१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५७:oo

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको पुल एउटा गाडी मात्र ओहोरदोहोर गर्न मिल्ने खालको छ । 

०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले जानकारी दिए । ‘अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ,’ उनले भने, ‘दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण गरिनेछ ।’ भ्याटसहित एक अर्ब १९ करोडमा पुलको काम भइरहेको उनले बताए । ‘पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको छ,’ उनले भने । पटेलले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । लामो पुल नहुँदा राप्ती नदीमा आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आउजाउ गर्न समस्या हुने गरेको छ । बाढी बग्ने ठाउँमा सडक भएकाले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्टसमेत बगाउने गरेको छ । ‘बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँद र गर्मीयाममा समेत समस्या छ,’ राप्तीसोनारी गाउँपालिका– ७ का वडाध्यक्ष रामलखन थारूले भने, ‘पुल बन्न थालेपछि आउजाउ गर्न सहज हुने आशा पलाएको छ ।’

नरैनापुर गाउँपालिका– ५ मटेहियाका विनय दीक्षितले पुल निर्माण हुन थालेपछि खुसी लागेको बताए । उनले बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँदमा समेत आउजाउ गर्न असहज हुने गरेको बताए । ‘बर्खामा आउजाउ गर्न सकिँदैन नै, हिउँद र गर्मीयाममा समेत असहज हुन्छ,’ उनले भने, ‘सात सय मिटर लामो पुल बन्न लागेपछि नरैनापुरवासी खुसी देखिएका छन् ।’

ad
ad