१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर १ शुक्रबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विकटमा जहाजको टिकटमा मनपरी : हप्तौँ कुर्दा पनि पाइँदैन सिमकोटबाट नेपालगन्जको हवाई टिकट

Read Time : > 2 मिनेट
२०८० मङ्सिर १ शुक्रबार ०६:०३:००

सर्केगार्ड गाउँपालिका– २ रिप गाउँका १८ वर्षीय राजबहादुर परियारले जहाजको टिकटका लागि सिमकोट विमानस्थल धाएको १७ दिन बित्यो । सिमकोटबाट नेपालगन्जका लागि अझै टिकट पाउन सकेका छैनन् । एसइईपछि कम्प्युटर विज्ञान अध्ययन गर्न काठमाडौं जान टिकटका लागि उनी १३ कात्तिकदेखि सीता, समिट, तारा एयरलाइन्सका कर्मचारीलाई हारगुहार गरिरहेका छन् । 

उनले बल्लतल्ल नौ हजार एक सय १५ रुपैयाँमा नेपाल एयरलाइन्सको २७ कात्तिकको टिकट पाए । तर, सिमकोट पुगेको नेपाल एयरलाइन्सको जहाज बिग्रिएपछि त्यस दिन उड्न सकेन । मर्मतका लागि पुगेका तीनजना इन्जिनियरलाई सोही जहाजमा लग्नुपर्ने भएपछि उनी बुधबार पनि उड्न पाएनन् । 

‘बल्लतल्ल टिकट त पाइएको थियो । तर, जहाज बिग्रिँदा २७ गते उड्न पाइएन । २९ गते जहाज त उड्यो, तर मर्मतका लागि आएका इन्जिनियर लग्नुपर्ने भएपछि हामी उड्न पाएनौँ,’ परिवारले भने, ‘झोला नेपालगन्ज पुगिसक्यो । एयरलाइन्सका कर्मचारीले झोला राखेका छन् । अब शुक्रबार नेपाल एयरलाइन्सको जहाज आएमा जान पाइने भनेर भनिएको छ ।’

खार्पुनाथ गाउँपालिका–५  की ७० वर्षीया शिवा शाहीलाई दमले च्यापेपछि उपचारका लागि नेपालगन्ज लैजान गाउँबाट चार घन्टा बोकेर सदरमुकाम सिमकोट पुर्‍याइयो । सिमकोटबाट जहाजमार्फत नेपालगन्ज पुर्‍याएर त्यहाँ आमाको उपचार गर्ने छोरा दिलबहादुरको योजना थियो । तर, टिकटका लागि उनी तीन दिन सिमकोटमा बसे । बुधबार नेपाल एयरलाइन्सको जहाजमा बिरामी आमालाई नेपालगन्ज पठाएको उनले बताए । 

समिट, तारा, सीता एयरलाइन्सका कर्मचारीबाट पहुँचका आधारमा टिकट वितरण हुने गरेको दिलबहादुरको गुनासो छ । ‘विमानस्थलभित्रैबाट जहाज टिकट बाँडिन्छ । तर, हामीलाई दिइँदैन । विमानस्थल गेटबाट प्रहरीले सर्वसाधारणलाई प्रवेश गर्न नदिने भएकाले झन् समस्या छ,’ उनले भने ।

सिमकोटदेखि नेपालगन्ज मात्र होइन, सुर्खेतका लागि टिकट पाउन पनि मुस्किल हुन्छ । खार्पुनाथ गाउँपालिका– १ प्युसका बमबहादुर परियारले सुर्खेतका लागि जहाजको टिकट नपाएरै सिभिल असिस्टेनको अन्तर्वार्ताको परीक्षा छुट्यो । उनले वीरेन्द्रनगर नगरपालिकामा सिभिल असिस्टेनमा नाम निकालेका थिए । २८ कात्तिकमा अन्तर्वार्ता थियो । तर, जहाजको टिकट नपाउँदा उनी जान पाएनन् । ‘टिकटका लागि नौ दिन कुरेँ । परीक्षा छुटिसक्यो,’ उनले भने, ‘सुर्खेत पढिरहेको छु । केही सीप नचलेपछि बिहीबार समिट एयरको जहाजमा धनगढी पुगेँ । अब धनगढीबाट गाडीमा सुर्खेत जान्छु ।’

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला सदरमुकाम सिमकोटमा विमानस्थल छ । तर, महँगो भाडा तिरेर नेपालगन्ज, सुर्खेत जान तयार रहे पनि टिकट पाइँदैन । सीता, समिट, तारा एयरलाइन्सले पहुँचका भरमा जहाजको टिकट वितरण गर्ने गर्छन् । 

दुई सातादेखि जहाजको टिकट नपाएपछि दुई दिन पैदल हिँडेर छोराछोरी चंखेली गाउँपालिकाको सल्लीसल्लाबाट गाडी चढेर नेपालगन्ज गएको सिमकोट गाउँपालिका– ७ की पम्पा शाहीले दुखेसो गरिन् । सिमकोट विमानस्थलबाट जिल्लाबाहिर जाने हुम्ली नागरिक सधैँ सास्ती खेप्न बाध्य छन् । 

नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंह एयरलाइन्सले पूर्वतर्फ पर्यटक बोक्न थालेपछि सिमकोटमा उडान घट्दा समस्या भएको बताए । नेपालगन्जदेखि सिमकोटमा दैनिक तीन–चारवटा उडान हुँदै आएका थिए । तर, भदौदेखि नेपालगन्ज सुर्खेतबाट दैनिक उडान हुँदै आएका तारा, सीता, समिट एयरको जहाज विदेशी पर्यटक बोक्न रामेछाप, सोलुखुम्बु, पोखरातर्फ केन्द्रित भएपछि हुम्लामा उडान घटेको उनले बताए । ‘जहाज नै घटेपछि टिकटको समस्या भएको हो । पूर्वतिर केन्द्रित भएका एयरलाइन्स अब चाँडै यतै (नियमित उडान)मा फर्किन्छन् होला,’ उनले भने ।

होटेलमै सकिन्छ पैसा, जहाज टिकट पनि महँगो
निजी एयरलाइन्सले भनसुन र पहुँचका भरमा जहाज टिकट वितरण गर्दा सर्वसाधारण हप्तौँसम्म सिमकोटमै वास बस्छन् । नेपालगन्ज जान भनेर सिमकोट आए पनि समयमै जहाजको टिकट नपाउँदा बिहान–बेलुका खाना र बस्नमै पैसा सकिने गरेको सर्केगार्ड गाउँपालिका– २ का राजबहादुर परियारले बताए । ‘एक हप्ता होटेलमा बस्दा १६ हजार खान–बस्नमै सकियो,’ उनले भने । जहाज टिकट नपाएछि १० देखि १५ हजार होटेलमै सकिने गरेको सिमकोट गाउँपालिका– ७ का नैन सिंहले बताए । सिमकोटबाट नेपालगन्ज, सुर्खेत जान महँगो हवाई टिकट छ । नेपालगन्ज पुग्न प्रतिव्यक्ति नौ हजार १२० रुपैयाँ छ भने सिमकोटबाट सुर्खेतको हवाई टिकट सात हजार ११५ रुपैयाँ छ ।