१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रदेश गौरवका आयोजनालाई बेवास्ता गरियो : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१६:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो गरेका छन् । साना टुक्रे आयोजनाहरूले प्रदेशको दीर्घकालीन लक्ष्यमा बाधा पुगेको बताउँदै उनले कर्मचारीहरू साना आयोजनामै रमाउने र ठूला आयोजनालाई अलपत्र पार्ने गरेको आरोप लगाए ।

राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार धुलिखेलमा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले जनतासँग जोडिएका जनपक्षीय आयोजनाहरू कार्यान्वयनमा जोड दिएका छन् । उनले प्रदेश सरकारको प्रतिनिधित्व गर्ने कर्मचारीहरूले सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । 

संघीयता बलियो भए मात्र पेसागत हक–अधिकार सुनिश्चित हुने प्रस्ट पार्दै मुख्यमन्त्री जम्कट्टेलले ट्रेड युनियन अधिकारको रक्षा एवं प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।उनले संघीयता अनुभूति हुने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । एकात्मक व्यवस्थामा जागिर खाएका केही उच्चपदस्थ कर्मचारीले अझै पनि संघीयताको मर्मअनुरूप प्रशासनिक नेतृत्व गर्न नसक्दा प्रदेश सरकारले अपेक्षा गरेअनुरूप काम गर्न नसकेको उनको जिकिर छ । 

बागमती प्रदेश सभाका सदस्य सरल सहयात्री पौडेलले जनताको हित हुने काम कर्मचारीले जोखिम मोलेर भए पनि गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य पौडेलले आफ्नो पार्टी र कर्मचारी संगठनको अन्तरसम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । प्रत्येक जिल्ला र स्थानीय पार्टीलाई राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीको ज्ञान, सीप र क्षमता प्रयोग गर्न निर्देशन दिनेसमेत उनले बताएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले अर्थ–राजनीतिबारे कर्मचारीलाई प्रशिक्षण प्रदान गरेका थिए । यस्तै, पूर्वसचिव डा. दामोदर रेग्मीले जनयुद्ध र जनआन्दोलनको जगमा उभिएको संघीयतालाई मजबुद बनाउन कर्मचारीले अपनत्व लिनुपर्नेमा जोड दिए ।  

ad
ad