१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
पर्यटकीय क्षेत्र ठमेललाई २४सै घन्टा खुलाउने घोषणा गर्न ठमेल पुगेका गृहमन्त्री लामिछाने ।
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

यात्रु, चालक र प्रहरीसँग मनाए गृहमन्त्रीले नयाँ वर्ष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२१:oo

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यात्रु, चालक र प्रहरीलाई लड्डु बाँडेर नयाँ वर्ष मनाएका छन् । उनले शनिबार बिहान थापाथली चोकमै पुगेर सुरक्षाकर्मी, सवारीचालक, यात्रुलाई लड्डु बाँडेका हुन् । 

प्रहरी ‘स्कर्टिङ’सहित थापाथली पुगेका गृहमन्त्री लामिछानेले आफू सवार गाडी सडकमै रोक्न लगाएका थिए । लड्डुको प्याकेटसहित सडकमा उत्रिएका उनले पहिलो चरणमा ट्राफिक प्रहरीलाई बाँडे ।त्यसपछि उनी सडकमा रोकिएका सवारीसाधननजिक पुगे । सवारीसाधनको झ्याल खोल्न लगाउँदै उनले चालकलाई पनि लड्डु बाँडे । उनी यतिमै रोकिएनन् । सडकमा गुड्दै गरेको एक बसलाई पनि रोक्न लगाए । उक्त बसमा यात्रारत यात्रुलाई पनि लड्डु बाँडे । उनले लड्डु बाँड्न थालेपछि बस, माइक्रोबस, ट्याक्सी, टेम्पोलगायत सवारीसाधन सडकमा रोकिएका थिए । ट्राफिक जाममा रहेका मोटरसाइकल तथा कार चालकले पनि उनले बाँडेको लड्डु खान भ्याए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले शुभकामना आदान–प्रदान गर्ने क्रममा गृहमन्त्रीले शनिबार बिहान लड्डु बाँडेको बताए । उनले भने, ‘नयाँ वर्षको शुभकामना अदान–प्रदान गर्ने क्रममा गृहमन्त्रीज्यू थापाथली चोकमा पुग्नुभएको थियो । उहाँले सडकमा खटिएका सुरक्षाकर्मी, सवारीचालक, यात्रुलाई लड्डु वितरण गर्नुभयो । विशेष गरी सुरक्षाकर्मीको मनोबल बढाउने उद्देश्यले यस्तो गतिविधि भएको हो ।’ कार्यक्रममा नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीलगायतयका उच्च अधिकारी सहभागी थिए । 

ठमेलको सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन
देशको मुख्य पर्यटन नगरी ठमेल शुक्रबारमध्ये रातदेखि २४सै घन्टा खुला गरिएको छ । सुरक्षाका लागि अतिरिक्त सुरक्षाकर्मी ठमेलआसपास खटाइएका छन् । मध्यराति १२ बजेपछि सुनसान हुने ठमेल नयाँ वर्षको सुरुवातसँगै २४सै घन्टा खुला हुनेछ । गृहमन्त्री लामिछानेले ठमेललाई २४सै घन्टा खुला बनाउन सुरक्षा प्रबन्ध मजबुत तुल्याउन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए । गृहमन्त्री लामिछाने शनिबार साँझ व्यवसायीको प्रतिक्रिया बुझ्न ठमेल पुगेका थिए । २४सै घण्टा ठमेल खुल्ने भएपछि व्यवसायी उत्साहित भएका थिए । सुरक्षा प्रबन्ध मिलाउन जुटेका जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले २४सै घन्टा ठमेललाई खुला गराउन सुरक्षा प्रबन्ध चुस्त पारिएको बताए । उनले भने, ‘नयाँ वर्षदेखि ठमेल २४सै घन्टा खुला भएको छ । सुरक्षाका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएका छन् । सुरक्षा प्रबन्ध मजबुत छ । व्यवसायीले ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्दा हुन्छ । कुनै किसिमको खतरा भए नजिकको प्रहरीलाई खबर गर्दा हुन्छ ।’

‘राम्रो कति गर्न सक्छौँ थाहा छैन, नराम्रोचाहिँ एउटै गर्दैनौँ’
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंलाई चलायमान सहर बनाउन ठमेल र दरबारमार्गलाई २४सै घन्टा खुलाउने निर्णय गरिएको बताएका छन् । ठमेलमा शनिबार साँझ आयोजित कार्यक्रममा २४सै घन्टा पर्यटकीय क्षेत्र खुला रहँदा देशको बारेमा सकारात्मक सन्देश जाने उनले बताए । ठमेल पर्यटन परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त रूपमा ठमेलमा आयोजना गरेको कार्यक्रममा उनले पूर्णकालीन रूपमा बजार खुल्ने घोषणा गरेका हुन् । ‘यो ऐतिहासिक सुरुवात हो, यसले सकारात्मक सन्देश दिन्छ,’ उनले भने, ‘काठमाडौं चलायमान सहर बनोस् भनेर त्यसको सुरुवात दुई ठाउँबाट गरिएको हो । यसलाई सफल बनाउन सबैको दायित्व छ ।’ व्यवसायी, कर्मचारी तथा पर्यटक सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेको उनको भनाइ छ । ‘संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि यो अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘सफल बनाउन हामी सबैको दायित्व हो । त्यसमा ध्यान दिऔँ ।’ २४सै घन्टा बजार खुला गर्दा स्थानीयका मागलाई पनि सम्बोधन गरिने उनले बताए । उनले ठमेलका व्यवसायी तथा स्थानीयका गुनासासमेत सुनेका थिए । आचारसंहिता कडाइका साथ पालना गरेर ठमेल र दरबारमार्गमा सबै प्रकारका व्यवसाय शनिबारदेखि पूर्णकालीन रूपमा सञ्चालन गर्न दिने निर्णय भएको हो । गृह प्रशासनमा सुधारका काम गरिरहेको दाबी गर्दै लामिछानेले भने ‘हामी राम्रो कति गर्न सक्छौँ थाहा छैन, नराम्रोचाहिँ एउटा पनि गर्नैछैनौँ, नयाँ दल हुनुको परिचय कामबाटै दिन्छौैँ ।’ 

ad
ad