१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गगन अयडी बाजुरा
२०८० माघ २१ आइतबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जगन्नाथबाट हवाई उद्धार गरिएकी गर्भवतीको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० माघ २१ आइतबार १४:५१:००

उपचारका लागि हवाई उद्धार गरी सुर्खेत लगिएकी गर्भवतीको मृत्यु भएको छ।

जगन्नाथ गाउँपालिका- २ लुमाकी गर्भवती सुकिली सार्कीको शनिबार सुर्खेत अस्पतालमा मृत्यु भएको हो। शनिबार बिहान कोल्टी विमानस्थलबाट आपतकालीन अवस्थामा हवाई उद्धार गरी सुर्खेत लगिएपछि उनको मृत्यु भएको हो। 

उनीसँगै चार दिनको अवधिमा जगन्नाथ गाउँपालिकाका दुईजना गर्भवतीको आपतकालीन उद्धार गरिएको छ। सिकिस्त अवस्थामा शुक्रबार राति प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइएकी सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। 

सुर्खेत अस्पतालमा शल्यक्रिया गरेर मृत जुम्ल्याहा बच्चा निकालिएकाे थियाे। तर, पनि चिकित्सकले सार्कीलाई बचाउन सकेनन्। ‘डाक्टरहरुले उनलाई बचाउन कठिन छ भनेका थिए,’ मृतकका ससुरा रत्नचन्द्र सार्कीले भने, ‘दिउँसो अप्रेसन गरेर मृत जुम्ल्याहा बच्चा झिकेका थिए। साँझ उनको मृत्यु भयो।’

सुकिलीलाई पेट दुख्ने, टाउको दुख्ने, उच्च रक्तचापको समस्या थियो। उनलाई ब्रेनह्यामरेज भएको कोल्टीका डाक्टर रञ्जित साहले बताए। उनका अनुसार कोल्टीमा उपचार गर्न सम्भव नभएपछि सुविधासम्पन्न ठाउँमा रेफर गरिएको थियो।

लापरबाही र सचेतनाको अभावले गर्भवती सार्कीको ज्यान गएको डा. साह बताउँछन्। उनका अनुसार सार्कीले एकपटक पनि गर्भजाँच गराएकी थिइनन्। ‘जगन्नाथबाट आउने यस्ता केसमा अधिकांशले  गर्भजाँच नगरेको पाइएको छ,’ डा. साहले भने, ‘यस्ता समस्यालाई गाउँपालिकाले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ।’ 

सार्कीको घरबाट स्वास्थ्य चौकी पुग्न करिब १० मिनेटको दूरी छ। सार्कीका श्रीमान् अछाममा ज्याला–मजदुरी गर्छन्। उनका एक छोरा, एक छोरी छन्।