गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दुईदिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले ध्यानको माध्यमबाट सामाजिक रूपान्तरण गर्नुपर्ने र लुम्बिनीलाई ध्यानको पनि केन्द्र बनाउनुपर्ने बताए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चीनले समर्थन गर्ने बताए ।
उनले लुम्बिनीलाई ध्यानको राजधानी बनाउन सुझाव दिए । शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले बताए ।
शनिबार साँझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा लुम्बिनी होटेल संघलगायत संघसंस्थाको सहआयोजनामा आयोजना गरिएको हो ।