१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : तेल चोरीका लागि प्रयोग भएको ट्यांकर ।
२०८० चैत १५ बिहीबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिन दहाडै निगमको ट्यांकरबाट डिजेल चोरी, दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०८० चैत १५ बिहीबार १९:०५:००

नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लिएर जाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र ट्यांकर रोकेर तेल चोरी गर्दै गरेको अवस्थामा एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

डिजेल चोरी गर्नेमा तेल ढुवानीमा प्रयोग भएको ना ७ ख २७९४ नम्बरको तेल ट्यांकरचालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हेटौँडा– ९ नवदुर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षीय वीरेन्द्र साह रहेका छन्।

प्रवक्ता भण्डारीले उनीहरूले ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवैजनालाई तेल ट्यांकरसहित काठमाडौंस्थित थानकोट डिपो पठाउने तयारी भइरहेको उनको भनाइ छ।

निगमको अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायले २० हजार लिटर डिजेल लोड गरेर ट्यांकरमा आधुनिक लकिङसमेत लगाएर पठाएको बताए। ‘ट्यांकरमा तेल हालेर लकिङसमेत लगाई डिपोबाट पठाएका थियाैँ। बीच बाटोमा कसरी तेल झिकेर चोरी भयो भन्ने कुरा हाम्रो पनि अनुसन्धानको विषय भएको छ।’

अमलेखगन्ज डिपोले निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका लागि सो डिजेल पठाएको थियो। अमलेखगन्जसम्म पाइपको सहायताले आयात भएको डिजेल ट्यांकरमा राखेर काठमाडौंको थानकोट डिपो पठाउने गरिएको छ। 

अमलेखगन्जले ताला लगाएर पठाएको ट्यांकरको ढक्कन खोल्ने साँचो निगमको थानकोट डिपोमा मात्र हुने गर्छ। निगमले ०७४ यता सुरक्षित इन्धन ढुवानीका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँगको सहकार्यमा आधुनिक लकिङ जडान गरे पनि चोरी रोकिएको छैन।