
युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप– २०२४) छनोटअन्तर्गत समूह ‘बी’मा पूर्वविजेता फ्रान्सले जिब्राल्टरमाथि १४–० को फराकिलो जित हात पारेको छ । फ्रान्सको सानदार जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । उनले खेलको ३०औँ मिनेटमा पहिलो गोल गरे । खेलको ७४औँ र ८२औँ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक गरेका हुन् । खेलमा किंग्सले कोमान र ओलिभियर जिरुडले समान दुई गोल गरे । जोनाथन क्लाउस, युसुफ फोफाना, एड्रियन ¥याबियट र उसमान डेम्बेलेका नाममा समान एक गोल रह्यो ।
युरोकपमा फ्रान्स यसअघि नै छनोट भइसकेको टोली हो । जिब्राल्टर फिफा वरीयताको १९८औँ स्थानमा छ । तेस्रो मिनेटमा नै इथन सान्तोसको आत्मघाती गोलसँगै फ्रान्सले १–० को अग्रता लियो । चौथो मिनेटमा मार्कसले फ्रान्सलाई २–० को स्थितिमा राखे । खेलको १६औँ मिनेटमा डेब्यु खेलाडी वारेन जाइरले गोल गरे । जिब्राल्टरविरुद्ध खेलेका वारेन सन् १९१४ पछि सवैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी बनेका छन् ।
खेलको १८औँ मिनेटमा जिब्राल्टरका सान्तोस रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । त्यसपछि जिब्राल्टर १० खेलाडीमा सीमित भयो । जिब्राल्टर १० खेलाडीमा रहेपछि फ्रान्सले थप ११ गोल गरेको थियो । प्रतिस्पर्धामा फ्रान्सले ७३ प्रतिशत बल पोसेसन बनाएको थियो । यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डमाथि १–० को जित निकाल्यो । जितसँगै नेदरल्यान्ड्स युरोकपमा छनोट भएको छ । समूह ‘बी’मा फ्रान्सले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले १५ अंक हात पारेको छ । सन् २००४ को विजेता ग्रिस १२ अंकका साथ तेस्रो स्थानमा छ । आयरल्यान्डको ६ अंक छ । जिब्राल्टर अंकविहीन छ ।