१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o६:oo

देशको केन्द्रीय राजधानी काठमाडौंको पनि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग वर्षौँपछिको चर्चापछि अब २४सै घण्टा खुल्ने भएका छन् । गृह मन्त्रालयको निर्णयअनुसार यी क्षेत्र नयाँ वर्षदेखि २४सै घण्टा व्यवसाय गर्न खुला गरिएको हो ।यसका लागि जिल्ला सुरक्षा समिति, काठमाडौंको बैठकले मापदण्ड र सुरक्षा योजना तयार गरेको छ । 

व्यवसायीलाई समेत थप जिम्मेवार बनाई १ वैशाखदेखि २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘दरबारमार्ग र ठमेलमा अब सुरक्षा मापदण्ड पूरा गरेर २४सै घण्टा व्यवसाय गर्न पाइन्छ,’ उनले भने, ‘यसमा प्रहरीले सम्पूर्ण तयारी गरिसकेको छ ।’ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर मापदण्डका विषयमा जानकारी गराउँदै छ । 

ठमेल र दरबारमार्गका व्यवसायीले भने बिहीबार नै पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएका छन् । यसले पर्यटन प्रबद्र्धनमा समेत योगदान दिने उनीहरूको विश्वास छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले पूर्णकालीन रूपमा व्यवसाय गर्न दिने निर्णय कार्यान्वयनमा जानुले पर्यटन क्षेत्रकै विकास हुने बताए । कडाइका साथ आचारसंहिता पालना गरी सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गरिने उनको भनाइ छ । 

गृह मन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनका लागि गत साता छलफल गरेको थियो । सोही छलफलका आधारमा तत्काल सञ्चालन गर्न लागिएको हो । एक दशकभन्दा लामो समयदेखि ठमेल क्षेत्रलाई पूर्णकालीन सञ्चालन गर्नेबारे छलफल हुँदै आए पनि विभिन्न व्यक्तिको स्वार्थ तथा प्रशासनको अनिच्छाका कारण कार्यान्वयन हुन सकेको थिएन । 

तीन सिफ्टमा खटिनेछन् प्रहरी 
काठमाडौैं प्रहरीले ठमेल तथा दरबारमार्गमा तीन सिफ्टमा प्रहरी खटाउने तयारी गरेको छ । हाल दुई सिफ्टमा खटाउँदै आएको छ । ‘कतै समस्या भएमा तत्काल प्रहरी पुग्ने गरी सुरक्षा योजना बनाएका छौं,’ काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले भने, ‘मोटरसाइकल क्वुआरटी (क्विट रेस्पोन्स टिम)लाई चोक–चोकमा खटाउँछौँ ।’ दरबारमार्ग र ठमेलमा हाल खटाइएकाबाहेक करिब एक सय प्रहरी थप्ने तयारी भइरहेको छ । 

के–के छन् मापदण्ड ? 
रातभरि व्यवसाय सञ्चालन गर्नेले निजी सुरक्षागार्ड, सिसिक्यामेरा र बत्तीको अनिवार्य व्यवस्था गर्नुपर्नेछ । साथै, बार तथा डिस्कोहरूले अनिवार्य साउन्डप्रुफ गर्नुपर्ने मापदण्ड छ । यी मापदण्ड कार्यान्वयनका लागि अनुगमन समिति बन्ने भएको छ । समितिमा व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् । मापदण्ड पूरा नगर्नेले रातभर व्यवसाय सञ्चालन गर्न पाउनेछैनन् । ठमेलको कोर क्षेत्रमा व्यवसाय चलाउन दिने तयारी छ । केशरमहल चोक, सोह्रखुट्टे, क्षेत्रपाटी चोक तथा ठैटी चोकभित्रको क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ । 

आवास क्षेत्रमा भने बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म अपरिचित व्यक्तिलाई प्रवेश रोक्ने सहमति भएको छ । खासगरी भगवान बहाल क्षेत्रका बासिन्दाले रात्रिकालीन व्यवसायले आफूहरूलाई असर गरेको बताउँदै आएका छन् । आवास क्षेत्रलाई असर नगर्ने गरी ध्वनि प्रदूषण नियन्त्रण गरी व्यवसाय सञ्चालन गर्न पाइने मापदण्ड बनेको छ । दरबारमार्गको भने मुख्य सडक क्षेत्र मात्र खुलाउने तयारी छ । पछि पूर्वाधारको काम भएपछि क्षेत्र थप्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि प्रहरीले साना पसललाई १० बजे, रेस्टुरेन्टलाई १२ बजे, लाउन्जलाई २ बजे र डिस्को तथा क्लबलाई ४ बजेसम्म सञ्चालन गर्न दिने समयसीमा तोकेको थियो । 

ad
ad