Skip This
महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २४ बुधबार o७:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरले अब कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार o७:४८:oo

पहिलो चरणमा वडा नम्बर २७ बाट सुरु, फोहोर उठाउन छुट्टै गाडीको व्यवस्था

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि स्रोतमै फोहोर वर्गीकरणको अभियान सुरु गरेको छ । यसका लागि महानगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गरिएको हो ।

‘फोहोर वर्गीकरण अभियान पटक–पटक लागू गर्न खोज्दा पनि तयारी अभावले कार्यान्वयनमा आउन सकेको थिएन,’ महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘अब भने अभियानकै रूपमा स्रोतमै वर्गीकरण भएको फोहोर संकलन गर्न संकेतसहितको गाडी पठाउन लागेका हौँ ।’ उनका अनुसार ३.५ क्युबिक मिटर क्षमताका गाडीको बीचबाट दुई खण्ड बनाइएको छ । दुवै खण्ड (कोठा) १.५ क्युबिक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बीचमा दुईवटा ढोका छन् । यसमध्ये बीचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ । नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ लगाइएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब एक हजार पाँच सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ । 

महानगरले वैशाख ०७९ मा जारी गरेको सूचनामा १ साउनदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख थियो । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, महानगरले आफ्नो तर्फबाट तयारी पुर्‍याउन नसक्दा महानगरवासीले फोहोर छुट्याए पनि त्यसले निरन्तरता भने पाउन सकेन । ‘त्यतिवेला हामीले तयारी पुर्‍याउन सकेनौँ । फोहोर छुट्याएर उठाए पनि हामीसँग कम्पोस्ट बनाउन ठाउँ थिएन । त्यसैले पूर्वतयारी राम्रोसँग गर्न खोजेका हौँ,’ उनले भने । 

वडा २७ बाट फोहोर वर्गीकरण अभियान 
महानगरले फोहोर वर्गीकरणको नमुना कार्यक्रम वडा २७ बाट गरेको छ । यसका लागि मंगलबारदेखि फोहोर छुट्याउन थालिसकेको छ । फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्छन्, ‘घरघरमै पुगेर फोहोर छुट्याउने विधि सिकाउँछौँ । फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।’ 

पाँच हजार जनसंख्या रहेको यस वडामा एक हजार चार सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकाले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ । यो साताभर वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने महानगरले जनाएको छ । २७ वडापछि क्रमिक रूपमा १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिनेछ । विभागले हरेक घरदैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्यांकनको समेत योजना बनाइरहेको छ ।  

चार हजारको कम्पोस्ट बिन १५ सयमै
महानगरले घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरी कम्पोस्ट मल बनाउन अनुरोध गर्दै कम्पोस्ट बिन वितरण पनि गरिरहेको छ । बिदाको दिनमा बाहेक प्रत्येक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म टेकुस्थित महानगरको कार्यालयबाट बिन किन्न सकिन्छ । ८ माघमा जारी सूचनाअनुसार बजार मूल्य चार हजार पर्ने कम्पोस्ट बिन १५ सयमै पाइनेछ ।