
संखुवासभाको मकालु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सिंहेश्वरी माध्यमिक विद्यालय नुमले जितेको छ।
१० स्वर्ण, १० रजत र १० कांस्यसहित ३० पदक प्राप्त गर्दै सिंहेश्वरी मावि प्रथम हुँदा सेदुवाको हेमाद्रि मावि नाै स्वर्ण, १० रजत र आठ कास्य गरी २७ पदकसहित दोस्रो भयो। तेस्रो स्थान हासिल गरेको हिमालय मावि हेदाङ्नाले नाै स्वर्ण, आठ रजत र १० कास्यसहित २७ पदक हात परेको गाउँपालिकाका शिक्षा शाखा संयोजक पुष्पबहादुर तामाङले बताए।
मंगलबारदेखि सुरु भएको प्रतियोगिताका विजेतालाई शुक्रबार मकालु गाउँपालिका– २ का वडाध्यक्ष छोपाल शेर्पा, शिक्षा संयोजक पुष्पबहादुर तामाङ र हेमाद्रि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर पराजुलीलगायतले पुरस्कार वितरण गरे।
पाँचौँ स्थानीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगितामा ३४ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगिता हेमाद्रि माविले आयोजना गरेको थियो।
यसअघि केही दिनअघि सम्पन्न चिचिला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि जालपा मावि डाँडागाउँले जितेको थियो। जालपाले १० स्वर्ण, ४ रजत र आठ कांस्य जित्दा दोस्रो भएको सरस्वती मावि बलौटेले नाै स्वर्ण, ११ रजत र तीन कांस्य हात पारेको थियो। धर्मदेवी मावि देवीटार ६ स्वर्ण, आठ रजत र १२ कांस्यसहित तेस्रो भएको चिचिला गाउँपालिकाका विद्यालय सुपरिवेक्षक महेन्द्र राईले जानकारी दिए।