१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकामा भूमिगत पानीको सतह घट्दो : वार्षिक एक मिटर तल सर्दै छ पानी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१४:oo

मिनमुनिको पानी अत्यधिक प्रयोगका कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह वार्षिक एक मिटर तल झरिरहेको छ । अव्यवस्थित ढंगमा हुने डिप बोरिङ र बस्ती विस्तारका कारण ‘रिफिल’ क्षेत्र अभावले बर्सेनि भूमिगत पानीको सतह झरिरहेको जलविज्ञहरूले बताएका छन् । 

जलविद् मधुकर उपाध्याका अनुसार यो समस्या काठमाडौंको रिङरोडभित्र अझै बढी चर्कँदो छ । कतिपय ठाउँमा निकै गहिरो इनार खन्दा वा डिप बोरिङ गर्दा पनि पानी नआउने अवस्था छ । ‘हरेक वर्ष भूमिगत पानीको सहत धसिँदै छ, तर सरकारी निकायले यो समस्याबारे कुनै अध्ययन गर्दैन, गरे पनि प्रतिवेदन लुकाउँछ । केही समयअघि गरिएको एक अध्ययनले उपत्यकाकाे अधिकांश ठाउँमा पानीको सतह वार्षिक रूपमा एक मिटर तल झरिरहेको जनाएको थियो,’ उनले भने, ‘उपत्यकामा ठाउँअनुसार पानीको सहत फरक–फरक छ ।’ 

उपत्यकाका खोला–किनारका क्षेत्रमा समेत २०–२५ फिट गहिरो खनेपछि मात्रै पानी आउँछ । माथिल्लो सतहमा पानी भेट्न मुस्किल हुन थालेपछि अधिकांश ठाउँमा डिप बोरिङ गर्न थालिएको छ । पानीको सतह घटेपछि पुराना इनार सुक्ने क्रम बढेको छ । जलविद् उपाध्यायले जमिनमुनिको पानी तान्नेबारे सरकारी निकायले अनुगमन र कडाइ गर्न आवश्यक रहेको बताए । यसोगर्दा जथाभावी पानीको दोहन रोकिने उनको भनाइ छ । 

ठूला भवनले मात्रै तान्छन् दैनिक ६० करोड लिटर भूमिगत पानी
उपत्यकामा बनिरहेका अग्ला भवनले जमिनमुनिको पानी अत्यधिक तान्ने र विनाअनुमति डिप बोरिङ गरिरहेका छन् । काठमाडौंमा चार सय ५० भन्दा बढी ठूला भवन (अस्पताल, अपार्टमेन्ट, सरकारी कार्यालय, होटेल)ले अनुमति नलिई डिप बोरिङ चलाउँदै आएको खानेपानी मन्त्रालयको तथ्यांक छ ।

विनाअनुमति जथाभावी डिप बोरिङ र फाउन्डेसनको काम गर्दा भूमिगत पानीको सतह घट्ने र जमिनमै असर पर्ने विज्ञहरूको भनाइ छ । कतिपयले एउटा डिप बोरिङको अनुमति लिएर सातवटासम्म चलाएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले जनाएको छ । खानेपानी मन्त्रालयको तथ्यांकअनुसार होटेल, अस्पताल, हाउजिङ, सरकारी र निजी आवास क्षेत्रलगायतले दैनिक ६० करोड लिटर भूमिगत पानी तान्छन् । 

बर्खाअघिसम्म केयुकेएलले उपत्यकामा दैनिक १८ करोड लिटर मेलम्ची र आसपासका मुहानको १२ करोड लिटर पानी वितरण गरिररहेको थियो । तर, हाल मेलम्चीको पानी बन्द छ । मेलम्ची बन्द भएपछि भूमिगत पानीको दोहन झनै बढेको छ । उपत्यकामा खोला, कुवा र मूलको भन्दा बढी पानी डिप बोरिङ र इनारबाट तान्ने गरिन्छ । पिउनका लागि केयुकेएलले तालिकाअनुसार उपत्यकामा पानी वितरण गर्ने गरे पनि अन्य प्रयोजनमा भने भूमिगत पानीकै भर छ । उपत्यकाका विभिन्न ठाउँमा पानीको सतह मापन गर्न ‘ग्राउन्ड वाटर मनिटरिङ वेल’ बनाउने बोर्डको योजना भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

 ठूला निकायले ३० फिटभन्दा तलबाट मात्रै पानी तान्नुपर्ने 
खानेपानी व्यवस्थापन बोर्डकी अनुगमन तथा अनुमति एकाइ प्रमुख राधा ढकालले ३० फिटभन्दा गहिरो इनार वा डिप बोरिङ गर्नुपरे बोर्डसँग अनुमति लिनुपर्ने बताइन् । उनका अनुसार, ठूला अस्पताल, हाउजिङ, अपार्टमेन्ट, आवास क्षेत्र, पानी सप्लायर्सलगायते ३० फिटभन्दा तलबाट मात्रै पानी तान्न पाउँछन् ।

अग्ला भवन तथा अपार्टमेन्ट, होटेल, अस्पताल, सरकारी कार्यालय, पानी उद्योगलगायतले भूमिगत पानी निकाल्न बोर्डसँग अनुमति लिनुपर्छ । ‘हामीसँग जनशक्ति सीमित छ, सबैतिर दोहन रोक्न सकिरहेका छैनौँ,’ उनले भनिन्, ‘पानी धेरै खर्च गर्ने निकायले ३० फिटभन्दा तलबाट मात्रै पानी तान्न पाउँछन्, यसबारेमा हामीले हप्तामा दुईपटकसम्म अनुगमन गर्छौँ ।’ उनले पानीको सतह घट्दो वा बढ्दो अवस्थाको पुष्टि गर्न भने अध्ययन नै हुनुपर्ने बताइन् ।

मधुकर उपाध्या, जलविद्
यो समस्या काठमाडौंको रिङरोडभित्र निकै चर्कँदो छ । कतिपय ठाउँमा निकै गहिरो इनार खन्दा वा डिप बोरिङ 
गर्दा पनि पानी नआउने अवस्था छ । हरेक वर्ष भूमिगत पानीको सहत धसिँदै छ, तर सरकारी निकायले यो समस्याबारे कुनै अध्ययन गर्दैन, गरे पनि प्रतिवेदन लुकाउँछ । 

राधा ढकाल, प्रमुख, अनुगमन तथा 
अनुमति एकाइ, खानेपानी व्यवस्थापन बोर्ड

हामीसँग जनशक्ति सीमित छ, सबैतिर दोहन रोक्न सकिरहेका छैनौँ । पानी धेरै खर्च गर्ने निकायले ३० फिटभन्दा तलबाट मात्रै पानी तान्न पाउँछन्, यसबारेमा हामीले हप्तामा दुईपटकसम्म अनुगमन गरिरहेका छौँ । ०७१ मा बोर्डले निर्देशिका जारी गरेयता जथाभावी हुने पानीको दोहन क्रमिक रूपमा रोकिएको छ । 

ad
ad