१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलो चौमासिकमा घरजग्गाकाे कारोबार बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o५:oo

एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित, झन्डै सवा १२ अर्ब रुपैयाँ राजस्व संकलन

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा कारोबार बढेको छ । चार महिनामा देशभरका मालपोत कार्यालयबाट एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित भएका छन् । जबकि, गत आर्थिक वर्षको यही अवधिमा एक लाख २२ हजार दुई सय ८२ घरजग्गाको लिखत पारित भएको थियो ।

घरजग्गा कारोबार बढेसँगै मालपोत राजस्व संकलन पनि बढेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ । देशभर रहेका एक सय २६ मालपोत कार्यालयबाट चार महिनामा १२ अर्ब २१ करोड राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा मालपोत राजस्व ११ अर्ब ८८ करोड संकलन भएको थियो । यो राजस्वमा रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्क, बागमती सभ्यता शुल्क, अनलाइन सेवा लिएबापतको शुल्क, रिकभर शुल्क, विलम्ब शुल्कलगायत विभिन्न शीर्षकको आम्दानी जोडिएको हुन्छ ।

घरजग्गा कारोबारमा उतारचढाव 
चालू आर्थिक वर्षको पहिलो महिनामा ३९ हजार दुई सय ६३ घरजग्गाको लिखत पारित भएको थियो । भदौमा घरजग्गा कारोबार घटेर देशभर ३५ हजार ६ सय ८६ घरजग्गाको मात्र लिखत पारित भयो । दसैँको पूर्वसन्ध्या असोजमा पुनः कारोबार बढेर ३९ हजार आठ सय ८१ पुगेको थियो भने कात्तिकमा फेरि पनि घटेर २६ हजार ४६ मा समेटिएको छ । कात्तिकमा दसैँ, तिहार र शनिबार गरेर करिब १५ दिन देशैभरका मालपोत कार्यालयहरू बन्द हुँदा घरजग्गा कारोबार कम भएको हो ।

चालू आर्थिक वर्षको साउनमा दुई अर्ब ९१ करोड रुपैयाँ मालपोत राजस्व संकलन भएको थियो भने भदौमा तीन अर्ब चार करोड ५९ लाख, असोजमा चार अर्ब आठ करोड ६६ लाख र कात्तिकमा दुई अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कात्तिकमा घरजग्गा किनबेच घटेपछि राजस्व संकलन पनि घटेको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

सरकारले भूउपयोग नियमावली–२०७९ जारी गरेर कित्ताकाटमा कडाइ गरेपछि गत वर्ष घरजग्गा कारोबार सुस्ताएको थियो । साथै, तरलता अभाव, चर्को ब्याजदर, महँगीलगायत कारण कारोबार बढ्न सकेको थिएन । तर, चौतर्फी विरोध भएपछि सरकारले पछिल्लो समय पुरानै अवस्थामा कित्ताकाट खुलाएको छ । कित्ताकाट खुलेपछि देशैभर घरजग्गा कारोबार बढ्ने र घरजग्गामा फ्रिज भएर बसेको पैसा प्रणालीमा आएर अर्थतन्त्र चलायमान हुने सरकारको अपेक्षा छ । तर, कित्ताकाट खुले पनि घरजग्गा कारोबार यो वर्षकै वैशाख, जेठको तुलनामा भदौ, असोज र कात्तिकमा घटेको छ । तर, गत वर्षको यसै अवधिको तुलनामा भने बढेको देखिन्छ ।

कित्ताकाट खुल्नुका साथै बैंकको ब्याजदरसमेत घट्दै गइरहेका कारण मंसिरदेखि घरजग्गा कारोबार बढ्ने अपेक्षा घरजग्गा व्यवसायीको छ । बैंकहरूले तरलता (लगानीयोग्य रकम) बढ्दै गएपछि महिनैपिच्छे ब्याज घटाउन थालेका छन् । अहिले व्यक्तिगत मुद्दती निक्षेपकै औसत ब्याजदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकले सस्तो ब्याजदरका घरजग्गा कर्जा योजना पनि ल्याउन थालेका छन् । 

ad
ad