१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २७ बुधबार ०६:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१५ महिना पदावधि बाँकी छँदै थानीको राजीनामा

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २७ बुधबार ०६:२९:००

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार दिउँसो ४ बजे घरायसी कारण देखाउँदै राजीनामा बुझाएको उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले जानकारी दिएका हुन् । ‘उहाँले घरासयी कारण देखाएर राजीनामा बुझाउनुभएको छ,’ मन्त्री रिजालले भने ।

०७८ फागुनमा तीन वर्षका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थानीले एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै अकस्मात् पदबाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस पृष्ठभूमिका थानीले आउँदा दिनमा राजनीतिमा सक्रिय हुने चाहना राखेको निकटका व्यक्तिहरूले बताउने गरेका छन् । थानीले करिब दुई वर्षअघि नेतृत्व सम्हाल्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको थियो, जसकारण निगम चरम नोक्सानीमा थियो । उनले कार्यकाल सम्हालेको आव ०७८/७९ मा निगमले ४८ अर्ब ९५ करोड नोक्सान व्यहोरेको थियो भने इन्डियन आयल कर्पोरेसन (आइओसी)को बक्यौता २४ अर्ब थियो ।

त्यस्तै, सरकारबाट सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब गरेर कुल १० अर्ब रुपैयाँ ऋण लिनुपरेको थियो । थानीले पछिल्लो डेढ वर्षमा आइओसीको बक्यौता र सरकार तथा बैंकको समेत कर्जा चुक्ता गरेर निगमलाई नाफामा लगेका थिए । गत आव ०७९/८० मा सार्वजनिक संस्थानमध्ये निगमलाई सबैभन्दा बढी नाफामूलक संस्थाका रूपमा समेत उभ्याएका थिए ।

 करिब दुई वर्षमा के–के गरे ?
प्रशासनिक तथा पूर्वाधार क्षेत्रमा सकारात्मक सन्देश दिने गरी काम गरेको भन्दै मन्त्रालयले थानीको कार्यसम्पादन मूल्यांकन गर्दा सय पूर्णांकमा ९०.५ अंक दिएको थियो । उनले ३१ असारदेखि पूर्ण रूपले स्वचालित मूल्य प्रणाली कार्यान्वयन थालेका थिए । त्यस्तै, मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत पेट्रोल आयातका लागि भण्डारणगृह निर्माणसमेत सुरु गराएका थिए । 

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारणगृहसमेत निर्माण सुरु गरिएको छ । पोखरामै १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारणगृहको उद्घाटन भएको छ । पाँच वर्षदेखि छलफलमै रहेको सिमरा विमानस्थलपरिसरमा हवाई इन्धन रिफ्युलिङ स्टेसन निर्माणलाई समेत थानीले नै पूर्णता दिएका छन् । सिमरामा गत १७ मंसिरदेखि रिफ्युलिङ सेवा सुरु भएको छ ।