१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सप्तरीको महदेवा गाउँपालिका– १ चिम्टीका अग्निपीडित परिवार त्रिपालमुनि ओत लाग्दै ।
सौरभ यादव राजविराज
२o८१ जेठ ४ शुक्रबार o७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिपालमुनिबाट चिम्टीका आगलागीपीडितको बिलौना : शरीरमा लगाएको कपडाबाहेक  केही बचेन, कहाँ बस्ने, के खाने ?

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५६:oo

आगलागीबाट बस्ती नै सखाप भएपछि सप्तरी महदेवा गाउँपालिका– १ चिम्टीका ६२ परिवार त्रिपालमुनि रात काटिरहेका छन् । मंगलबारको आगलागीबाट ६२ परिवारका एक सय २० घरगोठ जलेपछि उनीहरू के खाउँ, के लाउँको अवस्थामा पुगेका हुन् ।

आगलागीले घर जलेपछि चिम्टीकी संगीता यादव श्रीमान् र दुई सन्तानसहित त्रिपालमा बसिरहेकी छिन् । भारतको पन्जाबमा मजदुरी गर्दै आएका उनका श्रीमान् केही महिनाअघि मात्र घर फर्किएका थिए । तर, मंगलबारको आगलागीले घर जलेपछि उनीहरू सडकमा पुगेका हुन् । ‘भुजा खाएर रात काटेँ । बुधबार ४० किलो चामल राहत आएको छ, तर खाना बनाउने भाँडा नै छैन,’ उनले भनिन् । बुधबार साँझ स्थानीय युवाले सामूहिक मेस चलाएर पीडितलाई खाना खुवाएका छन् । 

संगीताका अनुसार बहिनीको विवाहका लागि उनकी आमाले चार लाख ऋण लिएकी थिइन् । सो ऋण चुक्ता गर्न जोहो गरेको पैसा संगीताको घरमा थियो । तर, आगलागीले चार लाख नगद पनि जलेको उनले बताइन् । 

अग्निपीडित संगीता यादव भन्छिन्–

घर आगो लागेको दिन भुजा खाएर रात काटेँ । बुधबार ४० किलो चामल राहत आएको छ, तर खाना बनाउने भाँडा नै छैन ।

आगलागीपीडित ६५ वर्षीय बेचु सदाका दुःख पनि कम छैन । उनका दुई छोरा छुट्टै घर बनाएर बसेका छन् । सदा श्रीमतीसहित फुसको घरमा बस्दै आएका थिए । तर, आगलागीले त्यही घर जलाइदिएपछि उनीहरू बिचल्लीमा परेका छन् । ‘कति दिन बाँचिने हो थाहा छैन, तर अब कहाँ बस्ने भन्ने पिरलो छ,’ उनले दुःखेसो पोखे । 

स्थानीय सोनिलादेवी सदाको चारजनाको परिवार पनि त्रिपालमा बसिरहेको छ । ‘खै कसरी आगो लाग्यो थाहा पाइनँ, त्यतिखेर दिमागले केही काम गरेन, सबथोक जलिसक्यो,’ उनले भनिन्, ‘भाँडाकुँडा, लुगा सबै जलिसके । बुधबार गाउँपालिकाले त्रिपाल, चामल, नुन र तेल दाल दिएको छ ।’ 

स्थानीय भूपेन्द्र यादव ट्याक्टरर थ्रेसर चलाउँदै आएका थिए । आगलागीले ट्याक्टर, थ्रेसरसहित ३० लाखको क्षति भएको उनले सुनाए । त्यस्तै, रामवती सदाको घर र गोठ पनि जलेको छ । ६ जनाको परिवार अहिले त्रिपालमा बसिरहेको छ । महदेवा गाउँपालिकाले आगलागीपीडितलाई त्रिपाल, भुजा, चिउरा र खानेपानी वितरण गरेको वडाध्यक्ष जयश्वरकिशोर दासले बताए । आगलागीपीडितलाई थप राहतका लागि गाउँपालिकाले निर्णय गर्ने उनले जनाए ।

छिन्नमस्ताका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब दिने
चिम्टीका आगलागीपीडितलाई राहतका लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने घोषणा गरेका छन् । पालिका अध्यक्ष विद्यानन्द चौधरीले‌ आगलागीपीडितलाई विपत्तिको समयमा समस्यासँग लड्न छिन्नमस्ता गाउँपालिकाका सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने उनले जानकारी दिए । ‘यस विपत्तिमा सबै एकजुट भई लाग्नसमेत आग्रह गर्दछु, हामी सहयोग गर्नेछौँ, सबैजनाले सक्दो सहयोग गरौँ,’ अध्यक्ष चौधरीले भने, ‘सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखज्यूलाई समेत सहयोगमा लाग्न आग्रह गर्दछु ।’ छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले पालिकामा जनप्रतिनिधि, शिक्षक, कर्मचारीसहित तीन सयजना रहेको बताए । यो रकम तीन लाखहाराहारी हुन्छ । 

सप्तरी युथ नेपालले चिम्टीका आगलागीपीडितलाई बुधबारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेको छ ।

ad
ad