इन्टरनेट सेवाप्रदायकहरूले गरेको कर छलीमाथि अख्तियारले थाल्यो छानबिन

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

सञ्चार मन्त्रालयको आन्तरिक छानबिनबाट ठूला नौ इन्टरनेट सेवाप्रदायकले १० वर्षको अवधिमा दुई अर्ब ४६ करोड ९० लाख ५९ हजार ९७८ रुपैयाँ कर नतिरेको भेटिएको छ 

इन्टरनेट सेवाप्रदायकहरूले गरेको कर छलीमा संसद्को सार्वजनिक लेखा समितिले पनि साथ दिएकोसमेत भेटिएको छ । महालेखापरीक्षकको कार्यालयले सेवाप्रदायकबाट असुलउपर गर्नू भनेको बेरुजुलाई लेखा समितिले भने फर्स्योट गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटबाट आर्जित आम्दानीलाई गैरदूरसञ्चार आय–आर्जन भनी अपव्याख्या गरी समितिले बेरुजु फर्स्योटका लागि निर्णय र निर्देशन दिएको छ । 

इन्टरनेट सेवाप्रदायकहरूले गरेको कर छलीमाथि परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आन्तरिक छानबिनबाट ठूला नौ इन्टरनेट सेवाप्रदायकले दुई अर्ब ४६ करोड कर छली गरेको देखिएपछि अख्तियारले पनि यस विषयमा छानबिन अघि बढाएको हो । 

अख्तियारले गत ७ कात्तिकमा सञ्चार मन्त्रालयलाई पत्र लेखेर कागजात मागेको थियो । अख्तियारको पत्राचारपछि मन्त्रालयले ती कागजातहरू पठाएको छ । ‘अख्तियारले माग गरेबमोजिम कागजात पठाइएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । 

अख्तियारले १५ दिनभित्र कागजात उपलब्ध गराउन भन्दै मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘इन्टरनेट सेवाप्रदायकहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोषको रकम र दूरसञ्चार सेवाशुल्क नबुझाएको भन्नेसमेतको उजुरीका सन्दर्भमा तहाँबाट समेत छानबिन भइरहेको बुझिन आएकाले सोको प्रतिवेदनको प्रमाणित प्रतिलिपि यस आयोगमा उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

एक महिनापछि अख्तियारले पुनः अर्को पत्र लेख्दै थप कागजातसमेत मन्त्रालयसँग मागेको छ । कर छलीका विषयमा नयाँ उजुरी दर्ता भएपछि अख्तियारले ४ मंसिरमा मन्त्रालयलाई पत्र पठाएर थप कागजात मागेको हो ।

दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमतिप्राप्त सेवाप्रदायकहरूले नेपाल सरकारलाई नियमित रूपमा बुझाउनुपर्ने दूरसञ्चार सेवाशुल्क, ग्रामीण दूरसञ्चार विकास कोषको रकम, रोयल्टी आदि रकम नबुझाएको र उक्त रकम असुल गर्न प्राधिकरणसमेत उदासीन रहेको उजुरी परेपछि अख्तियार तातेको हो । 

दोस्रो पत्रमा अख्तियारले महालेखापरीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा रोयल्टीहरूका सम्बन्धमा कायम गरेको बेरुजु विवरणउपर छलफलका लागि सार्वजनिक लेखा समितिलाई अनुरोध गरिएको निर्णयसहितको पत्र, बेरुजु फर्स्योटका लागि बेरुजु फर्स्योटको निर्णय र महालेखापरीक्षकको कार्यालयलाई लगत कट्टाका लागि अनुरोध गरिएको निर्णयसहितको पत्र उपलब्ध गराउन भनेको छ । अख्तियारबाट माग भएबमोजिमको मन्त्रालयले केही कागजपत्र पठाइसकेको छ भने केही पठाउने तयारी गरिरहेको छ । 

ठूला इन्टरनेट सेवाप्रदायकहरूले नै कानुनबमोजिम तिर्नुपर्ने कर नतिरेको उजुरी परेपछि मन्त्रालयले समिति नै गठन गरेर छानबिन गरेको थियो । सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित समितिले गत २४ भदौमा प्रतिवेदन पेस गरेको थियो । ०६९/७० देखि ०७८/७९ सम्मको १० वर्षको अवधिमा सेवाप्रदायकहरूले दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत सरकारलाई बुझाउनुपर्ने जरिवानासहितको दुई अर्ब ४६ करोड ९० लाख ५९ हजार नौ सय ७८ रुपैयाँ कर नतिरेको ठहर छानबिन समितिको छ । कर छली गर्नेमा वल्र्डलिंक, भायानेट, सुबिसु, क्लासिक टेक, टेकमाइन्ड्स नेटवर्क, मर्कन्टाइल, वेभसर्फर, पोखरा इन्टरनेट र नेट म्याक्स छन् । 

दूरसञ्चार प्राधिकरण र सेवाप्रदायकबीचको मिलेमतोमै कर छली भएको समितिको निष्कर्ष छ । सेवाप्रदायकहरूको आयमा उल्लेख्य वृद्धि हुँदा पनि रोयल्टी राजस्व घट्दै गएको र मिलेमतोमा यस्तो गरिएको ठहर समितिको छ । कम बुझाएको रोयल्टी राजस्व र दूरसञ्चार कोषको रकम तत्काल असुलउपर गर्नुपर्ने सुझाव समितिले दिएको छ । 

इन्टरनेट सेवाप्रदायकहरूले गरेको कर छलीमा संसद्को सार्वजनिक लेखा समितिले पनि साथ दिएकोसमेत भेटिएको छ । महालेखापरीक्षकको कार्यालयले सेवाप्रदायकबाट असुलउपर गर्नू भनेको बेरुजुलाई लेखा समितिले भने फर्स्योट गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवाप्रदायकले इन्टरनेटबाट आर्जित आम्दानीलाई गैरदूरसञ्चार आय–आर्जन भनी अपव्याख्या गरी समितिले बेरुजु फर्स्योटका लागि निर्णय र निर्देशन दिएको छ । 
 

सुझावित समाचार