१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार वर्षपछि सौराहामा हात्ती महोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२५:oo

कोरोना महामारीपछि रोकिएको चितवनको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु भएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवका रूपमा मंगलबारबाट सुरु भएको हो । महोत्सवको १७औँ संस्करणको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा रहेको मैनाचौरमा महोत्सव सुरु हुनुपूर्व हात्तीसहितको शोभायात्रा निकालिएको थियो ।

यसपटक हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो नहुने
कोरोनाका कारण बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेसँगै यहाँका व्यवसायीले पर्यटन गतिविधिलाई थप बढाउन महोत्सव आयोजना गरेका हुन् । तर, विगतका महोत्सवमा मानिसको आकर्षण रहेका प्रतियोगिता भने यसपटक हुनेछैनन् । यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ ।

पशु अधिकारको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले यी प्रतियोगिताले हात्तीलाई यातना भएको भनेर विरोध जनाउँदै आएका थिए । १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश पाण्डेले जनावरप्रति गरिने व्यवहारलाई लिएर आफूहरू सचेत रहेको र हात्तीलाई दुःख नहोस् भन्दै महोत्सवलाई परिष्कृत गरेको बताएका छन् । 

यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहनेछ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा हात्ती शृंगार प्रतियोगितासँगै हात्ती वनभोज, हात्तीको दिनचर्याबारे जानकारी र स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग बिटुबी कार्यक्रम, डुंगा दौड प्रतियोगिता हुनेछ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ ।

स्थानीय वेशभूषा तथा कला–संस्कृतिसहितको झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभरि सञ्चालन हुने महोत्सवको प्रचारप्रसार संयोजक ऋषिराम तिवारीले जानकारी दिए ।क्षेत्रीय होटेल संघ नेपाल चितवन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार चितवनमा अहिले सरकारी तथा निजी गरेर एक सय बढी हात्ती छन् ।

 यसरी सुरु भएको थियो हात्ती महोत्सव
नेपालको हात्ती महोत्सवको चर्चा अहिले विश्वभरि छ । यसको सुरुवात भने स्न २००० तिर भएको बताइन्छ । क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार तीनजना विदेशी पाहुनाले एउटा भिडियो बनाउनका लागि हात्ती दौडाउन प्रस्ताव गरेका थिए । त्यसवेला पनि यहाँका व्यवसायीसँग १८ वटा निजी हात्ती थिए । जुन सहकारीमार्फत सञ्चालनमा थियो ।

करिब दुई घण्टाको कार्यक्रमपछि त्यसबापत नेपाली तीन लाख रुपैयाँ ती विदेशी पाहुनाले दिएका थिए । पर्यटकको आकर्षण पनि हुने र पैसा पनि राम्रो कमाइ हुने देखेपछि सन् २००४ देखि त्यसले महोत्सवको रूप लिँदै गयो र विभिन्न विधा थपिँदै गए । बर्सेनि हुने महोत्सव कोरोनाका कारण ०७६ सालदेखि भने हुन सकेको थिएन । क्षेत्रीय होटेल संघ नेपाल चितवन सौराहाको आयोजना रहेको यो महोत्सवको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सहआयोजक रहेका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

ad
ad