Skip This
बालिका बलात्कारपछि मिलापत्रमा टुंग्याउन पीडित पक्षलाई दबाब 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १८ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o माघ १८ बिहीबार १४:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालिका बलात्कारपछि मिलापत्रमा टुंग्याउन पीडित पक्षलाई दबाब 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १८ बिहीबार १४:४o:oo

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको घटनालाई गाउँमै मिलापत्र गराउन पीडक पक्षले पीडित बालिकाको परिवारलाई पटक–पटक दबाब दिने गरेको खुलासा भएको छ।

गत पुस २९ गते बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका– २ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेपछि यस्तो यो घटना सार्वजनिक भएको हो।

आफूमाथि जबर्जस्ती करणी गरेको आरोपसहित पीडित बालिकाले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्न मगरलाई यही माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए।

पक्राउ परेका मगरलाई जिल्ला अदालत खोटाङबाट दोस्रोपटक बुधबार पुनः सात दिनको म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेब भएको र मावली हजुरआमाको स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी गएको वेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाबारे सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन्।

‘बिरामी हजुरआमालाई एउटा कोठामा छोडेर मलाई अर्को कोठामा लग्यो। हजुरआमाको स्वास्थ्य अवस्थाबारे सोध्ने बाहनामा ढोका थुनेर जबर्जस्ती लुगा खोलेर बलात्कार गर्‍याे। बाहिर हजुरआमासँग रहेकी दिदीलाई बोलाउन खोज्दा मुख थुनिदियो,’ उनले भनिन्, ‘आफूमाथि जबर्जस्ती करणी भएको विषयमा कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दियो। मैले डराउँदै दिदीलाई सुनाएँ। हजुरआमाको स्वास्थ्य अवस्था कमजोर थियो। चौकीबाट घर फर्काएलगत्तै हजुरआमाको मृत्यु भयो। काजकिरियाको बन्दोबस्तमीमा लाग्दा पीडक मगरविरुद्ध उजुरी दिन ढिलाइ भयो।’

उनले थपिन्, ‘माघ ११ गते हजुरआमाको काजकिरिया सकेपछि प्रहरीचौकी धर्तुङ पुगेर जाहेरी दिएकी थिएँ । धर्तुङमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय चिसापानी पठायो। त्यहाँ पनि हामी केही गर्न सक्दैनौँ भन्दै जिल्ला पठाएको छ। प्रहरीमा उजुरी लिएर गएको थाहा पाएपछि मिलापत्र गर्न पटकपटक दबाब आइरहेको छ।’

आफूमाथि भएको जबर्जस्ती बलात्कारको घटनालाई मिलापत्र गर्न माघ ५ गते गाउँ–समाजसमेत भेला भएको पीडित बालिकाले बताइन्। घटनालाई मिलापत्र गर्न खोजेको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको सुन्तलेका वडाध्यक्ष पदमबहादुर मगरले बताए।

‘स्वास्थ्य चौकी सञ्चालक समितिको अध्यक्ष म आफैँ छु। बलात्कार आरोपमा करारमा कार्यरत अहेवलाई प्रहरीले पक्राउ गरेर लगेछ,’ उनले भने, ‘के भएको हो ? सत्यतथ्य छानबिन होस्। दोषी भए कारबाहीको दायरामा आउनुपर्छ। निर्दोष भए फसाउन पाइन्न।’

घटनाबारे पीडकको बुबा र काकाले मिलापत्र गर्न पटकपटक घरैमा आएर दबाब दिने गरेको पीडित बालिकाले बताएकी छन्। यो घटनामा जति दबाब आए पनि आफू मिलापत्र नगर्ने पक्षमा रहेको उनले बताइन्।