१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत नेपालीका परिवार १४ दिनदेखि अनशनमा

१३ बुँदे मागबारे सरकार उदासीन, मृतकका परिवारले क्षतिपूर्ति पाएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२७:oo

रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै परिवारजन १४ दिनदेखि आमरण अनशनमा छ । दुई सातादेखि १३ बुँदे माग राख्दै जारी राखेको आमरण अनशनबारे सरकारले चासो नदिएको उनीहरूको गुनासो छ । 

‘हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी छ । परिवारजनले राख्दै आएका माग पूरा नभएपछि आमरण अनशनमा छौँ,’ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले भनिन्, ‘अहिलेसम्म हामीलाई सरकारी निकायले कुनै सम्पर्क गरेका छैनन् । परिवारजनको माग पूरा नभएसम्म आमरण अनशन जारी राख्छौँ ।’ 

भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन्, तर कतैबाट माग सम्बोधन नभएको उनीहरूको गुनासो छ । ‘परिवारजनले सरकारसँग न्याय मागेका छन् । रुस सरकारसँग जुन प्रकारको कूटनीतिक प्रयास गर्नुपर्ने हो, त्यो भएन,’ भण्डारीले भनिन् । उनका अनुसार हालसम्म रुसमा कार्यरत रहेकामध्ये उनीहरूसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । 

रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् । ‘३९ जना नेपालीको मृत्यु भएको विवरण प्राप्त भएको छ । परिवारजनले उनीहरूको काजकिरिया गरिसकेको छ,’ उनले भनिन्, ‘करार रद्द भएकाहरू पनि पुनः रुसी सेनामा भर्ती हुनुपरेको विवरण आइरहेको छ । यसमा सरकारले जवाफ दिनुपर्छ ।’ 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी समकक्षी सेर्गेई लाभरोभसँग २९ फागुनमा टेलिफोनमा कुरा गरेअनुसार परिवारले क्षतिपूर्ति अझै पाउन सकेका छैनन् । रुसमा कार्यरतमध्ये हालसम्म १६ जनाको मृत्यु भएको सरकारले सार्वजनिक गरेको छ । रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतका लागि संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालन गराइदिन पनि परिवारजनले माग गरेका छन् । ‘परिवारजनसँग सरकारले अपराधीको जस्तो व्यवहार गर्ने होइन, समाधानका लागि प्रयास गर्नुपर्छ । सरकारको व्यवहार सही भएन,’ भण्डारीले भनिन् । 

परराष्ट्र प्रवक्ता राई भन्छन्–कूटनीतिक प्रयास गर्दै छौँ 
सरकारले रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएका व्यक्तिको क्षतिपूर्तिका लागि प्रयास भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले कन्सुलर विभागमार्फत मृतकको विवरण रुस सरकारलाई बुझाइएको बताए । ‘रुसी सेनाले मागेअनुसारको कागजपत्र पठाएका छौँ । हामीले विभिन्न च्यानलमार्फत रुससँग कुराकानी पनि गरिरहेका छौँ,’ उनले भने, ‘नेपाल फर्किन चाहनेलाई फर्किन दिनुपर्छ भन्ने हाम्रो भनाइमा उनीहरूले सैद्धान्तिक रूपमा सहमति जनाइसकेको अवस्था छ । परिवारजनसँग मन्त्रालयमै दुईपटक छलफल भएको छ । हामी परिवारजनको भावनालाई सम्मान गर्छौँ र आवश्यक प्रयास जारी राखेको जानकारी दिन चाहन्छौँ ।’ 

ad
ad