१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मुख्य समाचार प्रिन्ट संस्करण

खाँबोमा बाँधेर महिला कुट्ने १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०८० माघ १० बुधबार १०:११:००

प्रहरी हिरासतमा रहेका सातजना कारागार चलान, तीनजना अझै फरार 

सिन्धुलीमा खाँबोमा बाँधेर महिलालाई कुटपिट गर्ने १० मध्ये सातजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  जिल्ला अदालत सिन्धुलीका न्यायाधीश रमेश शर्मा पौडेलको मंगलबारको इजलासले थुनछेक बहसपछि १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि तीनजना फरार नै छन् । प्रहरी हिरासतमा रहेका सातजनालाई भने जिल्ला कारागार सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

पीडितका श्रीमान् ४२ वर्षीय सन्तोष थापा, कमलामाई नगरपालिका– ४ का ६२ वर्षीय एक्कबहादुर खड्का, ३९ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय विष्णुकुमार ढकाल, ३८ वर्षीय ईश्वर पोखरेल र ५२ वर्षीय वीरविक्रम ढकाल कारागार चलान भएका हुन् ।

कमलामाई नगरपालिका– ४ का लक्ष्मी पोखरेल, लीलाकुमारी खड्का र गणेश देवकोटा भन्ने कुलविक्रम देवकोटा भने फरार छन् । डिएसपी दाहालले फरार रहेकाको खोजी भइरहेको बताए ।

कमलामाई नगरपालिका– ४, ढकालगाउँकी ३७ वर्षीया शारदा थापालाई शरीर बन्धक बनाई कुटपिट गरेको घटनामा १० मध्ये सातजनालाई प्रहरीले पक्राउ गरेको थियो । पीडित थापाले घटनामा संलग्न १० जना रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले शरीर बन्धक लिएको (दफा २१२) शरीर बन्धक र कुटपिट अंगभंग मुद्दामा अनुसन्धान गरेको थियो ।

ऋण नतिरेको भन्दै उनीहरूले थापालाई पुस ५ देखि ८ गतेसम्म बन्धक बनाई कुटपिट गरेका थिए । शरीर बन्धक बनाई कुटपिट गरिरहेको अवस्थामा ८ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले घटनास्थलबाट पीडितलाई अचेत अवस्थामा उद्धार गरेका थिए । उनलाई घरको खाँबो, बिजुलीको पोलमा डोरीले बाँधेको र कुटपिट गरेका थिए ।