
विवाहपञ्चमीअन्तर्गत आइतबार मध्यराति जानकी मन्दिरमा धुमधामसँग राम र सीताको विवाह समारोह सम्पन्न भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा मध्यरात मिथिलाको रीतिरिवाजअनुसार भगवान् राम र सीताबीच वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले जानकारी दिए ।
त्यसअघि आइतबार दिउँसो धुमधामसँग स्वयंवर सम्पन्न भएको थियो । स्थानीय रंगभूमि मैदान वारह बिगाहमा स्वयंवर सम्पन्न भएको हो । स्थानीय राम मन्दिरबाट भागवान् रामको डोला बाजागाजासहित वारह बिगाह पुगेको थियो । उक्त डोलाको नेतृत्वका राम मन्दिरमा महन्थ राम गिरीले गरेका थिए । त्यसपछि जानकी मन्दिरका छोटा महन्थ रोशन दास सीताजीको डोलासहित वारह बिगाह पुगेका थिए । त्यहाँ दुवै डोला एकअर्काबीच मिलान र माला साटासाट गरी स्वयंवर गरिएको थियो ।
स्वयंवरपश्चात् जनकपुरधाममा शोभायात्रा निकालिएको छ । शोभायात्रामा विवाह पञ्चमीमा सहभागी भएका नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजन सहभागी थिए । शनिबार मटकोर कार्यक्रम सम्पन्न भएको थियो । मिथिलाको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन यो विवाह महोत्सव मनाउने गरिएको छ ।
विवाह पञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइनछ । त्रेतायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको थियो । राजर्षि जनक, जानकी, यज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी महोत्सवको आयोजना हुने गरेको छ ।