१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विलियम वालडोर्फ
२o८१ बैशाख २० बिहीबार १o:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युद्धविरोधी बनेका छन् अमेरिकी जनता

Read Time : > 2 मिनेट
विलियम वालडोर्फ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२८:oo

अमेरिका मध्यपूर्वमा युद्ध गर्न तम्तयार छ । आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । इजरायललाई अमेरिकी समर्थन रहेको भन्दै इस्लामिक रेसिस्टेन्स इन इराकले आक्रमणको जिम्मेवारी लिएको थियो । तत्पश्चात् राष्ट्रपति जो बाइडेनले जवाफी कारबाही गर्ने वाचा गरेका छन् । उनको प्रशासनले ‘अबका केही दिनमा’ जवाफी कारबाही गर्ने गरी तयारी गरिरहेको जनाएको छ र यसो भएमा युद्ध भड्किन सक्छ । 

के अमेरिकी युद्धका लागि तयार छन् ? बिल्कुल छैनन् । इजरायललाई समर्थन गर्ने अमेरिकी भावनालाई एकातिर राख्ने हो भने अमेरिकी जनता र नेता मध्यपूर्व नीतिमा गम्भीर रूपमा विभाजित छन् । युद्धले मन्दी निम्त्याउने र चीनको हितमा अमेरिकी स्रोतहरू खेर जाने मात्रै नभई युद्धले निम्त्याउने मुलुकभित्रको विभाजनले अमेरिकाको विदेश नीतिलाई आउने वर्षमा क्षति पनि पु‍र्‍याउन सक्छ । तसर्थ, बाइडेनले तनावलाई निमिट्यान्न गरेर इजरायलमा शान्ति ल्याउने प्रयास गर्नुपर्छ ।

सन् १९०० पछिका हरेक ठूला अमेरिकी युद्ध एक सम्मोहक भाष्यबाट सुरु भएको छ । अनुसन्धानले ती युद्धमा बलियो राष्ट्रिय सहमति भएको र युद्धसँग सम्बन्धित क्षतिमा अमेरिकी जनताको व्यापक स्वीकृति रहेको देखाउँछ । सोभियत विस्तार र साम्यवादले अस्तित्वकै खतरा निम्त्याउने भाष्यले कोरिया र भियतनाम युद्धमा अमेरिकी जनताको बलियो प्रारम्भिक समर्थन देखिएको थियो ।

सन् २००० र २०१० का युद्धका लागि ठूलो भाष्य ९/११को आक्रमण र आतंकवाद निमिट्यान्न पार्नु रहेको थियो । त्यसवेलाको ‘आतंकविरुद्धको युद्ध’को भाष्यले अफगानिस्तान र इराकमा अमेरिकी संलग्नतामा बलियो प्रारम्भिक सार्वजनिक समर्थन देखिएको थियो । आज खोइ कहाँ छ अमेरिकी राष्ट्रिय भाष्य ? वास्तवमा यस्तो भाष्य छैन । सन् २०१० को दशकको अन्त्यमा अलकायदा र इस्लामिक स्टेटको पतनसँगै आतंकवादविरोधी भाष्य कमजोर बनेको थियो । त्यसयता अन्य कुनै पनि अन्तर्राष्ट्रिय समूहले उल्लिखित दुई आतंककारी समूहको ठाउँ लिएको छैन ।

अमेरिकाका लागि मध्यपूर्वमा युद्धमा संलग्न हुनुपर्ने कुनै बाध्यकारी कारण छैन 

अमेरिकी जनता मध्यपूर्वका युद्धबाट आजित भइसकेका छन् । सन् २०१९ सम्ममा ५९ प्रतिशतले अफगानिस्तान ‘युद्ध लायक छैन’ भनेका थिए र केवल २७ प्रतिशतले अन्य देशमा गरिने हस्तक्षेपले अमेरिकालाई सुरक्षित बनाउने मानेका थिए । जबदेखि आतंकवाद घटेको छ, अमेरिका विदेशी ऊर्जामा कम निर्भर छ । यस अवस्थामा इरान गम्भीर खतराभन्दा पनि बढी चिन्ताको विषय मात्रै बनेको छ । अमेरिकाका लागि मध्यपूर्वमा युद्धमा संलग्न हुनुपर्ने कुनै बाध्यकारी कारण छैन ।

अहिले ठूलो राष्ट्रिय भाष्य छैन भन्ने तथ्य मध्यपूर्व सम्बन्धित बहसमा देखिन्छ । एक सर्वेक्षणअनुसार ८४ प्रतिशत अमेरिकी मुलुक युद्धमा जाकिने हो कि भनेर चिन्तित छन् । अमेरिकी सैन्य कारबाही नभए पनि ६५ प्रतिशत अमेरिकी गाजामा भइरहेको इजरायली युद्धमा विराम हुनुपर्ने ठान्छन् । बाइडेनले मुलुकलाई जोड्ने भनेर दिइएका अभिव्यक्ति पनि खासै उपयोगी हुन सकेको छैन । अहिले ३३ प्रतिशत जनताले मात्रै बाइडेनको संकट निरुपणको उपायलाई स्विकारेका छन् ।    
यदि अमेरिका युद्धतर्फ जान्छ भने गाजासम्बन्धी बाइडेनको रणनीतिको अस्वीकृति सम्भवतः बढ्नेछ । युवा मतदाताले गाजामा इजरायलको असमानस्तरको बल प्रयोगमा बाइडेनको अटुट समर्थनको कडा विरोध गर्छन् । गाजामा भएको असमान स्तरको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा २६ हजार प्यालेस्टिनी मारिएका छन् र मारिनेमध्ये अधिकांश महिला एवं बालबालिका छन् । प्रगतिशील डेमोक्य्राट पनि बाइडेनलाई समर्थन जनाउन हिच्किचाइरहेका छन् ।

रिपब्लिकनमाझ पनि बाइडेनप्रति वितृष्णा बढेको छ । रिपब्लिकन पार्टीको राष्ट्रवादी हिस्सा अहिले युद्धका लागि सहज छैन । डोनाल्ड ट्रम्पले हालै मध्यपूर्वमा अत्यधिक बमबारी भएको भन्दै आलोचना गरेका छन् । त्यसैगरी केही ट्रम्पनजिकका नेताले सैन्य कारबाहीमा रोक लगाउनुपर्ने माग गरेका छन् वा सैन्य कारबाहीको विरोध गरेका छन् ।       यी सबै दृष्टान्तले अमेरिकाले पुनर्विचार गर्नुपर्छ भन्ने सन्देश दिएको छ । अध्ययनका अनुसार अलोकप्रिय युद्धमा संलग्न हुँदा कडा सार्वजनिक विरोध हुन सक्छ, चाहे युद्ध राष्ट्रिय हितमै किन नहोस् । विशेषतः एसिया र युरोपका महत्वपूर्ण चुनौतीलाई सम्बोधन गर्न लचिलो र संलग्न भइरहनुपर्ने अवस्थामा अमेरिकाले मध्यपूर्वको द्वन्द्वमा प्रत्यक्ष रूपमा भाग लिनु मूर्खतापूर्ण हुनेछ ।

बाइडेनले संयम हुन आवश्यक छ । उनले इरानमाथि कुनै किसिमको आक्रमण गर्नुहुँदैन किनभने आइतबारको घटनाका लागि इरानले जिम्मेवारी लिएको छैन । उनले इरान समर्थित यमनको हुथीविरुद्ध थप हवाई आक्रमण गर्ने मामिलामा पनि पुनर्विचार गर्नुपर्छ । बरु उनले लालसागरमा अन्तर्राष्ट्रिय जहाजमा हुने आक्रमणलाई रोक्नका लागि रक्षात्मक मुद्रामा फर्कनुपर्छ । यो रणनीतिले यमनमा अमेरिकी आक्रमणअघि कुनै पनि मृत्यु वा ठूलो क्षतिविना प्रभावकारी रूपमा काम गरिरहेको थियो । यसलाई नै अगाडि बढाउनुपर्छ । सामान्यतया हुथीजस्ता इरानी छद्म समूहलाई प्रहार गर्दा तिनमा निकै कम क्षति पुग्छ, तर आक्रमणले तिनको वैधानिकता बढाउन सक्छ । पछि हट्नुले अमेरिकालाई युद्धको उक्साहटबाट बाहिर निकाल्न मद्दत गर्छ ।

वासिंटनले इजरायललाई गाजामा युद्धविराम गर्न भन्नुपर्छ । गाजायुद्ध तीव्र रूपमा क्षेत्रीय युद्ध बन्दै गइरहेको छ, जुन अमेरिकी हितविरुद्ध हो । युद्धविराम लागू गर्नाले क्षेत्रीय तनावलाई कम गर्नेछ, युद्धको थप उक्साहटलाई रोक्नेछ, अमेरिकाभित्रै पनि स्थायित्व कायम गर्नेछ । मध्यपूर्वभन्दा बाहिर रहेको वास्तविक अमेरिकी राष्ट्रिय सुरक्षा हिततर्फ प्रशासनको बढी ध्यान खिच्नेछ । छोटकरीमा भन्ने हो भने ढिलो हुनुअगावै मध्यपूर्वको नीतिमा हेरफेर गर्न आवश्यक छ ।
(वालडोर्फ वेक फरेस्ट विश्वविद्यालयका प्राध्यापक हुन्) टाइमबाट 

ad
ad