
भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन्। भारतले १२ वर्षपछि नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ।
नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा नेपाली नागरिकलाई सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जनाएको छ।
विभागले भारतमा लाइसेन्स प्राप्त सबै मोबाइल कम्पनीका नाममा परिपत्र जारी गरी नेपाली र भुटानी नागरिकलाई सिमकार्ड बिक्री गर्न आग्रह गरेको छ।
‘अब नेपाली नागरिकले भारतमा सिमकार्ड लिन पाउनेछन्। उपचारदेखि अध्ययन र तीर्थाटन गर्न आउने नेपालीहरूले सामना गर्दै आएको समस्या अब समाधान भएको छ,’ भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले दिल्लीबाट टेलिफोनमा भने, ‘पासपोर्ट, नागरिकता परिचयपत्र वा निर्वाचन परिचयपत्रमध्ये एउटा कागजका आधारमा नेपाली नागरिकले अब सिमकार्ड प्राप्त गर्ने सुनिश्चित भयो। यसको कार्यान्वयन गर्न एक साताजति समय लाग्छ भन्ने जानकारी आएको छ।’
नेपाली र भुटानी नागरिकलाई आफ्नो देशबाट भारत जाँदा भिसा लिनुपर्दैन। भिसा नलिएको राहदानीका आधारमा भारतीय दूरसञ्चार कम्पनीहरूले सिमकार्ड दिन बन्द गरेका थिए।
२०१२ अगस्ट ९ देखि भारत सरकारले भिसा लागेका विदेशीहरूलाई मात्रै सिमकार्ड दिने सूचना जारी गरेको थियो। यद्यपि, नेपाली नागरिकले २०१९ सम्म राहदानीका आधारमा सिमकार्ड लिँदै आएका थिए। कोरोना महामारीपछि भारतका दूरसञ्चार कम्पनीहरूले नेपाली र भुटानी नागरिकलाई सिमकार्ड बेच्न बन्द गरेका थिए।
भिसा लागेको पासपोर्ट वा भारतीय आधारकार्ड नभएका विदेशी नागरिकलाई सिमकार्ड दिन रोक लागेपछि भारतमा उपचारका लागि जाने, तीर्थयात्रामा जाने र अध्ययनका लागि जाने नेपालीहरू बढी मर्कामा परेका थिए।
सिमकार्डको अवधि एकदेखि तीन महिना हुने भनिएको छ। भारतमा सिमकार्ड प्रयोग नगरे वा रिचार्ज नगरे तीन महिनापछि स्वतः रद्द हुँदै आएको छ। सूचना विभागको सर्कुलरअनुसार नेपाली वा भुटानी नागरिकले पाउने सिमकार्डमा अन्तर्राष्ट्रिय रोमिङ सुविधा भने प्राप्त हुनेछैन।
दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्चका नेता आरबी खड्काले भारत सरकारको निर्णयले भारत जाने र त्यहाँ कार्यरत सबै नेपालीका लागि खुसीको सञ्चार गराएको बताए। उनले भने, ‘हामीले लामो समयदेखि यो माग राख्दै आएका थियौँ। नेपाल सरकारको प्रयासमा भारत सरकारले गरेको निर्णयबाट हामी खुसी छौँ।’
यसबारे नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक च्यानलमा कुराकानी हुँदै आएको थियो। पछिल्लोपटक भारत भ्रमणमा गएका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालीलाई सिमकार्डका लागि सहज व्यवस्था लागिएको जानकारी दिएका थिए। यसैगरी गत वर्ष भारत भ्रमणमा जाँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि भारतीय अधिकारीहरूसँग यसबारे चर्चा गरेकी थिइन्।
सबै प्रयासहरूमाझ नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश मन्त्रालयमा पटकपटक यसबारे छलफल गरेका थिए। ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइँदैन थियो,’ राजदूत शर्माले फेसबुकमा लेखेका छन्, ‘राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो।’