१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

धरापमा सन्दीपको क्रिकेट करिअर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:oo:oo

जिल्ला अदालत काठमाडौंले बालिका बलात्कारको आरोपमा दोषी ठहर गरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको आगामी यात्रा धरापमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने नेतृत्वको पर्सा–११ ले वीरगन्जमा चलिरहेको प्रो लिग च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको फाइनल स्थान सुरक्षित गर्‍यो । तर, अब फाइनलमा सन्दीपले नेपाल पुलिस क्लबविरुद्ध खेल्ने वा नखेल्ने भन्ने द्विविधामा छ । शुक्रबारै जिल्ला अदालत काठमाडौंले बालिका बलात्कारको आरोप लागेका सन्दीपलाई दोषी ठहर गरेको छ । उनलाई सातदेखि १० वर्ष कैद सजाय हुन सक्छ । 

अदालतको फैसलापछि सन्दीपको करिअर लगभग समाप्त हुने देखिन्छ । जेलबाहिर रहेर उच्च अदालतमा मुद्दा लड्ने विकल्प रहे पनि खेलमैदानमा उनलाई उत्रिन सहज वातावरण छैन । अदालतमा मुद्दा चलिरहँदा नैतिकताका आधारमा उनको टोलीमा फर्किने बाटो असहज देखिन्छ । अन्तर्राष्ट्रिय खेल जगत्मा गम्भीर मुद्दा खेपिरहेको समयमा स्वयं खेलाडीले नैतिकताका आधारमा टोलीबाट बाहिर रहने निर्णय गरेका धेरै उदाहरण छन् । उच्च र सर्वोच्च अदालतबाट समेत उनीविरुद्ध नै फैसला आए उनको क्रिकेट करिअर समाप्त नै हुनेछ । यस्तो परस्थितिमा क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघले पनि उनलाई निलम्बन गर्नेछ ।

पछिल्लो समयमा अदालतमा धरौटी राखी बाहिर रही सन्दीपले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । यो एक वर्षभित्र नेपालले खेलेका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनी मुख्य स्पिनरका रूपमा रहे । नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट, एसिया कपमा र एकदिवसीय विश्वकपको अन्तिम छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्दा सन्दीपको योगदान उत्कृष्ट रहेको थियो । 

सन्दीप छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटरमा पर्छन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । यसपटकको अक्सनमा उनी परेनन् । भारत, अस्ट्रेलिया, युएई र क्यारेबियन खेल्दै उनले निकै छोटो समयमै करोडौँ कमाउन सफल भए । क्रिकेट खेलेरै करोडपति हुने उनी एक मात्र खेलाडी हुन् । 

जर्नी अफ विश्वकपबाट यात्रा
चितवन क्रिकेट एकेडेमीमा नेपालका पूर्वकप्तान राजु खड्काको प्रशिक्षणमा सन्दीपले क्रिकेटको प्रशिक्षण पहिलोपटक लिएका थिए । उनले अरूभन्दा फरक किसिमले बल फ्याँक्थे । त्यही समयमा नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायके ट्यालेन्ट हन्ट कार्यक्रमअन्तर्गत चितवन पुगेका थिए । दासानायकेले सन्दीपको बलिङ शैली हेर्दै तत्कालै काठमाडौं बोलाएर राष्ट्रिय टोलीको क्याम्पमा राखे । नेपाल सन् २०१९ को एकदिवसीय विश्वकप छनोटको तयारीमा थियो । विश्वकप छनोटका लागि ‘जर्नी अफ विश्वकप’ नाम राखी प्रतियोगिता नै आयोजना भएको थियो । सन्दीप एकैपटक टोलीमा परे । आफ्नै क्षमतामा उनले नेपाली राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारीसमेत पाए । 

आइपिएलबाट विश्वले चिन्यो
सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले आयरल्यान्डविरुद्ध २७/५ को उत्कृष्ट प्रदर्शन गरेका थिए । यू–१९ विश्वकप र ब्लिजमा गरेको प्रदर्शनका आधारमै उनलाई माइकल क्लार्केले अस्ट्रेलियामा प्रशिक्षण गर्न निमन्त्रणा दिए ।  सन् २०१८ मा आइपिएलको अक्सनमा सन्दीप एसोसिएटतर्फको विदेशी कोटामा परेका थिए । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन्दीपलाई न्यूनतम २० लाख भारुमा अनुबन्ध गरे । पहिलो सिजनमै उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण सन्दीप थप दुई सिजन दिल्लीमै रहे । आइपिएलको प्रदर्शनसँगै सन्दीपको अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा ढोका खुल्यो । सन् २०१८ देखि २०२२ सम्म उनी विश्वकै चर्चित क्लबमा अनुबन्ध भएपनि पछिल्लो समयमा चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आबद्ध हुन सकेनन् । 

एकदिवसीयमा कम खेलमा सय विकेट
५० ओभरको फम्र्याटमा कम खेलमा सय विकेट लिने सन्दीप पहिलो बलर हुन् । ८ वैशाख ०८० मा उनले एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध विकेट लिँदै एकदिवसीयमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए । उनले ४२ खेलमा सय विकेट पूरा गरे । यसअघि अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेट लिएका थिए । उनले अहिलेसम्म ५१ एकदिवसीय खेलमा एक सय १२ विकेट लिएका छन् । ५२ अन्तर्राष्ट्रिय टी–२० मा उनले ९८ विकेट हात पारेका छन् । सन्दीपले अन्तिमपटक सन् २०२३ को ४ सेप्टेम्बरमा एसिया कपअन्तर्गत भारतविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २०२३ को ५ नोभेम्बरमा उनले ओमानसँग अन्तिमपटक प्रतिस्पर्धा गरे । 

ad
ad