१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस बैठक : राष्ट्रिय सभामा नयाँलाई अवसर दिन दबाब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१६:oo

कांग्रेस केन्द्रीय सदस्यहरूले राष्ट्रिय सभा उम्मेदवारमा नयाँलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् । बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले निश्चित मापदण्ड बनाएर अवसर नपाएकालाई मौका दिनुपर्ने माग गरेका छन् । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पहिलो दिन १५ केन्द्रीय सदस्यले धारणा राखेका छन् । ‘कसैलाई सधैँभरि, कसैले कहिले पनि अवसर नपाउने’ अवस्था अन्त्य गर्न अधिकांश सदस्यको माग छ । गत निर्वाचनमा उम्मेदवार बनेकालाई राष्ट्रिय सभामा दोहोर्‍याउन नहुने उनीहरूको मत छ । 

बैठकमा केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मापदण्ड बनाएर मात्रै उम्मेदवार छनोट गर्नुपर्ने बताए । ‘उम्मेदवार छनोटका लागि निश्चित मापदण्ड बनाऔँ । कसैलाई सधैँभरि, कसैलाई कहिले पनि नहुने अवस्थाको अन्त्य गरौँ,’ उनको भनाइ थियो ।

केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले गत निर्वाचनमा पराजितलाई राष्ट्रिय सभामा लैजान नहुने धारणा राखे । ‘पार्टीमा गलत व्यक्तिको संरक्षण नहोस् । कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था होस् । उम्मेदवारको विषयमा छलफलबाट सर्वमान्य मापदण्ड बनाऔँ । गत निर्वाचनमा पराजित भएकालाई लैजाने हो भने म किन नजाने ?’ उनले बैठकमा भने । 

डिला संग्रौलाले पनि न्यायोचित रूपमा टिकट वितरण हुनुपर्ने बताइन् । ‘राष्ट्रिय सभामा पार्टीले उम्मेदवार छनोट गर्दा न्यायको सिद्धान्तअनुसार मापदण्ड बनाओस्,’ उनको भनाइ थियो । अर्का केन्द्रीय सदस्य राजीव कोइरालाले पनि मापदण्ड बनाएर आवश्यकता र औचित्यका आधारमा उम्मेदवार छनोट हुनुपर्ने माग गरे । ‘पराजितलाई राष्ट्रिय सभामा नलैजाऔँ । मापदण्ड बनाएर उम्मेदवार चयन गरौँ । हारेकालाई लैजाने हो भने मैले पनि निर्वाचन हारेको हुँ, मलाई पनि लगियोस्,’ उनले भने । 

दिलेन्द्रप्रसाद बडूले नयाँ उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताए । ‘कोही दोहोरिने, कोही केही नपाउने अवस्था नबनाऔँ । अहिलेसम्म अवसर नपाएकालाई प्राथमिकता दिऔँ,’ उनको भनाइ थियो । बैठकमा अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले भने, ‘धेरैपटक अवसर लिएकाले अब नलिऔँ । नयाँलाई अवसर दिन लागौँ ।’

बैठकमा महामन्त्री गगन थापाले समुदायमा कांग्रेस अभियानको कार्ययोजनाबारे प्रस्ताव लगेका थिए । उनले सरकारमा रहेका मन्त्रीहरूले गरेका कामलाई तल्लो तहसम्म लैजान आवश्यक रहेको बताए । साथै, भ्रातृ संस्थाको महाधिवेशनबारे छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो । ‘तदर्थ समिति कहिलेसम्म बनाइराख्ने र म्याद थपिराख्ने ? भ्रातृ संस्थाका महाधिवेशनबारे छलफल गरौँ र उचित निर्णय लिऔँ,’ महामन्त्री थापाको भनाइ थियो ।

सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिम भूकम्पपछि कांग्रेसले गरेको श्रमदानको अवस्था, टहरा निर्माणलगायतको रिपोर्ट प्रस्तुत गरेका थिए । उनले यस अवधिमा कांग्रेसले चार सय सात टहरा बनाएको जानकारी बैठकलाई गराएका थिए । बिहीबार केन्द्रीय सदस्यहरू रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले पनि बैठकमा धारणा राखेका थिए । कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।

रोकियो बैठकको लाइभ
यसअघि केन्द्रीय समिति बैठक लाइभ गरेको कांग्रेसले बिहीबारको बैठक भने गरेन । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारणले लाइभ गर्न नसकिएको बताए । ‘प्राविधिक कारणले बैठक लाइभ हुन सकेन । अर्कोपटकदेखि गर्ने भन्ने छ,’ उनले भने । तर, एक पदाधिकारीका अनुसार बैठकमा सरकार र मन्त्रीको कार्यशैली तथा राष्ट्रिय सभा उम्मेदवारको विषय उठ्नुका साथै आलोचना हुने भएपछि राष्ट्रिय सभाको मुखमा आन्तरिक विवाद बाहिर आउन नदिन लाइभ रोकिएको हो । ‘राष्ट्रिय सभा निर्वाचन नजिकिँदै छ । पार्टीको आन्तरिक छलफल र विवादलाई बाहिर देखाएर परिस्थितिलाई असहज हुन नदिन लाइभ नगरिएको हो,’ ती पदाधिकारीले भने । 

मन्त्रीहरूको आलोचना
कांग्रेस बैठकमा जनस्तरमा महसुस हुने गरी काम गर्न नसकेको भन्दै मन्त्रीहरूको आलोचना भएको छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा सरकारको काम र कांग्रेसका मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पार्टी सरकारमा भए पनि त्यसको अनुभूति हुन नपाएको गुनासो गरिन् । ‘हाम्रा साथीहरू मन्त्री छन् । तर, सरकारमा भएको अनुभूति नै हुन सकेन । उहाँहरूलाई सक्रिय बनाउनुपर्‍यो,’ उनको भनाइ थियो । 

केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र बनाउने भनिए पनि निर्माण नगरिएकोमा उनले आपत्ति जनाए । ‘तीनै तहको सरकारमा हामी छौँ, तर जनता र पार्टीप्रति जिम्मेवार हुन सकेका छैनौँ,’ उनले भने । केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसका मन्त्रीले काम गर्न नसकेको भन्दै प्रचार भएको बताए । ‘मन्त्रीहरूले राम्रो काम गरे राख्ने नत्र हटाउने प्रधानमन्त्रीको कुरा छ । सामाजिक सञ्जालमा कांग्रेसकै साथीहरूबाट सरकार र मन्त्रीहरूका कामकारबाहीबारे नेगेटिभ कमेन्ट हुने गरेको छ । सरकारले र हाम्रा मन्त्रीहरूले गरेका राम्रा काम प्रचार गर्न मिल्ने गरी विवरण राख्नुपर्‍यो,’ उनको भनाइ थियो । 

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बैठकमा मन्त्रीहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको र प्रश्न उठेको जानकारी दिए । तर, मन्त्री फेरबदलभन्दा पनि भएकाबाटै परिणाम निकाल्नुपर्ने उनको भनाइ थियो । ‘मन्त्री भएपछि के गर्ने ? नीति तय गर्नुपर्‍यो । नीतिअनुसार काम गर्नुपर्‍यो । मन्त्रीहरूले काम गर्न सकेका छैनन्, किन गर्न सकेनन् भन्न सकिँदैन । बैठकमा प्रश्न उठ्यो । मन्त्री फेरेर मात्रै हुँदैन, भएकाबाटै रिजल्ट निकाल्नुपर्‍यो,’ उनको प्रतिक्रिया छ । बैठकमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको रिपोर्ट कार्ड पेस गरेका थिए । ‘परिणाम दिने गरी काम गरिरहेका छौँ । देखिने काम भएका छन् । मुलुकमा ९२ हजार दरबन्दी आवश्यक छ । अहिले ३० हजार दरबन्दी मात्र छन् । दरबन्दी कटौती गरेर दुर्गममा सहज सेवा उपलब्ध गराउने प्रयास भएका छन् । दरबन्दी थपेर स्वास्थ्य सेवा सहज बनाउने तयारीमा छौँ । स्वास्थ्य बिमा सम्बन्धमा समस्या समाधान गर्ने काम भएको छ,’ बैठकमा रिपोर्ट पेस गर्दै मन्त्री बस्नेतले भनेका थिए । 

ad
ad