१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगम कर्मचारीकै संरक्षणमा डिजेल चोरिएको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o२:oo

नेपाल आयल निगम लिमिटेडको बागमती प्रादेशिक कार्यालय, थानकोटका कर्मचारीको संरक्षणमै बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– ९ स्थित नवदुर्गा आयल स्टोर्सको कम्पाउन्डमा ना.७ख २७९४ नम्बरको ट्यांकर रोकेर डिजेल चोरेको आशंका गरिएको छ ।

निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट २० हजार लिटर डिजेल लिएर थानकोट डिपोका लागि आउँदै आएको ट्यांकर बीचबाटोमा रोकेर तेल चोरी हुँदै गर्दा हटौँडा प्रहरीले रंगेहात समातेको थियो । स्रोतका अनुसार थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीका संरक्षण चालकले विगतदेखि नै बाटोमा तेल झिकेर आउने गरेका छन् ।

‘बाटोमा कति परिमाणको तेल झिकेको भन्ने कुरा अपरेसन विभागका सीमित कर्मचारीलाई थाहा हुन्छ । जसलाई थाहा दिएको हुन्छ, उसैले थानकोट डिपोमा ट्यांकर आएपछि अनलोडिङ सेडमा राखेर नापजाँच गर्ने गर्छन्,’ स्रोतले भन्यो, ‘ट्यांकरबाट तेल झिकेको कुरा थाहा पाएका कर्मचारीले नै नापजाँच गर्ने हुँदा चोरी भएको परिमाणबराबरको तेल तापक्रम र ढुवानीका क्रममा नोक्सानी भएको देखाएर मिलान गरिन्छ ।’

चालकलाई तेल चोर्न सघाउने कर्मचारीले प्रतिट्यांकर एक हजारदेखि पाँच हजार रुपैयाँसम्म आर्थिक लाभ लिने गरेको स्रोतको भनाइ छ । फिल्डमा तेल चोरी गर्न चालक र कर्मचारीले गरेको मिलेमतोको विषय डिपो प्रमुख अशोक साहलाई जानकारी नदिई गुमराहमा राखिएको छ ।

पछिल्लो समय अपरेसन विभागमा कार्यरत कर्मचारीले कुन ट्यांकर कुन कर्मचारीले नापजाँच गर्ने भनेर बाँडफाँट नै गरेका छन् । जसकारण बाटोमा तेल झिकेर आएको ट्यांकरबारे थाहा पाएका कर्मचारीले नै सोही ट्यांकरको नापजाँच गर्ने गरेका छन् । बिहीबार दिउँसो ४० लिटर तेल चोरिसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको ट्यांकरलाई शुक्रबार बिहान काठमाडौंस्थित निगमको थानकोट डिपो ल्याइएको छ । डिपोमा तेलको नापजाँच गर्दा ४४ लिटर कम पाइएको छ । यसअघि हेटौँडामा झिकिएको ४० लिटरसमेत जोड्दा ट्यांकरमा तोकिएभन्दा ८४ लिटर कम तेल भेटिएको छ ।

थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीले चालकबाट आर्थिक लाभ लिएर ट्यांकरमा भएभन्दा बढी तेल रहेको उल्लेख गर्दै अभिलेख राख्ने गरेकाले तोकिएभन्दा कम तेल हुने गरेको स्रोतको भनाइ छ । ‘पछिल्लो समय थानकोट डिपोको अपरेसन विभागमा कार्यरत कर्मचारीले ट्यांकरमा आएको तेलको सही डिप लिन छाडेका छन् । चालकले जति तेल छ भन्यो, त्यसलाई नै सदर गर्ने प्रवृत्ति बढेको छ,’ स्रोतले भन्यो ।

त्यस्तै, पेट्रोलपम्पका लागि ‘डाइभर्ट’ हुने ट्यांकरमा रहेको तेलको समेत नापजाँचमा  लापरबाही गर्ने गरिएको स्रोतको भनाइ छ । ‘पम्पलाई  पठाउने ट्यांकरमा के–कति तेल छ भनेर नापजाँच नै नगरी पठाइन्छ । नापजाँच गर्दा पनि लापरबाही हुने गरेको छ,’ स्रोतले भन्यो । थानकोट डिपोबाट पेट्रोल–डिजेल लैजाने व्यवसायीले पनि पछिल्लो समय गुनासो गर्न थालेका छन् । डिपोबाट ट्यांकरमा तेल अनलोड गरेर वा डाइभर्ट भएका ट्यांकर भए छानेर लैजान पाउनुपर्ने उनीहरूको माग छ ।

पम्पलाई स्पष्टीकरण, चालकलाई निलम्बनको तयारी
तेल चोरीका लागि प्रयोग गरिएको हेटौँडा उपमहानगरपालिका–९ स्थित नवदुर्गा आयल स्टोरका सञ्चालक गोविन्दप्रसाद साहलाई आयल निगमले स्पष्टीकरण सोधेको छ । निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख विनीतमणि उपाध्यायले विनाकारण काठमाडौं जाँदै गरेको ट्यांकर पेट्रोलपम्पपरिसरमा किन रोकेर राखेको भनेर स्पष्टीकरण सोधेका छन् । 

पम्प सञ्चालकलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको र चित्त नबुझे कारबाही गरिने निगमले जनाएको छ । त्यस्तै, तेल चोरीका लागि प्रयोग गरिएको ना.७ख २७९४ नम्बरको ट्यांकरधनी जय भोले ढुवानी सेवालाई इन्धन बोक्न केही समय रोक्का राख्ने तथा चालकलाई इन्धन ढुवानीमा प्रतिबन्ध लगाउने तयारी भएको निगमले जनाएको छ ।

ad
ad