१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष १२ बिहीबार ०६:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगम कर्मचारीको प्रोत्साहन भत्तामा अख्तियारको अनुसन्धान

Read Time : > 1 मिनेट
२०८० पौष १२ बिहीबार ०६:२०:००

नेपाल आयल निगम लिमिटेडका कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक वार्षिकोत्सवमा वितरण हुँदै आएको भत्ताको पनि अनुसन्धान अघि बढाएको छ ।अख्तियारले गत २८ मंसिरमा आयल निगमलाई पत्राचार गर्दै ०७६, ०७७ र ०७८ को वार्षिकोत्सवमा वितरण गरिएका सेवा–सुविधाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । प्रत्येक वार्षिकोत्सवमा निगमका कर्मचारीलाई दुई ग्रेड वृद्धि र ग्रेड वृद्धि सकिएका कर्मचारीलाई जनही २५ हजार रुपैयाँ प्रोत्साहनबापत दिने प्रचलन छ । सोही सुविधा वितरणमा अनियमितता भएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले लेखेको पत्रमा भनिएको छ, ‘तत्कालीन कार्यकारी निर्देशकले ०७६, ०७७ र ०७८ मा निगमको वार्षिकोत्सवको मौकामा सम्पूर्ण कर्मचारीको दुई ग्रेड वृद्धि र ग्रेड नाघेका प्रत्येक कर्मचारीलाई २५ हजार पुरस्कार दिने निर्णय भएअनुसार उक्त सुविधा प्राप्त गर्ने कर्मचारीहरूको संख्या र सोबापत कति रकम भुक्तानी गरिएको हो, पछिसम्म फरक नपर्ने गरी उक्त तीन सालको विवरण तथा सोलाई पुष्टि गर्ने प्रमाणित कागजात आवश्यक परेकाले आयोगमा उपलब्ध गराइदिनू ।’

आयल निगमको कर्मचारी प्रशासन विनियमावली, ०६३ को १६.६ (ग) कार्यकारी निर्देशकले प्रोत्साहनबापत कर्मचारीलाई पुरस्कार वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई टेकेर निगमका कार्यकारी निर्देशहरूले बर्सेनि वार्षिकोत्सवको अवसर पारेर वितरण गर्ने ग्रेड वृद्धि र नगद पुरस्कारबारे अख्तियारले छानबिन थालेको हो ।

 अख्तियारको छानबिनमा सन्देह
अख्तियारले ०७६, ०७७ र ०७८ मा मात्रै वितरण भएको ग्रेड वृद्धि र जनही २५ हजार रुपैयाँको विवरण मागेर कुनै व्यक्तिलक्षित छानबिन गर्न लागेको त होइन भन्ने सन्देह पैदा भएको छ । अख्तियारले कागजात माग गरेको तीनवर्षे अवधिमा आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल थिए । ‘अख्तियारको छानबिन तत्कालीन कार्यकारी निर्देशक पौडेलप्रति मात्र लक्षित भएको देखिएको छ,’ निगम स्रोत भन्छ, ‘किनभने निगमले वार्षिकोत्सवमा ग्रेड वृद्धि र नगद पुरस्कार दिने प्रचलन धेरैअघिबाट सुरु गरेको र अहिले पनि जारी छ ।’

निगमका एक पूर्वकर्मचारीका अनुसार ०७१ देखि संस्था नाफामा जान थालेसँगै एक ग्रेड वृद्धि र जनही १० हजारका दरले नगद पुरस्कार दिने प्रचलन थियो । गोपालबहादुर खड्का कार्यकारी निर्देशक भएर आएपछि सबै कर्मचारीलाई २५ हजार प्रोत्साहन वितरण गरिएको थियो । खड्काकै कार्यकालमा पुरस्कारलाई व्यस्थित गर्न भन्दै ग्रेड वृद्धि र नगद पुरस्कारको दिन थालिएको हो । तर, एउटा कार्यकारी निर्देशक (पौडेल) बहाल रहेको समयको मात्रै वितरण भएको पुरस्कारको विवरण माग गर्नु त्रुटिपूर्ण वा बद्नियतपूर्ण रहेको निगम कर्मचारीहरू बताउँछन् ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेसँग यस विषयका सम्बन्धमा बुझ्न खोज्दा थाहा नभएको बताए । सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पनि थाहा नभएको र अनुसन्धानमा रहेको विषयबारे बोल्न नमिल्ने प्रतिक्रिया दिए ।०७६ र ७७ मा कोभिड– १९ का कारण लकडाउन भएका वेला निगम कर्मचारीले निरन्तर काम गरेको भन्दै प्रशंसा बटुलेका थिए । तत्कालीन निगम सञ्चालक समित अध्यक्ष तथा वाणिज्य तथा आपूर्तिसविच डा. वैकुण्ठ अर्याल (हालका मुख्यसचिव)ले वार्षिकोत्सव समारोहमै निगम कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिने भनेर सार्वजनिक रूपमा घोषणासमेत गरेर प्रदान गरिएको थियो ।