Skip This
किसानलाई मौरीको घार वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १५ मंगलबार १o:o८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई मौरीको घार वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १o:o८:oo

मकवानपुरको बकैया गाउँपालिकाले मौरीपालक किसानलाई १३३ वटा मौरीका घार वितरण गरेको छ । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको पालिकाले समग्र बकैयालाई नै मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले पहिलो चरणमा १३३ वटा मौरीको घार वितरण गरिएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले मौरीपालनको सम्भाव्यता अध्ययनपछि मौरीपालनको सम्भावना रहेका क्षेत्रहरू वडा नम्बर १०, ११ र १२ का किसानलाई १३३ वटा मौरीको घार वितरण गरिएको जानकारी दिए । उनले यसअघि गाउँपालिकाको आयोजनामा वडा नम्बर ११ र १२ का किसानलाई लक्षित एकहप्ते मौरीपालनसम्बन्धी तालिमसमेत दिएको बताए । पालिकाले सेरेना जातको मौरीपालनका लागि ६ लाख ६५ हजार रुपैयाँबराबरको मौरीघार वितरण गरेको हो । मौरीघार किसानलाई वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रशंसा गरे ।

उनले कृषि क्षेत्र देश विकासको आधार भएको बताए । कृषि क्षेत्रमा रोजगारीका सम्भावना धेरै भएकाले यसलाई उद्यमशीलताको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । मन्त्री चित्रकारले सडक, बिजुली, सञ्चार, विद्यालय आदि विकासका पूर्वाधार मात्रै भएको उल्लेख गर्दै दैनिकी चलाउन आर्थिक स्रोतको आवश्यकता पर्ने र त्यो उद्यमशीलता रोजगारीबाट मात्र सम्भव हुने बताए । ‘देशको विकासमा भौतिक पूर्वाधार आवश्यक छ तर आयआर्जनका लागि उद्यमशीलता, व्यवसायीकरण पनि आवश्यक छ । त्यसका लागि कृषिलाई उद्योगका रूपमा विकास गर्न सकिन्छ । बकैयाले सुरु गरेको कृषि अभियानलाई सबैले सहयोग पु¥याऔँ,’ मन्त्री चित्रकारले आग्रह गरे ।

गाउँपालिकाका अध्यक्ष लामिछानेले किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरीघार उपलब्ध गराएको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि इन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।