१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
इलाम २ मा मिलन लिम्बूको उम्मेदवारी घोषणामा रास्वपा नेताहरू
२o८१ बैशाख १८ मंगलबार o६:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाको उम्मेदवार घोषणा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१४:oo

रास्वपा सभापति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा परिवारवाद नचल्ने बताएका छन् । एमालेले पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहानलाई उम्मेदवार बनाएकोतर्फ लक्षित गर्दै रास्वपा सभापति लामिछानेले इलाममा परिवर्तन चाहिएको बताए । 

रास्वपाबाट इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गर्न इलाम पुगेका लामिछानेले परिवर्तनका लागि राजनीतिमा आएको बताएका हुन् । ‘राजनीतिमा राजनीति चल्छ । परिवारमा टीका लगाउने दसैँ–तिहारमा मात्र हो । राजनीतिलाई राजनीतिजस्तै बनाउन राजनीतिमा प्रवेश गरेका हौँ,’ उनले भने । लामिछानेले जनताको विश्वासको जगमा टेकेर राजनीतिमा प्रवेश गरेको बताए । ‘दुधको ग्लासबाट झिँगा निकालेर फालेजस्तो सत्ताभित्रको खराबी फाल्न सरकारमा गएका हौँ,’ उनले भने । 

मिलनको उम्मेदवारी घोषणा गर्दै रास्वपा सभापति रवि लामिछानेले भने–
इलामले परिवर्तन खोजेकाले मिलन लिम्बूजस्ता युवालाई अघि सारेका छौँ । वादबीचको लडाइँ स्थगन गरेर इलामलाई जिताउन लाग्नुपर्छ । इलामको परिवर्तनका लागि नेतृत्व परिवर्तन आवश्यक छ । अहिलेसम्म पार्टीले जित्यो । इलामले कहिल्यै जितेन ।

उनले इलामले परिवर्तन चाहेकाले युवा उम्मेदवार बनाएको बताए । ‘इलामले परिवर्तन खोजेकाले मिलन लिम्बूजस्ता युवालाई अघि सारेका छौँ,’ उनले भने, ‘वादबीचको लडाइँ स्थगन गरेर इलामलाई जिताउन लाग्नुपर्छ । इलामको परिवर्तनका लागि नेतृत्व परिवर्तन आवश्यक छ । अहिलेसम्म पार्टीले जित्यो । इलामले कहिले जितेन ।’ उनले इलामको कृषि उत्पादनमा जोड दिए । घोषणासभामा उम्मेदवार लिम्बूले परिवर्तनका लागि रास्वपा रोजेको बताए । ‘स्वतन्त्र उम्मेदवारी दिने मनसायले निर्वाचन क्षेत्र घुमेँ । जनताले शक्तिसहित आउन आग्रह गरे,’ उनले भने, ‘परिवर्तनकारी शक्तिका रूपमा रास्वपा पाएँ र यही दल रोजेँ ।’ 

इलाम २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । हालसम्म रास्वपा र एमालेबाहेकले उम्मेदवार घोषणा गर्न सकेको छैन । एमालेले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्तागठबन्धनको रास्वपाले आफ्नै उम्मेदवार बनाएपछि माओवादीले भने सहयोग गर्ने एमालेको विश्वास छ । ‘सुवासजीले यसअघि थोरै मतान्तरले जित्नुभयो । सुहाङले जित्नुहुन्छ, तर टुपुक्क जितेर मात्र भएन, भारी मतले जित्नुपर्छ । झापा इलामसँग जोडिएको जिल्ला हो । यहाँबाट सहयोग गर्नुपर्छ,’ झापाको एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘माओवादीले निर्णय गरेर नै एमालेको उम्मेदवारलाई सहयोग गर्नेछ । अरू पार्टीले पनि सहयोग गर्छन् । माओवादीको सहयोग हुँदा विगतमा कांग्रेससँग थोरै मतले जितियो, माओवादीको मत आउँदा राम्रो मतले जित्छौँ । अरू पार्टीले उम्मेदवार पाएका छैनन् । नानीभन्दा नाना ठूला भए ।’

यद्यपि, माओवादी प्रदेश समितिले पनि आफ्नै उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । ‘सत्तागठबन्धन भए पनि निर्वाचनमा भने एक्लै लडेर शक्ति प्रदर्शन गर्नुपर्छ भन्ने हाम्रो माग हो । हामीले अध्यक्षलाई पनि भेटेरै भनेका छौँ,’ माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले भने, ‘हामी केन्द्रको निर्णय पर्खिरहेका छौँ ।’

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा 

आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट र बैठकमार्फत चुनावी अभियान सुरु गरेका हुन् ।

इलाम २ प्रदेश (२) का एमाले सांसद तथा कोशी प्रदेशका पूर्वकृषिमन्त्री राम रानाका अनुसार सुहाङले बुधबार दमकस्थित दमक क्याम्पसमा अध्ययन गर्ने इलामका विद्यार्थीसँग चुनावकेन्द्रित अन्तरक्रिया र भेटघाट गरेर अभियान सुरु गरेका हुन् ।

बिहीबार बिहान इलाम पुगेका उनी शुक्रबारसम्म त्यस्तै प्रकृतिका भेटघाट, अन्तरक्रिया र बैठकमा व्यस्त रहे । यसबीचमै उनले पार्टीको इलाम र देउमाई नगर कमिटीको बैठकमा भाग लिएर स्थानीय मंगलबारे र सदरमुकामस्थित इलाम बजारमा मतदाता भेटघाट र सामाजिक व्यक्तित्वसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । त्यस्तै, माङसेबुहाङवासीसँग पनि उनले भेटघाट गरेका छन् । 

सुहाङसँगै अभियानमा सक्रिय रहेका पूर्वमन्त्री रानाले विशेषतः नेम्वाङले नयाँ पुस्ताका युवासँग बढी अन्तरक्रिया र भेटघाट गरिरहेका छन् । ‘युवा जमातले उहाँसँग प्रश्न सोध्ने, अन्तरक्रिया गर्ने गरिरहेका छन्, उहाँ पनि युवा नै भएकाले युवाहरूको जिज्ञासा र समाधान गर्ने कामले अभियानमा उत्साह नै थपिएको छ,’ रानाले भने, ‘उहाँप्रति नकारात्मक टिप्पणी गर्ने र फरक बुझाई रहेका पार्टीपंक्तिभित्रकै कतिपय व्यक्तिसँग पनि पार्टी नेतासहित बसेर उहाँले अन्तरक्रिया र छलफल गर्नुभएको छ, त्यसले बुझाइमा एकरूपता देखिएकाले सिंगै पार्टी एकढिक्का साथ अगाडि बढ्ने वातावरण बनेको छ ।’

सुहाङले चुनावकेन्द्रित अभियान सुरु गरिसके पनि एमाले जिल्लाले भने चुनावी प्रचार अभियान सार्वजनिक गरिसकेको छैन । रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेस, माओवादी र नेकपा एसले भने उम्मेदवार तय गरिसकेका छैनन् । 

२४ मंसिरमा उम्मेदवारी मनोनयनपछि जिल्लाले अलग्गै चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमको तालिका बनाएर अघि बढाउने एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए । ‘अहिले एक हिसाबले चुनावी प्रचारको वार्मिङ चलिरहेको छ,’ धमाधम वडा तहसम्म चुनावी रणनीति बनाउने गरी बैठक चलिरहेका छन्, यो चरण सकिएपछि व्यवस्थित ढंगले प्रचार अभियान अगाडि बढ्छ,’ खतिवडाले भने, ‘हामीले त्यहीअनुसार जिल्लालाई निर्देशित गरेर समन्वय गरिरहेका छौँ ।’

गत ११ चैतमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र हुन् । गत २६ भदौमा हृदयाघातबाट सुवासको निधन भएपछि इलाम २ मा चुनाव हुन लागेको हो । पछिल्लो निर्वाचनमा सुवास कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए । सुवासले ३० हजार २० मत प्राप्त गरेका थिए । कानुन विषयमा स्नातक ३२ वर्षीय सुहाङ पेसाले वकिल पनि हुन् । उनलाई एमालेले एक महिनाअघि केन्द्रीय कानुन विभाग सदस्य मनोनीत गरेको थियो ।

मंगलबार कांग्रेसले उम्मेदवार टुंग्याउने
कांग्रेसले उपनिर्वाचनमा अन्य दलका उम्मेदवार र रणनीति हेरेर उम्मेदवार तय गर्ने नीति लिएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवाले २० चैतअगावै कार्यसम्पादन बैठक बोलाउने तयारी गरेको र त्यहीँबाट उम्मेदवार चयन हुने बताए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलामको वस्तुस्थिति बुझेर उम्मेदवार सिफारिस गर्ने जिम्मा दिएको छ । नेताद्वय फर्किएलगत्तै केन्द्रले नाम टुंगो लगाउने तयारी छ । कांग्रेसबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम केन्द्रमा आइपुगेको छ ।

ad
ad