१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २८ सोमबार १०:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुसले युक्रेन युद्ध जितिरहेको छैन

Read Time : > 2 मिनेट
२०८० फाल्गुण २८ सोमबार १०:०८:००

पूर्णस्तरको आक्रामक युद्धको दुई वर्ष पुगिरहँदा रुसले युक्रेनको पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ र युक्रेनले पनि ठूलो सैन्य र आर्थिक क्षतिको सामना गर्दै आफ्नो लचिलोपन प्रदर्शन गरिरहेको छ । सन् २०२२ को अन्त्य सम्ममा युक्रेनको जिडिपी लगभग ३० प्रतिशतले संकुचित भएको थियो र मुद्रास्फीति १० प्रतिशतबाट २६.६ प्रतिशतसम्म पुगेको थियो । एक करोडभन्दा बढी युक्रेनी विस्थापित भएका थिए र बेरोजगारी दर २४.५ प्रतिशत पुगेको थियो । युक्रेनको राष्ट्रिय बैंकले अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रा २९ बाट ३६.५७ रिब्नियामा अवमूल्यन गरेको थियो ।

तर, यस अँध्यारोकालबाट गुज्रेको युक्रेनी अर्थतन्त्रले लचिलोपन र सुधारको संकेत देखाएको छ । डिसेम्बर २०२३ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले असंख्य चुनौतीका बाबजुद युक्रेनको समग्र आर्थिक सूचक ‘आशा गरेभन्दा बलियो’ भएको फेला पा¥यो । आइएमएफले युक्रेनका लागि आफ्नो २०२३ को जिडिपी वृद्धि प्रक्षेपणलाई दुई प्रतिशतबाट ४.५ प्रतिशतमा परिमार्जन गरेको थियो र यसले मुद्रास्फीति ५.५ प्रतिशतमा झर्ने अपेक्षा गरेको छ । मुद्रास्फीति सुस्त भएपछि युक्रेनको राष्ट्रिय बैंकले आफ्नो निश्चित विनिमयदरलाई ‘व्यवस्थापित लचिलो’ बनाएको छ । ब्याजदर सन् २०२३ को सुरुमा २५ प्रतिशतबाट झरेर लगभग १५ प्रतिशतमा पुगेको छ ।

यसैबीच रुसको अर्थतन्त्रले भने तनावको संकेत देखाएको छ । अमेरिकी अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार युक्रेनमा आक्रमणपछि रुसको अर्थतन्त्र पाँच प्रतिशतले ओरालो लागेको छ । विभिन्न प्रतिबन्धले रुसको अर्थतन्त्रको वृद्धिलाई साँच्चिकै सीमित गरेको छ जसले ब्याजदर उच्च बनाएको छ (डिसेम्बर २०२३ मा १६ प्रतिशत) र रुबललाई कमजोर बनाएको प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०२३ को सुरुवात र गत अक्टोबरसम्म विनिमयदर प्रतिडलर ६९ रुबलबाट सय प्रतिडलर पुगेको छ । 

हालसालै विनिमयदर घटेर ८८–९३ मा पुगेको छ र यसका पछाडि रुसी केन्द्रीय बैंकले पुँजी नियन्त्रण गरेर मुद्रालाई बलियो बनाउने प्रयास रहेको छ । ४३ उद्योगमा रुसी निर्यातकर्ताले अब प्राप्त विदेशी मुद्राको ९० प्रतिशत रुबलमा साटासाट गर्नुपर्नेछ । हतारोमा लागू गरिएका यस्ता कठोर रणनीतिले रुसको अनिश्चित वित्तीय प्रणालीमा प्रभाव पार्नेछ, जसले विनिमयदरमा थप अस्थिरता ल्याउन सक्छ ।

युक्रेन युद्धको प्रारम्भिक धक्काबाट निको हुँदै छ र यदि बलियो विदेशी सहायता जारी रह्यो भने युद्धमा युक्रेन अगाडि हुनेछ

युद्ध विशेषतः युक्रेनकै क्षेत्रमा भइरहेको छ । रुसले युक्रेनको उत्पादन, यातायात मार्ग, शैक्षिक संस्था र नागरिक पूर्वाधारमा प्रत्यक्ष रूपमा प्रहार गरिरहेको छ । सन् २०२२ को हिउँदेयाममा आठ अर्ब ८० करोड डलरबराबरको ठूलो क्षतिका अतिरिक्त साना व्यवसायले पनि क्षति व्यहोरेका थिए ।

युक्रेनी संसद्को वित्त, कर, र भन्सार नीति समितिका अध्यक्षका अनुसार यी अवरोधका दूरगामी समग्र आर्थिक प्रभाव थिए जसले अर्थतन्त्रलाई प्रत्येक दिन ‘२० करोड डलरभन्दा बढी गुमाउने’ जोखिममा पुर्‍याएको थियो । तर, अहिले युक्रेन उभ्रिसकेको छ । त्यसयता युक्रेनले नष्ट भएका थर्मल पावरप्लान्टको कम्तीमा ६२ प्रतिशत, जलविद्युत् प्लान्टको ६८ प्रतिशत र ८० प्रतिशत पावरलाइन मर्मत गरिसकेको छ । यद्यपि, पर्याप्त हवाई सुरक्षाको अभाव भएका हिस्सामा रुसी हवाई आक्रमण गम्भीर खतरा बनेका छन् ।

रुसी आक्रमणले युक्रेनी निर्यातमा पनि अवरोध पुगेको छ । युक्रेन विश्वको प्रमुख अन्न आपूर्तिकर्तामध्ये एक हो र औसतमा अन्न निर्यात युक्रेनको वार्षिक जिडिपीको करिब १० प्रतिशत हो । फेब्रुअरी २०२२ पछि रुसी नौसेनाले कृष्ण सागरबाट दुई करोड टन अन्न निर्यात हुनबाट रोकेको थियो र युक्रेनको बन्दरगाहमा राखिएका ‘हजारौँ टन अन्न’ नष्ट गरेको थियो । तर, जुलाई २०२३ मा रुसले राष्ट्रसंघ समर्थित ब्ल्याक सी सम्झौताका कारण युक्रेनले अर्को महिना नयाँ जहाजको बाटो स्थापना गर्न सफल भएको थियो ।

युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ए ब्रिंकले जनवरीको मध्यसम्ममा नयाँ जहाज मार्गमा एक करोड ६५ लाख टन अन्न ढुवानी गरिसकिएको जानकारी दिएका थिए जब कि राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौताले पूरै वर्षमा तीन करोड ३० लाख टन मात्रै पठाएको थियो । रुसका सन्दर्भमा अधिकांश आर्थिक घाटा आफ्नै गलत प्रबन्धन र पश्चिमा प्रतिबन्धको परिणाम हो । सैन्य हताहती र भर्तीबाट नागरिकको पलायनले गर्दा रुसले ‘जनसांख्यिकी संकट’को सामना गरिरहेको छ । यसबाहेक तेल र ग्यासको राजस्व घट्दै छ र पश्चिमा उत्पादनका पार्टपुर्जा र उपकरणको व्यापक अभावले रुसी अर्थतन्त्र कमजोर भएको छ । आर्थिक प्रतिबन्धले युद्ध नरोकिए पनि रुसी अर्थतन्त्रलाई तनावमा पार्न सफल भएको छ । 

निःसन्देह रुसले यी सबै समस्या आफैँले निम्त्याएको हो । रुसले पक्कै पनि सैन्य वा आर्थिक मोर्चामा युद्ध जित्न सक्दैन । युक्रेन युद्धको प्रारम्भिक धक्काबाट निको हुँदै छ र यदि बलियो विदेशी सहायता जारी रह्यो भने युक्रेन युद्धमा अगाडि हुनेछ । अमेरिका, नर्वे, जर्मनी, र अन्यले दिएको हवाई प्रतिरक्षाले गत हिउँदमा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमणलाई निष्प्रभावी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । 

पश्चिमले युक्रेनलाई आर्थिक र सैन्य सहायता जारी राख्नुपर्छ र रुसलाई युद्ध छेड्न आवश्यक पर्ने स्रोतबाट वञ्चित गर्न आर्थिक प्रतिबन्धलाई कडा बनाउनुपर्छ । दोस्रो तहको प्रतिबन्धले रुसी व्यापार र वित्तमा विद्यमान अवरोध लागू गर्न केन्द्रीय भूमिका खेल्न सक्छ । यी सबै युक्रेनको रक्षार्थ सहयोग गर्न तत्काल आवश्यक छ ।
(फिदिक क्यालिफोर्निया विश्वविद्यालयका वित्तशास्त्रका उपप्राध्यापक हुन् भने गोरोद्निचेन्को अर्थशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट