१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३५:oo

आयुर्वेदमा आचार्य चरकको एउटा भनाइ चर्चित छ– जसरी नगरप्रमुखले आफ्नो नगरको आवश्यकताको समाधान सधैँ गर्दछन् र सतर्क रहन्छन् । जसरी सारथिले रथलाई सावधानीपूर्वक राम्रो मार्गबाट अघि बढाउँछन् । त्यसरी नै एउटा बुद्धिमान व्यक्ति शरीरका सबै क्रियाहरूको समग्र सम्पादनका लागि सदैव सचेत रहनुपर्ने हुन्छ । अहिले, मानिसले आफ्नो शरीरको ख्याल नराख्दा विभिन्न स्वास्थ्य जटिलता उत्पन्न भएका छन् । सरुवा रोगले महामारीको रूप लिइरहेका छन् । आयुर्वेदमा स्वस्थ जीवनका लागि विभिन्न मार्ग बताइएको छ । हाम्रो दैनिक खानपानको यसमा ठूलो भूमिका रहन्छ । हाम्रो समाजमा एउटा समूह मसला खानै हुँदैन भनेर प्रचार गरिरहेको छ । अर्को समूह, मिठो स्वादका लागि अत्यधिक रूपमा मसला प्रयोग गरिरहेको छ । हामीले सन्तुलित रूपमा मसलाको प्रयोग गर्ने हो भने यसले हामीलाई निरोगी रहन सहयोग गर्छ । हाम्रो भान्सामै औषधीय गुण भएका जडीबुटी उपलब्ध हुने भएकाले हामीले घरमै पकाएका खानेकुरामा जोड दिन जरुरी छ । 

डा. मिथिलेशकुमार साह 
उपप्राध्यापक आयुर्वेद क्याम्पस, कीर्तिपुर

सुठो : सुकेको अदुवा धुलोलाई हामी सुठो भन्छौँ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम, रुखाखोकी, श्वासप्रश्वास, ज्वरो, बान्ता, पेट दुख्ने, बाथ, ढाड दुख्नेलगायत समस्या समाधानमा मद्दत मिल्छ । 

मरिच : अहिले रुखाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ । 

बेसार : यसलाई कोभिडकालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ । 

ज्वानो : ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्नेलगायत बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो बनाउँछ । 

मेथी : मधुमेहका बिरामी, जसलाई बारम्बार पिसाब लाग्छ, त्यस्तो बिरामीलाई मेथी निकै लाभकारी छ । यसले ज्वरोलाई पनि निको पार्छ । बाथरोग, जन्डिस, रुघाखोकी, कफ बढेको अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ । मेथी पिसेर लगाउँदा वा यसको पानी पिउँदा छालामा डन्डिफोर आउने समस्या कम हुन्छ । 

तुलसी : हाम्रो भान्सामा पाइने जडीबुटीमध्ये तुलसी पनि एक हो । धेरै रोग निको पार्न सक्ने गुण भएकाले हामी यसलाई भगवान्का रूपमा पुज्छौँ । तुलसीको नियमित प्रयोग गर्दा प्रतिरोधी क्षमता बढ्छ । मुटुको समस्या, मिर्गौलाको समस्या, दमको समस्या, ज्वरो, रुघाखोकीलगायतमा यसले राम्रो काम गर्छ । 

प्याज : प्याजले शीतलता प्रदान गर्छ । मुटुसम्बन्धी समस्या भएका, एनिमिया (ब्लड काउन्ट कम भएको अवस्था), कब्जियतका बिरामीका लागि पनि यो लाभकारी छ । 

जिरा : शरीरमा गर्मी हुने, जिउ–हात पोल्ने, पिसाब पोल्नेलगायत समस्यामा जिरा प्रभावकारी मानिन्छ । यसले गर्मीमा शीतलता प्रदान गर्छ । 

तिल : तिल पनि औषधीय गुण भएको जडीबुटी हो । यसले छालासम्बन्धी रोग (मुखमा आउने पोतो, दाग, धब्बा) हटाउन तथा कम्मर दुखाइ कम गर्न सहयोग गर्छ । अलि मोटो मानिसले तिल खाँदा तौल नियन्त्रण हुन्छ । तर, धेरै दुब्लो मानिसले तिल खानु राम्रो हुँदैन । 

तेजपत्ता : तेजपत्ताले कुनै पनि खानालाई हल्का बनाउँछ । शरीरलाई पनि कोलेस्टोरेलहरू बढेको अवस्थामा राम्रो काम गर्छ । यसले रुघाखोकी, ज्वरो, घाँटी बस्ने अवस्थामा पनि राम्रो गर्छ । 

लसुन : घाँटी बसेर स्वर बिग्रिएको वा बोल्न नसक्ने अवस्थामा स्वर खुलाउन यसले राम्रो काम गर्छ । 

नोट : यी जडीबुटीको प्रयोग मात्रा मिलाएर गर्नुपर्ने हुन्छ । स्वादका लागि अत्यधिक प्रयोग गर्दा उल्टै हानि हुन सक्छ । रोगसँग जुधिरहेका, औषधि सेवन गरिरहेकाहरूले सम्बन्धित चिकित्सक वा आयुर्वेदिक चिकित्सकसँग परामर्श गरेर आवश्यकताअनुसार यसको प्रयोग गर्न सकिन्छ ।

ad
ad