१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : ठेकेदारको उपहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o२:oo

एकजना सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुन्थ्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्दगीमा धेरै काम गरियो । अलि–अलि धनसम्पत्ति पनि कमाइयो । अब कामबाट छुट्टी लिएर बाँकी जिन्दगी परिवारसित रमाइलो गरी बिताउँछु ।

अर्को दिन ठेकेदारकहाँ पुगेर सिकर्मीले भने– ठेकेदारसाब, मैले वर्षौंसम्म हजुरको सेवा गरेँ । सकेसम्म राम्रो गर्ने कोसिस गरेँ । अब म वृद्ध भएँ । त्यसैले, अब कामबाट अवकाश लिएर परिवारसँग बाँकी जिन्दगी बिताउन चाहन्छु । 

ठेकेदार सिकर्मीलाई निकै मान्थे । त्यसैले, अवकाशको माग सुन्दा उनी केही दुःखी त भए । तर, सिकर्मीको उमेर र उनले विगतमा गरेको काम सम्झेर उनले सिकर्मीलाई निराश बनाउन चाहेनन् । उनले भने– ठीक छ, तिमीले मेरो धेरै सेवा गरेका छौ । त्यसैले, म तिमीलाई दुःखी तुल्याउन चाहन्नँ । तर, तिमीले अवकाश लिनुअघि थप एउटा सुन्दर घर बनाइदिनुपर्‍यो । म यत्ति चाहन्छु । ठेकेदारले सिकर्मीलाई आवश्यक खर्च दिएर घर बनाउने ठाउँ पनि देखाइदिए ।

सिकर्मी काममा लागे । यो नै अन्तिम काम हो र यसपछि थप काम गर्नु छैन भन्ने सोचेर सिकर्मीले केही अल्छी गरे । उनी पहिले–पहिले घर बनाउन निकै सावधानीसाथ काठ छनोट गर्थे । तर, यसपटक भने उनले कामचलाउ खालका काठ छाने । अल्छी मानी–मानी काम अघि बढाए । केही सातामा घर तयार भयो । उनी ठेकेदारकहाँ पुगे र भने– ठेकेदारसाब, मैले घर तयार गरेँ । के अब म अवकाश लिएर जान सक्छु ?

ठेकेदारले मुसुक्क हाँस्दै भने– पक्कै जान सक्छौ । तर, अब तिम्रो त्यो सानो र पुरानो घरमा होइन । यही तिमीले तयार गरेको घरमा परिवारसँगै आरामले बसेर बाँकी जिन्दगी हाँसोखुसीसाथ बिताऊ । मैले यो घर तिम्रै लागि बनाउन लगाएको हुँ । यो घर तिमीलाई मेरा तर्फबाट उपहार भयो । ठेकेदारको कुरा सुनेर सिकर्मी हेरेकोहेर्‍यै भए । 

ad
ad