१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडाैंका सबै वडामा पुन: स्रोतमै फोहाेर वर्गीकरण सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४७:oo

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहाेर वर्गीकरणको काम पुनः सुरु गरेको छ। कामपा– १० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहाेर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो। 

करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहाेर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बन्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो।  

लामो समयदेखि कामपा– १० को फोहाेर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।   

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहाेर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहाेर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन्। ‘स्रोतमा फोहाेर छुट्याएर कुहिने फोहाेरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ,’ प्रमुख श्रेष्ठले जानकारी दिए।  

कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिक रूपमा स्रोतमा नै फोहाेरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ। अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ।

घरेलु फोहाेरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं. २७ मा माघ २१ देखि थालिएको हो। वडामा घरघरबाट वर्गीकरण गरिएको फोहाेर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहाेरलाई टेकु ट्रान्सफर स्टेसनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ।  

कसरी गर्ने फोहाेर वर्गीकरण ? 

‘भान्सामा कुहिने र नकुहिने गरी दुई खालका फोहाेर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहाेर उत्पादक आफैँले बेच्न सक्छन्। कुहिने फोहाेर आफैँले पनि मल बनाउन सकिन्छ,’ विभागका प्रमुख श्रेष्ठले भने। उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहाेर संकलन गर्न आएको सवारीसाधनमा राखेर पठाउन सकिन्छ। 

तरकारी (सागसब्जी), बढी भएको खानेकुरा, माछामासु, हड्डी, अन्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहाेर हुन्।

त्यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरू, फलामलगायत वस्तु नकुहिने फोहाेर हुन् । 

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिई), पञ्जा, फुटेका सिसा, घर आँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहाेरका रूपमा संकलन हुन्छ। हिजोआज सहरी क्षेत्रमा सेनेटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहाेरको मात्रा बढ्दै गएको छ। 

ad
ad