नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले गठबन्धन भत्काउने प्रधानमन्त्रीको कदम कांग्रेसप्रति मात्र नभई जनताप्रतिकै विश्वासघात भएको बताए।
नेपाली कांग्रेसले गठबन्धन संस्कृति र आपसी सहमतिलाई इमानदारीपूर्वक पालना गरे पनि कपोलकल्पित कथा देखाएर प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ।
‘नेपाली जनताका बीचमा गरेका वाचाहरू, प्रतिज्ञाहरूलाई बेवास्ता गर्दा नेपाली कांग्रेसका प्रति मात्रै बेवास्ता होइन, नेपाली कांग्रेसका प्रति मात्रै विश्वासघात होइन। यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध मात्रै कुठाराघात होइन। गएको निर्वाचनमा जनताबीच प्रतिबद्धता व्यक्त गरेर अहिले गठबन्धन भत्काउनु जनमतको पनि घोर अपमान हो,’ लेखकले भने।