१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरण गर्ने दुईलाई पाँच वर्ष कैद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:२४:oo

नक्कली कागजात पेस गरी भारतबाट आलु र प्याज आयात गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ । ४ पुसमै कसुर कायम भए पनि सोमबार सजाय निर्धारण गरिएको हो ।विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पाँचजना प्रतिवादीमध्ये दुईजनामाथि कसुर कायम भएको थियो । विशेषले प्रतिवादी प्रमोदकुमार जयसवाललाई आठ वर्ष कैद र पप्पु ठाकुरलाई पाँच वर्ष कैद सजाय सुनाएको छ । 

मुद्दाका अन्य तीन प्रतिवादी विभा चौधरी, जीवनबाबु सुवेदी र श्रीलाल प्रसादले सफाइ पाएका छन् । उनीहरूमध्ये दुईजना दुई बैंकका कर्मचारी हुन् भने रौनियार भारतीय नागरिक हुन् । किर्ते कागजातका आधारमा बैंकमा खाता सञ्चालन तथा कारोबार गर्न दिएको भनी कर्मचारीहरूलाई पनि प्रतिवादी बनाइएको थियो । 

न्यायाधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । २ वैशाख ०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेषमा मुद्दा दायर गरेको थियो । जसमाथि फैसला गर्दै जयसवाललाई ४१ करोड ५१ लाख रुपैयाँ बिगो र ८३ करोड रुपैयाँ जरिवानासमेत हुने भएको छ । दोषी ठहर भएका ठाकुरलाई तीन करोड ६७ लाख रुपैयाँ बिगो तथा यसको दोब्बर रकम जरिवाना भराउने फैसलामा छ ।

यसैबीच, लागुऔषधको कारोबारमा संलग्न देवेन्द्रविक्रम रोका छपाली सम्पत्ति शुद्धीकरणमा दोषी पाइएका छन् । सोमबार विशेष अदालतले उनीमाथि कसुर कायम गर्दै २३ पुसका लागि सजाय निर्धारणको पेसी तोकेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो । छपालीसमेत चन्द्रा रोका, गोविन्दकुमार रोका छन्त्याल, नागेन्द्र थापामगर, मनजित घर्तीमगर, इन्द्रबहादुर थिङ र जम्बाभोटे पनि प्रतिवादी रहेकोमा सजायका विषयमा एक सातापछि निर्णय आउने भएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ असोज ०७७ मा उनीहरूमाथि मुद्दा चलाएकोमा यस्तो फैसला आएको हो । काठमाडौंको सीतापाइलाका छपालीले लागुऔषधबाट एक करोड रुपैयाँभन्दा बढी आर्जन गरेको अभियोग लगाइएको थियो । 

मुगुका कृषि कार्यालय प्रमुख दोषी ठहर 
मुगुमा कुलो निर्माणमा भ्रष्टाचार भएको ठहर भएको छ । विभिन्न मितिमा दायर दुईवटा मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले अनियमितता भएको ठहरसहित कृषि विकास कार्यालयका प्रमुखलाई दुवै मुद्दामा दोषी पाएको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार एउटा मुद्दामा ठहर र अर्कोमा आंशिक ठहरको फैसला सुनाएको छ । गत वर्ष ११ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजनालाई प्रतिवादी बनाई दायर गरेको मुद्दामा तीनजनाले सफाइ पाएका छन् भने बाँकीमाथि कसुर कायम भएको छ । 

मुगुको छायानाथ नगरपालिका– १० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइकुलो निर्माणका लागि कृषि विकास कार्यालयले बजेट छुट्याएको थियो । आर्थिक वर्ष ०७६/७७ मा बजेट विनियोजन भएकोमा त्यसमा २३ लाख १० हजार रुपैयाँभन्दा बढी अनियमितता भएको दाबी अख्तियारको थियो ।

मुगुका कृषि कार्यालय प्रमुख पञ्चलाल बुढा र सबइन्जिनियर राजेन्द्र शाहीले उक्त आयोजनाको यथार्थ नापजाँच गरी कार्य मूल्यांकन गर्नुपर्ने माग गरेका थिए । यसमा बुढा र शाही दुवै दोषी ठहर भएका छन् ।

विशेषका अनुसार दुवैजनालाई तीन–तीन महिना कैद हुने भएको छ । यसैगरी, तीन लाख ८५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ । यसै मुद्दाका अन्य चार प्रतिवादी तथा उक्त सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढा पनि दोषी रहेको विशेषको ठहर छ । 

ad
ad