टिकटकले आफ्नो चिनियाँ माउ कम्पनीसँग सम्बन्धविच्छेद गर्नुपर्ने नभए अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विषय समेटेको विधेयक अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट बुधबार पारित भएको छ । १७ करोड अमेरिकी प्रयोगकर्ता रहेको चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषण भइरहेको छ ।
टिकटकको बढ्दो लोकप्रियतासँगै यसको चिनियाँ स्वामित्वप्रति पश्चिममा चिन्ता बढाएको छ । राजनीतिक रूपमा विभाजित दुई अमेरिकी दलबीच टिकटकको विषयमा दुर्लभ एकता देखियो । प्रस्तावित कानुनको पक्षमा ३५२ र विपक्षमा ६५ मत प¥यो । अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि सम्बोधन गर्दै भने, ‘आजको मतदानमा संसद्का दलबीच देखिएको एकता चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको प्रतिरोधी मत हो ।
यसमा हाम्रा शत्रुलाई रोक्ने हाम्रो संकल्पको संकेत देखिन्छ ।’ उनले माथिल्लो सदन सिनेटबाट पनि यो विधेयक पारित हुने आशा व्यक्त गरे । यो विधेयक कार्यान्वयन हुन सिनेटबाट अनुमोदन भएर राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताएको ह्वाइट हाउसले जनाएको छ ।
उता टिकटकले भने सिनेटले विधेयकमाथि पुनर्विचार गर्ने आशा व्यक्त गरेको छ । १७ करोड अमेरिकीका अतिरिक्त लाखौँ साना व्यवसायीले पनि यस एपबाट लाभ लिएको बताउँदै टिकटकका प्रवक्ताले एप प्रतिबन्ध हुँदा अमेरिकी अर्थ–व्यवस्थामा असर महसुस हुने कुरामा ख्याल गर्न आग्रह गरेका छन् ।