१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमा गाउँपालिकालाई

आयोजकको निर्णयप्रति चन्दननाथको असहमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५८:oo

जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुचौरमा सम्पन्न १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमा गाउँपालिकाले प्राप्त गरेको छ। 

२० वटा स्वर्ण पदकसहित हिमा गाउँपालिकाले उपाधि प्राप्त गरेको हो। प्रतियोगितामा जुम्लाका आठ पालिकामध्ये पातारासी र गुठीचौर गाउँपालिकाबाहेक ६ पालिकाले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी पालिकामध्ये हिमा गाउँपालिकाले सञ्चालित विभिन्न विद्याका खेलमा २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको हो। 

जसमा हिमाले कराँतेतर्फ १२ वटा, १५ सय मिटर दौडमा छात्रा–छात्रतर्फ दुईवटा, तीन हजार मिटर दौड छात्रतर्फ एउटा, हाइजम्प, लङजम्प र त्रिपलजम्पतर्फ एक–एकसहित जम्मा २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख दन्तराज रावतले जानकारी दिए। 

उनका अनुसार १५ सय मिटर दौडमा छात्रा–छात्रातर्फ गरी दुईवटा, त्रिपलजम्प दुईवटा, ज्याब्लिङ थ्रोमा एक गरी जम्मा आठ रजत पद हासिल भएको छ। विभिन्न खेलमा ६ वटा कांस्य पदक हिमाले जितेको छ। 

विभिन्न विद्याका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हिमा प्रथम भएपछि खुसीका साथ बाजागाजा गरेर खेलाडीलाई पालिकामा स्वागत गरिएको छ। 

प्रतियोगिताको द्वितीय चन्दननाथ नगरपालिका भएको छ। चन्दननाथले १२ वटा स्वर्ण पदकसहित दोस्रो स्थानमा भएको आयोजकले जनाएको छ। 

यद्यपि, तेकान्दो र उसुतर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि चन्दननाथ नगरपालिका अन्य पुरस्कारसमेत लिन गएन। 

चन्दननाथ छात्रतर्फको भलिबलमा उपविजेता बनेको छ। चन्दननाथले अन्य कुन–कुन विद्यामा (स्वर्ण, कांस्य र रजत) पदक ल्याएको भन्नेबारे यकिन भएन।

सिञ्जा गाउँपालिका दुईवटा स्वर्ण पदकसहित तेस्रो भएको छ। सिञ्जाले लङजम्प छात्रातर्फ एउटा, दुई सय मिटर दौड छात्रातर्फ एउटा गरी दुईवटा स्वर्ण पदक जितेको सिञ्जा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताए।

साथै, सिँजाले दुई सय दुई मिटर दौड छात्रतर्फ एउटा, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलजम्प छात्रातर्फ एक गरी जम्मा तीनवटा रजत र दुईवटा कांस्य पदसहित तेस्रो भएको हो। 

प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी समग्र प्रतियोगिताको चौथो भएको छ। छात्रतर्फको भलिबल बिजेता बनेको तिला गाउँपालिका समग्र प्रतियोगितामा पाँचौँ स्थानमा छ। 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पालिकाहरूले सिल्ड, प्रमाणपत्र, मेडललगायतपुरस्कार पाएका छन्। 

विभिन्न चुनौतीबीच १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको छ। 

यसैबीच आगामी वर्ष १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्नेछ।

आयोजकको निर्णयमा चन्दननाथको असहमति

आयोजकले १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय घोषणा कार्यविधिविपरीत गरेको भन्दै चन्दननाथ नगरपालिकाले असहमति जनाएको छ।

विभिन्न खेलमा २६ स्वर्ण पदकसहित प्रथम आफू भएको दाबी गर्दै आयोजकले निर्देशिकाविपरीत निर्णय गरेको चन्दननाथको आरोप छ। 

चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख खडानन्द चौलागाईंले आयोजकले उसु, तेकान्दो खेलको निर्देशिकाविपरीत निर्णय गरेपछि चन्दननाथले असहमति जनाएको बताए।

उनले भने, ‘गत वर्ष गुठीचौरमा सम्पन्न रनिङ सिल्डमा अन्य पालिकाका खेलाडी सहभागी नभए पनि उसु र तेकान्दोमा चन्दननाथलाई नम्बर दिइएको थियो। तर, यसपटक कुन आधारमा नम्बर दिइएन ? २६ पदक ल्याएको नगरलाई निर्देशिकाविपरित निर्णय गरेर उसु र तेकान्दोमा नम्बर नदिने भनेपछि पुरस्कार लिन हाम्रा खेलाडी गएनन्।’

प्रतियोगितामा सहभागी ६ वटा पालिकामध्ये चन्दननाथले मात्रै उसुतर्फ खेलाडी सहभागी गराएको थियो। गत वर्ष जस्तै उस्सुमा एउटै पालिका सहभागी भए पनि नम्बर पाउनुपर्ने चन्दननाथको माग हो। 

तर, आयोजकले उसु र तेकान्दोमा चन्दननाथबाहेक अन्य पालिकाका खेलाडीको सहभागिता नभएकाले नम्बर नदिने निर्णय गरेपछि असहमति जनाएको चौलागाईंले बताए। 
उसु र तेकान्दोमा प्रतियोगितामा अन्य पालिकाका खेलाडी सहभागी नभएको र चन्दननाथ नगरपालिकाले उक्त विद्यामा एकल सहभागी जनाएकोले प्रमाणपत्र र मेडल दिने, तर नम्बर नदिने निर्णय भएको तातोपानी गाउँपालिका– ६ का वडाध्यक्ष विशाल खड्काले बताए।

ad
ad