१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २६ शनिबार
  • Monday, 07 July, 2025
सौरभ यादव राजविराज
२o८o फाल्गुण २६ शनिबार o६:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मलेठ घटनाको सात वर्ष : पीडित परिवारको बेहाल

मधेश सरकारले अझै सार्वजनिक गरेन प्रतिवेदन

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o फाल्गुण २६ शनिबार o६:४९:oo

सप्तरीको मलेठमा हिंसात्मक घटना भएको बुधबार सात वर्ष पुगेको छ । तर, घटनामा ज्यान गुमाएका परिवारको अवस्था बेहाल छ । कसैलाई कर्जाले सताएको छ भने कोही रोजगारी नहुँदा अरूको खेतमा काम गर्न बाध्य छन् । पाँचजनाको ज्यान गएको सो घटनाबारे मधेश सरकारको प्रतिवेदन दराजमा थन्किएर बसेको छ । 

सप्तरीको राजविराज नगरपालिका– ९ मलेठमा हिंसात्मक घटनामा ज्यान गुमाएका सहिद सञ्जन मेहताका ७२ वर्षीय बुबा लक्ष्मण मेहता र ७० वर्षीया आमा शान्तिदेवी जस्ताले छाएको घरमा पसल चलाउँछन् । दुईकोठे घरको अगाडिको पर्खालमा एउटा फोटो टाँसिएको छ, जहाँ अंग्रेजीमा लेखिएको छ, ‘नेसनल हिरो सञ्जन मेहता ।’

घटनाबारे चर्चा हुँदा सञ्जनका आमाबुबा भक्कानिन्छन् । घटनाको सात वर्ष बितिसक्दासमेत उनीहरूको दुःख–व्यथा उस्तै छ । ‘छोराका कारण गाउँमा उन्नति भए पनि घरमा वेलावेला रुवाबासी चल्छ । घरको सहारा गुम्दा अहिले बेसहारा भएको छु । नेताहरूले निःशुल्क शिक्षा र रोजगारी दिने भने पनि नदिँदा दश लाख ऋण टाउकोमा थपिएको छ,’ सञ्जनका बाबु लक्ष्मणले भने । 

उनले तीन कट्ठा खेत र बस्दै आइरहेको घरजग्गा धितो राखेर कृषि विकास बैंकबाट १० लाख ऋण लिएका छन् । ‘नेताहरूले छोरालाई निःशुल्क पढाइदिने वाचा गरे, तर कसैले मद्दत गरेन । बाध्य भएर कर्जा लिएर छोरालाई पढाउँदै छु । बस्ने र खाने उमेरमा अहिले कर्जा चुक्ता गर्नैकै लागि दिनरात मिहिनेत गर्नुपरिरहेको छ,’ उनले भने, ‘मेरो छोरा कुनै आन्दोलनकारी थिएन, के कारणले हत्या गरियो ? त्यसको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ ।’

मलेठ घटनामा ज्यान गुमाएका वीरेन्द्र महतोको परिवारको अवस्था पनि कष्टकर छ । अभिभावकविहीन वीरेन्द्रकी श्रीमती रञ्जना देवीलाई आमाको हेरचाह र स–साना छोराछोरीलाई शिक्षा आर्जन गराउन हम्मेहम्मे परेको छ । उनी तीन छोरी, एक छोरा र आमासँगै बस्दै आएकी छिन् । 

घरमा अभिभावक कोही छैन । घरमा कमाउने कोही नभएकाले अरूको खेतमा काम गरेर छोराछोरीलाई पाल्दै गरेको उनले सुनाइन् । सात वर्षअघिको त्यो कालो दिन सम्झिनासाथ रञ्जना भक्कानिन्छिन्, आँखा भरिन्छ । कोही नयाँ मान्छे 
भेट्यो कि रुन थाल्छिन् । ‘के मेरो श्रीमान्को मूल्य १० लाख रुपैयाँ हो ? गरिबका छोरा मर्छन्, नेताले पद पाउँछ,’ उनले भनिन् ।

घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गरे पनि प्रदेश सरकारले प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै मन्त्रीस्तरीय छानबिन टोली गठन गरेको थियो । समितिले छानबिन सकेर प्रतिवेदनसमेत प्रदेश सरकारलाई बुझाइसकेको छ । अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

एमालेले मेची–महाकाली अभियानअन्तर्गत २३ फागुन ०७३ मा सप्तरीको मलेठमा सभा आयोजना गरेको थियो । तत्कालीन मधेशी मोर्चाले एमालेको सभा हुन नदिन विरोधको कार्यक्रम घोषणा गरेको थियो । मोर्चाले सभा हुन नदिने र एमालेले गरेरै छाड्ने अडान लिएपछि हिंसात्मक घटना भयो । 

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच एमालेले कार्यक्रम गर्दा प्रदर्शनकारीको ठूलो संख्या मञ्चतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर मलेठका पीताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसौनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।