत अपराधी पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुसन्धानमा हेलचेक्र्ययाइँ गरिरहेको छ कि भन्ने आशंका छ,’ मृतक खाँका काका अब्दुल रहमान खाँले भने, ‘अनुसन्धानको नाममा परिवारका सदस्यलाई प्रहरीले झुक्याइरहेको छ भन्ने हामीलाई लागेको छ ।’

प्रहरीले चाहेको भए तत्काल पक्राउ गर्न सक्ने बताउँदै उनले विभिन्न बहाना बनाएर दुःख दिइरहेको गुनासो गरे । ‘अनुसन्धान भइरहेको छ नआत्तिनुस भनेर आश्वासनमात्र दिन्छ । १६ दिन बित्दासमेत पक्राउ नगर्नुले प्रहरीको अनुसन्धानमाथि आशंका गर्ने ठाउँ उब्जिएको छ,’ उनले भने । 

वास्तविक अपराधी पत्ता लगाउन र निर्दोषलाई नफसाउन परिवारजनले प्रहरीसँग आग्रह गरेका छन् । वास्तविक अपराधी फेला नपर्दासम्म शव नबुझ्ने मृतकका परिवारले अडान लिए पनि प्रहरीको आग्रहमा शव बुझेको निवर्तमान वडाध्यक्षसमेत रहेका हजुरबुबा रञ्जित खाँले बताए । ‘हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा थियौँ । हाम्रो महान् तथा पवित्र पर्व इद परेकाले शव बुझेर अन्तिम संस्कार गर्‍यौँ, इद नपरेको भए शव बुझ्ने थिएनौँ,’ उनले भने ।

हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न नसकेपछि थप अनुसन्धानका लागि प्रहरीले सिआइबीलाई गुहारेको छ । मोहम्मद अरबीको शव फेला परेदेखि नै सिआइबीसँग समन्वय गरेर अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । ‘सिआइबीसँग समन्वय गरेर अनुसन्धान भइरहेको थियो । थप अनुसन्धान गर्न आवश्यक परेकाले सिआइबीको टोली बोलाएका छौँ । काठमाडाैंबाट आएको सिआइबीको टोलीले अनुसन्धान थालिसकेको छ । आशंकाको घेरामा रहेकाहरूलाई सोधपुछ गर्ने र उनीहरूको निगरानी गरिरहेका छौँ,’ डिएसपी डाँगीले भने । २२ वर्षीय छोरा अरबी खाँको घाँटी रेटेर हत्या भएपछि उनकी आमा राबिया खाँको आँखाबाट आँसु रोकिएको छैन । उनको दिनरात रोएरै बित्छ । घरीघरी अर्धचेत भएर ढल्छिन् । बेहोसीमै बर्बराउँछिन् । 

श्रीमान्को हत्या भएको दिनदेखि मोहम्मद अरबी खाँकी १८ वर्षीया पत्नी साबिया खाँको पनि आँसु सुकेको छैन । पत्रकारसँग कुरा गर्दैगर्दा उनी बेहोस भएर सासू राबियाको काखमा ढलिन् । ‘पतिलाई सम्झिनेबित्तिकै बुहारी बेहोस हुन्छिन् । रातदिन रोइरहन्छिन् । खाना पनि खाँदिनन् । नसुतेर रात बिताउँछिन्,’ काका ससुरा रहमानले भने । राबिया र मोहम्मद अरबीको विवाह १९ महिनाअघि इस्लाम परम्पराअनुसार भएको थियो । अरबीको हत्या भएको रात उनी माइतीमा थिइन् । विभत्स तरिकाले हत्या भएपछि खाँ परिवार मात्र नभई पूरै गाउँ अहिले शोकमा छ । 

ad
ad