१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानको सीमा तय

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o६:oo

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रूपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आइतबारको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण तथा राजस्व र प्राकृतिक स्रोत उपयोग एवं बाँडफाँटको अवस्थाबारे समितिलाई जानकारी गराएका हुन्।

उनका अनुसार वित्तीय समानीकरण अनुदानको कुल रु. एक खर्ब ४८ अर्बमध्ये प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहको लागि रु. ८८ अर्ब बाँडफाँट गर्ने निर्णय मन्त्रिपरिषद्ले गत बिहीबार गरिसकेको छ।

त्यस्तै, प्रदेश र स्थानीय तहको लागि विशेष अनुदानतर्फ रु. १२ अर्ब ९० करोड र समपूरक अनुदानको लागि रु. १३ अर्ब २० करोड गरी कुल रु. २६ अर्ब १० करोड छुट्याइने भएको छ। प्रदेशका लागि विशेष अनुदानतर्फ रु. चार अर्ब ४० करोड र समपूरक अनुदानतर्फ रु. ६ अर्ब २० करोड रहने अर्थ मन्त्रालयले जनाएको छ। त्यस्तै, स्थानीय तहका लागि विशेष अनुदानतर्फ रु. आठ अर्ब ५० करोड र समपूरक अनुदानतर्फ रु. सात अर्ब विनियोजन गरिने भएको छ।

समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना छनोटको लागि प्रस्ताव आह्वान भई राष्ट्रिय योजना आयोगबाट छनोटको प्रक्रिया अघि बढिरहेको अर्थसचिव पुष्करले समितिमा बताए। ससर्त अनुदान भने संघीय बजेट पेस भएपछि यकिन हुने जनाइएको छ।

चालू आवको फागुन मसान्तसम्म प्रदेशतर्फ विनियोजन भएको सबै अनुदानको कुल रकम रु. एक खर्ब अर्बमध्ये रकम रु. ५४ अर्ब २० करोड अर्थात् ५१.५८ प्रतिशत हस्तान्तरण भइसकेको छ। त्यसैगरी, स्थानीय तहमा विनियोजन भएको कुल अनुदान रकम रु. दुई खर्ब ९५ अर्बमध्ये एक खर्ब ७७ अर्ब ३५ करोड अर्थात् ६०.११ प्रतिशत हस्तान्तरण भइसकेको छ। चालू आवको फागुन मसान्तसम्म प्रदेशमा रु. ३८ अर्ब र स्थानीय तहमा रु. ३८ अर्ब गरी कुल रु. ७६ अर्ब राजस्व बाँडफाँट भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्राकृतिक स्रोतबाट प्राप्त रकमको बाँडफाँटका लागि मन्त्रिपरिषद्ले गत फागुन ६ गते निर्णय गरिसकेको छ। जसअनुसार संघीय सरकारले कुल रु. तीन अर्ब १७ करोड ४२ लाख ३७ हजार रोयल्टी पाउनेछ। त्यस्तै, रोयल्टी बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई समान रु. एक अर्ब ४५ करोड ३२ लाख ९७ हजार प्राप्त हुने जनाइएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा अर्थ मन्त्रालयले आगामी आवको लागि निर्धारण गरेको कुल राजस्व रकम रु. एक खर्ब ५५ अर्बमध्ये प्रदेश र स्थानीय तहका लागि समान रु. ७७ अर्ब ५० करोड र स्थानीय तहको लागि रु ७७ अर्ब ५० करोड रहेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सुझाव सरकारले कार्यान्वयन गरेको अर्थसचिव पुष्करले बताए। रेडियो फ्रिक्वेन्सीबाट प्राप्त रकम वित्त आयोगबाट निर्णय भई आइसकेको भए पनि त्यसको बाँडफाँट भने नभएको उनको भनाइ छ।

‘वित्तीय समनीकरण अनुदानको हिस्सा क्रमशः बढाउने तथा ससर्त अनुदानको हिस्सा घटाउँदै लगिने र स्वीकृत वित्तीय समानीकरण अनुदानको हिस्सा विशेष परिस्थितिमा बाहेक नघटाउने नीति लिइएको छ,’ अर्थसचिव पुष्करले भने, ‘वित्तीय संघीयताको अनुभवको आधारमा पाँचवर्षे रणनीति बनाउने, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिमार्जन गर्ने र तीन तहका सरकारबीच सार्वजनिक वित्त व्यवस्थापनमा तादात्म्यता कायम गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ।’

ad
ad