१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १ बिहीबार १०:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज नाकाबाट प्लाइउड निकासी बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १ बिहीबार १०:५७:००

नेपालगन्ज नाकाबाट प्लाइउड निकासी बन्द भएको छ । भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्न बहानामा नेपाली प्लाइउडलाई रोक लगाएपछि  भारत पठाउन नसकिएको प्लाइउड उत्पादक संघ नेपालका सदस्य पशुपतिदयाल मिश्रले बताए । 

दुई सातादेखि रूपइडिहास्थित भारतीय भन्सार कार्यालयले प्लाइउड निकासीमा अवरोध गरेको हो । ‘नेपालबाट ठूलो परिमाणमा प्लाइउड भारत गइरहेको थियो । भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नको नाममा अवरोध सिर्जना गरेको छ,’ उनले भने, ‘केही समययता नेपालबाट उत्साहजनक निकासी हुन थालेको प्लाइउडको निर्यातमा भारतले अवरोध गर्दा रोकिएको छ ।’

भारतीय भन्सार कार्यालयले अवरोध कायमै राखेको खण्डमा नेपालका ६० प्रतिशतभन्दा बढी प्लाइउड उद्योग बन्द हुने मिश्रको भनाइ छ । उनले भने, ‘भारततर्फ राम्रो निकासी भइरहेको थियो । भारतीय भन्सारले अवरोध सिर्जना गरिराख्यो भने खर्च धान्न नसकेर यहाँका धेरै उद्योग बन्द हुनेछन् ।’ भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भएपछि उत्साहित भएका व्यवसायी पछिल्लो समय निराश भएका छन् ।

ओम प्लाई एन्ड फर्निचर प्रालिका सञ्चालकसमेत रहेका उद्योगी मिश्रले नेपाल–भारत सीमानाकास्थित रूपइडिहामा रहेको भारतीय भन्सार कार्यालयले गरेको अवरोध र समस्याका बारेमा भारतीय कस्टम कमिस्नरलाई जानकारी गराए पनि समाधान नभएको बताए । ‘नेपाली उद्योगीको टोलीले भारतीय कस्टम कमिस्नरलाई भेटेर समस्या अवगत गरायौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएन,’ मिश्रले भने । 

नेपालले भारतीय सरकारसँग समन्वय गरी समस्या तत्काल समाधान गर्नुपर्ने उनी बताउँछन् । नेपालको पूर्वी नाका पानीट्यांकीबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट मात्र रोकिएको उनको भनाइ छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, पछिल्लो सात महिनामा मात्रै करिब ६४ करोड १० लाख ३७ हजारबराबरको प्लाइउड नेपालगन्जबाट निकासी भएको छ ।  

उत्तिसका रूखबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उनले बताए । ‘पूर्वी र पश्चिमी दुवैतर्फका नाकाबाट गत आवमा मात्रै ६० लाख क्युबिक मिटरभन्दा बढी प्लाइउड निर्यात भएको तथ्यांक छ,’ उनले भने, ‘धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो सात महिनामा मात्रै २७ लाख क्युबिक मिटर निर्यात भएकोे छ ।’