१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ३० बुधबार २२:११:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजक धरानलाई हराउँदै मोरङ बुढासुब्बा गोल्डकपको फाइनलमा

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ३० बुधबार २२:११:००

मोरङ फुटबल एसोसिएसन धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समय दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल सोझै टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा धरानका मिलन लिम्बूको प्रहार मोरङका गोलरक्षक पूर्ण चेमजोङले रोकिदिएपछि धरानको फाइनल जित्ने सपना अझै अधुरै रह्यो। 

धरानले मोरङमाथि दबाब राखे पनि खेलको ३२औँ मिनेटमा धरानका प्रवीण भुजेल रेडकार्ड खाँदै मैदान छाडेपछि धरान दबाबमा परेको थियो। १० खेलाडीमा सीमित धरानले अन्तिम मिनेटसम्म डटेर खेले पनि टाइब्रेकरमा धरान चुक्यो।

मोरङको तर्फबाट सिमोन लिम्बू, धीरेन क्षेत्री, आदित्य शाक्य, सागर तिर्वा र अशोक खवासले गोल गरे। धरानको तर्फबाट दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जिमीले गोल गरे। 

खेलको म्यान अफ द म्याच मोरङका गोलरक्षक चेम्जोङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलको ६०औँ मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा गोल गर्ने सुनौलो मौकालाई सदुपयोग गर्न सकेनन्। धरान अघिल्लो खेलमा युकेएफसी भारतलाई सडनडेथमा हराउँदै सेमिफाइनल पुगेको थियो भने मोरङले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

बिहीबार अन्तिम सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौं र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजकले जनाएको छ। ३ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन्।