नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरूले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।
सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूल्चोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ । कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुनेछ ।
समूहगत छलफलमा आज सबै सहभागीहरूले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी गराए । ‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरूको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ । सबै सदस्यहरूले आफ्ना धारणा तथा सुझावहरू राख्न पाउनेछन्,’ उनले भने ।