१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा राजेन्द्र महतो 

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४९:oo

मधेशी, आदिवासी जनजाति सबैलाई मिलाएर देशव्यापी आन्दोलन गर्ने दाबी, एजेन्डा बहुल राष्ट्र राज्य निर्माण

सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । यसका लागि उनी राष्ट्रिय मुक्ति क्रान्तिको आन्दोलन थाल्ने तयारीमा छन् । बुधबार काठमाडौंमा ‘गजेन्द्रबाबुको विचार र मधेशको वर्तमान राजनीति’ विषयक अन्तरक्रियामा उनले मेचीदेखि महाकालीसम्म, हिमालदेखि मधेशसम्म सबैलाई आन्दोलनका लागि तयार रहन आह्वान गरे । महतो केही दिनभित्रै आफ्नो नयाँ अभियान घोषणा गर्ने तयारीमा छन् । 

गत प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि मूलधारको राजनीतिमा भूमिकाविहीन देखिएका महतोले सार्वजनिक रूपमै आफ्नो पार्टी लोसपालाई ‘लोसे’ भएको टिप्पणी गर्दै आएका छन् । मंसिरको तेस्रो साता आयोजित लोसपाको केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरेका महतो अब बहुल राष्ट्र राज्य निर्माणको एजेन्डासहित नयाँ आन्दोलनको तयारीमा लागेका हुन् । 

‘उत्पीडिनमा परेका सबै जातजाति र समुदाय मिल्नुपर्छ भन्ने गजेन्द्रबाबुको मान्यता थियो,’ महतोले तत्कालीन सद्भावना पार्टीका संस्थापक सिंहलाई सम्झँदै भने, ‘उहाँले यसका लागि प्रयास पनि गर्नुभयो, तर शासक वर्गले गर्न दिएनन् । पूर्वमा कोचेमेचे हुँदै पश्चिममा थारू र मुस्लिमसम्म सबैलाई मिलाएर पहिचानको लडाइँ लड्न चाहनुहुन्थ्यो । उहाँको अधुरो सपना पूरा गर्न बाँकी छ । अधिकार र पहिचानको सवाल बाँकी नै छ । पहिले पहिचान त्यसपछि अधिकार । पहिचान नभएपछि अधिकार कसरी पाइन्छ ? त्यसैले अहिले पनि पहिचानको संघर्ष प्राथमिकतामा रहनुपर्छ । यसका लागि आन्दोलन गर्न तयार हुनुपर्छ ।’

सांस्कृतिक आन्दोलनमार्फत नयाँ क्रान्ति सुरु गर्ने तयारीमा रहेको महतोले बताए । ‘बहुल राष्ट्र राज्य निर्माणका लागि देशमा एउटा क्रान्तिको आवश्यकता छ । अब त्यो आन्दोलन अर्थात् राष्ट्रिय मुक्ति क्रान्तिको परिकल्पना हामीले गरेका हौँ,’ महतोले भने, ‘यो देशमा सबैले अधिकार र पहिचान पाउनुपर्छ । सांस्कृतिक आन्दोलनबाटै हाम्रो क्रान्ति सुरु हुन्छ । हामी पहिचान देखिने गरी सांस्कृतिक आन्दोलन गर्छौँ । पछि त्यो पहिचानको अधिकारमा परिणत हुन्छ । हामी त्यसकै तयारी गरिरहेका छौँ ।’

महतोले उत्पीडिनमा परेका मधेशीसहित आदिवासी जनजाति समुदायलाई पनि आन्दोलनमा सहभागी गराएर देशव्यापी आन्दोलनको ‘मोडल’ तयार गरिरहेका छन् । ‘उत्पीडनमा परेको मधेशी–जनजाति अब मिल्नुपर्छ,’ उनले भने, ‘सबै मिले भने हामीसँग दुईतिहाइ जनसंख्या हुन्छ । बाँकी जनसंख्याको सवाल पनि हामीले उठाउने हो । यहाँ हाम्रो सभ्यता र संस्कृतिमाथि पनि आक्रमण भइरहेको छ, त्यो पनि हाम्रो एजेन्डा हुन्छ । स्वदेशवाद भनेको त्यही हो । आफ्नो सभ्यता, संस्कृति र पहिचानको रक्षा गर्ने हो ।’  

महतो औपचारिक रूपमा लोसपा त्याग नगरी नयाँ अभियान घोषणा गर्ने तयारीमा छन् । ‘यो देशलाई साझा फूलबारी भनियो, तर एकलजसरी चलाइयो,’ उनले भने, ‘तर, यो एकल जातीय राज्य होइन, यो बहुल राष्ट्रिय राज्य हो । यो मधेशीको पनि हो, जनजातिको पनि हो, थारूको पनि हो, खस–आर्यका पनि हो, सबैको देश हो । यद्यपि, अहिलेसम्म सबैको देश बन्न सकेन । एकल चिन्तन र सोचबाट यो देशको शासन र संविधान बनाइनु र चलाइनु नै यो सबै समस्याको जड हो । अब यसको अन्त्यका लागि आन्दोलनको तयारी गरेका हौँ ।’

नयाँ आन्दोलनको तयारीमा रहेका महतोलाई लोसपाकै युवा नेताहरू केशव झा, अनिल महासेठलगायतले साथ दिइरहेका छन् । नयाँ आन्दोलनको विचार र स्वरूप निर्माणका लागि महतोलाई दार्शनिक बुद्ध छिरिङ मोक्तानले सहयोग गरिरहेका छन् । 

ad
ad