१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
लुक्रेजिया राइचलिन
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जर्जिया मेलोनीको आश्चर्यजनक सफलता

Read Time : > 2 मिनेट
लुक्रेजिया राइचलिन
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२o:oo

करिब दुई वर्षदेखि सत्तासीन इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी इटलीमा मात्रै नभई युरोपियन युनियनमा पनि पहिलेभन्दा धेरै लोकप्रिय र प्रभावशाली बनेकी छिन् । इटलीको फासीवादसँग पार्टीको ऐतिहासिक सम्बन्ध, पार्टीमा रहेको सीमित सदस्यता, शासन अनुभवको अभाव र हालसम्म युरोपियन युनियन र युरोको कट्टर विरोधलाई हेर्दा ब्रदर्स अफ इटलीकी नेतृको यो उपलब्धि उल्लेखनीय हो ।

उग्र–दक्षिणपन्थी पार्टी लेगा र मध्यम–दक्षिणपन्थी फोर्जा इटालियासँग तीन–दलीय गठबन्धनको नेतृत्वमा ब्रदर्स अफ इटलीले ठोस बहुमत पाएको छ । तर, यसले मात्रै ऊ गठबन्धनका अन्य साझेदारभन्दा भिन्न होइन । लेगाको नेतृत्व गर्ने रुस समर्थक माटेओ साल्भिनीविपरीत मेलोनी मुखर नेटो समर्थक हुन् । यसैकारण युरोपियन युनियनका नेता र बजारले उनलाई सकारात्मक रूपमा लिन्छन् ।

मेलोनीसँग युरोपेली राजनीतिमा दिगो प्रभाव पार्ने सामथ्र्य छ । ब्रदर्स अफ इटली मध्यम–दक्षिणपन्थी युरोपियन कन्जर्भेटिभ एन्ड रिफर्मिस्ट (इसिआर) समूहको हिस्सा हो, जसको अध्यक्ष मेलोनी हुन् । फोर्जा इटालिया युरोपियन पिपुल्स पार्टी (इपिपी) सँग सम्बद्ध छ भने लेगा आइडेन्टिटी एन्ड डेमोक्रेसी ग्रुपसँग आबद्ध छ, जसमा जर्मनीको अल्टरनेटिभ फर डचल्यान्ड र फ्रान्सको नेसनल र्‍यालीजस्ता उग्र–दक्षिणपन्थी पार्टी समावेश छन् ।

जुनमा हुने आगामी युरोपेली संसदीय चुनावले दक्षिणपन्थीलाई बलियो र मध्यपन्थीलाई कमजोर बनाउनेछ । मेलोनीले यो अवस्थामा इसिआरको सान्दर्भिकता बढाउने लक्ष्य राखेकी छिन् । चुनावमा इपिपीले अग्रता लिए पनि शासनका लागि गठबन्धन बनाउनुपर्नेछ र यस अवस्थामा इपिपीलाई इसिआरको मत आवश्यक पर्छ । मेलोनीले यस अवसरलाई युरोपेली आयोगको अध्यक्षका रूपमा दोस्रो कार्यकालका लागि इपिपीबाट उर्सुला भोन डेर लेयनलाई समर्थन गरेर ब्रदर्स अफ इटलीका लागि प्रमुख भूमिका सुरक्षित गर्न प्रयोग गर्न सक्छिन् ।

पार्टीमा रहेको सीमित सदस्यता तथा शासन अनुभवको अभावका बाबजुद ब्रदर्स अफ इटलीकी नेतृको यो उपलब्धि उल्लेखनीय हो 

इसिआर, इपिपी र उदारवादीबीच औपचारिक गठबन्धन निःसन्देह असम्भव छ । स्पेनको भोक्स, पोल्यान्डको ल एन्डजस्ता कट्टर दक्षिणपन्थी पार्टी र फ्रान्सको रिकंक्वेट जस्ता नयाँ पार्टीको समावेशीकरणले मूलधारका दललाई इसिआरको सदस्यता अँगाल्न चुनौतीपूर्ण बनाउँछ । तर, मुद्दा विशेषमा व्यावहारिक वार्ता र समर्थन असम्भव हुनेछैन । यस अवस्थामा मेलोनी एक मुख्य शक्ति बन्नेछिन् । सबै राजनीतिक चक्र र व्यवहारबीच बहिर्गमनमा गइरहेको युरोपेली आयोगका हरित नीतिजस्ता केही प्रतिबद्धता कमजोर हुने सम्भावना छ ।

युरोपेली राजनीतिमा मेलोनीको प्रभाव युरोपेली संसद्बाहिर फैलिने सम्भावना छ । फासीवादबाट उत्पन्न भएको पार्टी, रुस समर्थक पार्टी र इपिपीको सदस्य पार्टी एक ठाउँमा आउनु इटलीका लागि अनौठो देखिन सक्छ । यसो हेर्दा यो एकता दोहोरिने सम्भावना छैन, तर अहिलेसम्म यो सफल देखिन्छ । यदि यो इटलीमा सफल भयो भने यसले युरोपभरिका अन्य राजनीतिक दलका लागि नमुनाका रूपमा काम गर्न सक्छ ।

पछिल्ला दुई दशकमा धेरै विकसित लोकतान्त्रिक देशमा मतदाता राजनीतिक दलप्रति निरन्तर रूपमा कम बफादार हुँदै गएका छन् । दलीय समर्थनमा ठूला उतारचढाव आएका छन् । कहिले नयाँ पार्टी उदाएका छन् भने कहिले पतन भएका छन् । परम्परागत दलले बृहत् राजनीतिक कार्यक्रम प्रस्तुत गर्थे भने नयाँ आन्दोलन प्रायः साँघुरो मुद्दामा केन्द्रित हुने गर्छन् । मतदान बढ्दो रूपमा लेनदेन बन्दै जाँदा ‘अप्राकृतिक’ गठबन्धनका लागि ठाउँ बढ्दै छ ।

मेलोनीका लागि अवस्था पूर्ण रूपमा अनुकूल भने छैन । वास्तवमा इटलीमा उनलाई निरन्तर स्थिर समर्थनको प्रत्याभूति छैन । ब्रदर्स अफ इटलीको लोकप्रिय मतको अंश सन् २०१८ मा चार प्रतिशतबाट आज करिब २७ प्रतिशत पुगे पनि यो पार्टीको सामथ्र्य अन्य पार्टीको कमजोरीको परिणाम हो । यो युरोपका अन्य देशमा पनि लागू हुन्छ । फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, पोर्चुगल र स्पेनका सरकार अर्को चुनावमा टिक्ने सम्भावना छैन । तर, इटलीमा विभाजित प्रतिपक्षले धेरै चुनौती दिन सक्ने देखिन्न ।

इटलीका मतदाता आर्थिक कठिनाइका कारण अस्थिर हुन सक्छन् । इटलीको अर्थतन्त्रले कोभिड–१९ महामारीपछि तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको छ र जर्मनीलाई समेत पछाडि पारेको छ । यद्यपि, संकट–प्रतिक्रिया उपाय विशेषतः निर्माण क्षेत्रका लागि उदार–अनुदान बिस्तारै फिर्ता हुन थालेपछि परिदृश्य अन्धकार भएको देखिन्छ ।

इटलीको वित्तीय घाटा यस वर्ष कुल गार्हस्थ उत्पादनको ४.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जुन सरकारको मूल लक्ष्यभन्दा ०.६ प्रतिशतले बढी हो । यसबाहेक इटलीको शुद्ध प्राथमिक खर्चले युरोपियन युनियनको नयाँ वित्तीय नियम उल्लंघन गर्ने पूर्वानुमान गरिएको छ । यसबाहेक स्वतन्त्र पूर्वानुमानकर्ताले सन् २०२४ को वृद्धि प्रक्षेपण अत्यधिक महत्वाकांक्षी हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । यसले थप स्पष्ट वित्तीय समायोजन सम्भव देखिँदैन भन्ने देखाउँछ । 

यसका बाबजुद इटलीका सरकारी बन्डमा जोखिम प्रिमियम अहिलेका लागि अप्रभावित छ । युरोविरुद्ध गएकै कारण वित्तीय बजार अस्थिरताका दिन सकिएका छन् । यद्यपि बजारले इटलीको प्रदर्शनलाई नजिकबाट निगरानी गरिरहेको छ र बजारसम्बन्धी भावना परिवर्तन हुन सक्छ ।

उसो त मेलोनी एक सिर्जनात्मक राजनीतिज्ञ सावित भए पनि (धेरैका अनुसार उनी लोकप्रियतावादी बन्ने डर थियो) अरूको कमजोरीमा आधारित नेतृत्व दिगो हुँदैन । हालसम्म मेलोनीले इटलीको संरचनात्मक समस्या, क्षेत्रीय असमानता र स्वास्थ्य एवं पेन्सन प्रणाली सुधारको आवश्यकतालाई सम्बोधन गर्न रणनीति बनाएकी छैनन् । ढिलो–चाँडो मतदाताले ब्रदर्स अफ इटलीलाई पछाडि पार्न सक्छन् ।
(राइचलिन युरोपियन सेन्ट्रल बैंककी पूर्वअनुसन्धान निर्देशक हुन्) – प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad