१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
धनगढी डिपोभित्र त्रिपाल ओढाएर राखिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आयल निगमको धनगढी डिपोभित्रै ट्यांकरमा त्रिपाल ओढाएर ‘तेल चोरी’

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:११:oo

तापक्रम नोक्सानीको ‘लुप होल’ प्रयोग गरेर तेल चोरी गर्न आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी डिपोभित्र त्रिपाल ओढाएका ट्यांकरलाई निर्वाध प्रवेश गर्न दिने गरेको भेटिएको छ । निगमको धनगढी डिपोले इन्डियन आयल कर्पोरेसन (आइओसी)को उत्तर प्रदेशस्थित बन्थरा डिपोबाट पेट्रोल र डिजेल आयात गर्दै आएको छ । तापक्रम नोक्सानीबापत हुने ‘वैधानिक चुहावट’को फाइदा उठाउन नियमित रूपमा ती ट्यांकरमा त्रिपाल ओढाएर ल्याउने गरेको स्रोतको भनाइ छ । विगतमा डिपोनजिकै बाटोमा त्रिपाल छाड्ने गरिन्थ्यो, तर पछिल्लो समय भने डिपोभित्र तेल खन्याउने स्थानसम्मै त्रिपाल ओढाएका ट्यांकर पुग्ने गरेका छन् ।

ट्यांकरलाई त्रिपालले ढाक्नबाट निरुत्साहित गर्नुपर्नेमा आयल निगमको धनगढी डिपो प्रमुख मोहनकुमार साह र अपरेसन हेड खगेन्द्र अधिकारीले समेत बेवास्ता गर्दा चालक–सहचालकको मनोबल बढ्दै गएको कर्मचारीहरू बताउँछन् । ‘ट्यांकरलाई त्रिपालले छोप्न प्रतिबन्ध लगाउने नीति छ, तर धनगढी डिपोमा भने लोडिङ–अनलोडिङ क्षेत्रभित्रै त्रिपाल ओढाएका ट्यांकर पुग्ने गरेका छन्,’ धनगढी डिपोमा कार्यरत एक कर्मचारीले भने ।

नेपालको भन्दा भारतको तापक्रम उच्च छ । त्यसैले भारतको तातो तापक्रममा हालेको तेल नेपालको चिसो ठाउँमा आउँदा खुम्चिने (घट्ने) अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै निगमले तापक्रम नोक्सानी छुट्याउने गरेको छ । यस्तो तापक्रम नोक्सानीबापत धनगढी डिपोमा पेट्रोल ०.५७ प्रतिशत र डिजेल ०.३२ प्रतिशत अधिकतम चुहावट हुने लक्ष्य निर्धारण गरिएको छ । 

यो लक्ष्यभित्रै रहने गरी धनगढी डिपो प्रमुख साहको संलग्नतामा पेट्रोल–डिजेल चोरी हुने गरेको स्रोतको भनाइ छ । अहिले बन्थरा डिपोको तुलनामा धनगढी डिपोको तापक्रममा चार–पाँच डिग्री फरक पर्ने गरेको छ । एक डिग्री चिसो हुँदा प्रतिचेम्बर १५ लिटरसम्म तेल कम हुने मान्यता छ । बारम्बार पानी छ्यापेर चिसो बनाइएको त्रिपाल ओढाएर ट्यांकरलाई चिसो बनाउँदा कृत्रिम रूपमा थप एक डिग्री तापक्रम घट्ने र २० किलोलिटरको ट्यांकरबाट करिब ९० लिटरसम्म तेल झिकेर चुहावट भएको भनी दाखिला गर्न मिल्छ । यसरी चोरेर झिकेको ९० लिटर तेल भने धनगढी डिपोले संस्थागत तापक्रम नोक्सानीमा देखाएर मिलान गर्ने गरेको छ ।

ट्यांकरमा चिसो त्रिपाल ओडाएर तेल चोर्ने प्रवृत्ति बढेकै कारण साह धनगढी कार्यालय प्रमुख भएयता चुहावटदर पनि बढेको छ । निगम स्रोतका अनुसार साह कार्यालय प्रमुख हुनुअघिसम्म चुहावटदर पेट्रोलको ०.१३ प्रतिशत र डिजेलको ०.१८ प्रतिशत थियो । अहिले चुहावटदर बढेर पेट्रोलको ०.२० प्रतिशत र डिजेलको ०.३० प्रतिशत पुगेको छ । डिजेलको चुहावटदर लक्ष्यनजिकै पुग्दासमेत केन्द्रीय कार्यालयले हस्तक्षेप गरेको छैन ।

त्रिपाल ओढाएर तेल चोरी गर्ने प्रवृत्ति बढ्दै गए पनि कार्यालय प्रमुख साहले भने कुनै समस्या नरहेको जिकिर गरे । ‘यस क्षेत्रको पेट्रोलियम कारोबारमा कुनै समस्या छैन’ उनले नयाँ पत्रिकासँग भने, ‘विगतमा कुनै वेला त्रिपाल ओढेका ट्यांकरहरू डिपोमा देखिएको र त्यही वेला कसैले फोटो खिचेको हुन सक्छ ।’ उनले आफ्नो डिपोमा आउने ट्यांकरमा त्रिपालले छोप्न प्रतिबन्ध नै लगाएको जिकिर गरे ।

करिब एक वर्षदेखि धनगढी डिपो प्रमुख रहेका साहको कमजोर व्यवस्थापकीय कार्यक्षमताका कारण धनगढीमा पटक–पटक इन्धन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले ६ मंसिरमा लिखित स्पष्टीकरण नै सोधेको थियो ।
जिप्रकाको स्पष्टीकरणमा ‘आवश्यक सेवाको अटुट सञ्चालन कायम राख्न नसकेकाले ऐनअनुसार कारबाही किन नगर्ने ? यदि कारबाही नगर्ने कारण भए सोको स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन’ निर्देशन दिइएको थियो । त्यसपछि डिपो प्रमुख साह लिखित स्पष्टीकरणसहित उपस्थित भएपछि जिप्रकाले सचेत गराएको थियो । यसरी जिल्ला प्रशासन कार्यालयले आयल निगमको डिपो प्रमुखलाई लिखित स्पष्टीकरण सोधेको घटना बिरलै छन् ।

डिपो प्रमुख साहको कार्यशैलीलाई लिएर सुदूरपश्चिमका पेट्रोलियम व्यवसायीले गुनासो गर्दै आएका छन् । डिपोमा तेल नभएको भन्दै पेट्रोलपम्पलाई तेल नदिने र मागअनुसार तेल लिनुपर्दा डिपो प्रमुखलाई अतिरिक्त रकम बुझाउनु परेको भन्दै पेट्रोलम्प व्यवसायीले केन्द्रीय कार्यालयमा गुनासो गर्दै आएका छन् । त्यस्तै, इन्धन लिन भारत जाने नियमित पालो प्रणालीमा ट्यांकरलाई लाइनमा राख्नसमेत डिपो प्रमुखलाई अतिरिक्त रकम बुझाउनुपरेको ट्यांकरधनीले गुनासो गर्ने गरेका छन् ।

त्रिपाल ओढाएर दैनिक १५ सय लिटरभन्दा बढी ‘चुहावट’ 
धनगढी डिपोबाट दैनिक औसतमा पेट्रोल पाँच ट्यांकर र डिजेल १३ ट्यांकरसम्म बिक्री हुने गरेको छ । यस डिपोसँग इन्धन ढुवानी गर्न करिब ८५ ट्यांकर प्रयोग भइरहेका छन् ।

वास्तविक तापक्रममा भएको घटबढले हुने वैधानिक चुहावटबाहेक चिसो त्रिपाल ओढाएकै कारण प्रतिट्यांकर ९० लिटरका दरले ‘चुहावट’को हिसाबले गर्दा दैनिक १६ सय २० लिटरसम्म चोरी भइरहेको देखिन्छ । यस्तो चोरीलाई निगमले लक्ष्यभित्रै रहेको चुहावट भन्दै वैधानिकता दिइरहेको छ । 

यसरी चोरी गरेको तेल बजार मूल्यभन्दा केही सस्तोमा बिक्री गरी हरहिसाब डिपो प्रमुख साहसम्म पुग्ने गरेको स्रोतको दाबी छ । ट्यांकरका चालक–सहचालक प्रयोग गरेर तेल चोर्ने र चोरीको तेल बिक्री गर्ने गरिन्छ । प्रत्येक ट्यांकरबाट करिब ९० लिटर तेल चालकले बीच बाटोमै झिकेर आउने गर्छन् ।

ad
ad