१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कार्यसम्पादनका आधारमा प्रधानाध्यापकहरूलाई प्रोत्साहन रकम

शैक्षिक गुणस्तर बढाउन पालिकाको पहल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२६:oo

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरूलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । 

गाउँपालिकाले प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्दै विद्यालयको सर्वांगीण विकासमा अब्बल बनाउन भूमिका खेल्ने प्रअलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकामा रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको जानकारी दिए । उनले विद्यार्थीको आधार बलियो बनाउने पहिलो खुड्किलो प्राथमिक तह भएकाले पालिकाले पहिलो चरणमा प्राथमिक विद्यालयका प्रअसँग कार्यसम्पादन सम्झौता गरेको बताए ।

‘विभिन्न १५ वटा बुँदामा स्वमूल्यांकन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउनेछौँ । सम्झौतामा विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्राथमिकतामा राखेर सम्झौता भएको छ,’ अध्यक्ष कालाखेतीले भने । 

अध्यक्ष कालाखेती र पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहवरमा शिक्षा शाखा प्रमुख प्रदीप पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूबीच कार्यसम्पादन सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौताअनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । यस्तै, विद्यालय सुधार योजना, प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण र सामाजिक परीक्षण, सबै शिक्षकसँग शिक्षण सुधार करार, विद्यालयको समग्र नतिजा विश्लेषणसँगै विद्यालयका विद्यार्थी शिक्षक विवरण इएमआइएसमा अद्यावधिक गर्नुपर्नेछ ।

प्रधानाध्यापकको उपस्थिति, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने मनहरी गाउँपालिकाका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले बताए । 

कार्यसम्पादन मूल्यांकनअनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम पाउनेछैनन् भने ४० देखि ६० प्रतिशत अंक प्राप्त गर्नेले २० हजार, ६० देखि ८० प्रतिशतले २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेले २४ हजार रकम प्राप्त गर्ने जनाइएको छ ।

ad
ad